समलिंगी जोडीले पाए भिसा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

समलिंगी जोडीले पाए भिसा


१२ फाल्गुन २०७४, शनिबार


काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि एक समलिंगी जोडीले वैवाहिक सम्बन्धका आधारमा गैर पर्यटकीय भिसा पाएका छन्। अध्यागमन विभागले समलिंगी विवाह गरेकी कञ्चनपुर घर भई भक्तपुर अनन्तलिंगेश्वर बस्ने सुमन पन्त र अमेरिकी युवती लेस्ली लुइक मेल्निकलाई शुक्रबार ६ महिनाको गैरपर्यटकीय भिसा दिएको हो। भिसा लिन दुवै जना शुक्रबार अपराह्न अध्यागमन विभाग पुगेका थिए। सुमन र अमेरिकी नागरिक लुइकले २०१५ डिसेम्बर १८ मा अमेरिकाको क्यालिफोर्नियामा ‘कोर्ट म्यारिज’ गरेका थिए।

अध्यागमनले भिसा दरखास्त फारममा पति वा पत्नी उल्लेख भएकाले समलिंगी जोडीलाई भिसा दिन नमिल्ने भनेको थियो। त्यसपछि उनीहरू न्यायका लागि भन्दै सर्वोच्च अदालत पुगेका थिए।

लेस्लीले नेपालमा सुमनसँगै बस्न गैरपर्यटकीय अन्तर्गतको म्यारिज भिसाका लागि सन् २०१६ डिसेम्बर २९ अध्यागमन विभागमा निवेदन दिएकी थिइन्। भिसा लिने प्रक्रियामा गरिने सनाखतमा पति÷पत्नी शब्द प्रयोग नगरी अंग्रेजी भाषमा ‘स्पाउस’ शब्द प्रयोग गरिएको छ। सर्वोच्चको आदेशबमोजिम नै उनीहरूले भिसा पाएका हुन्।

अध्यागमन विभागका निर्देशक कोषहरि निरौलाले गत कात्तिकको सर्वोच्चको आदेशबमोजिम पन्त र मेल्निकीलाई भिसा दिइएको बताए। निर्देशक निरौलाले अन्नपूर्णसँग भने, ‘उनीहरूलाई पहिलो पटकलाई ६ महिनाको भिसा दिएका छौं।’

उनीहरूले भिसाका लागि अमेरिकामा दर्ता भएको विवाह प्रमाणपत्र, नेपालस्थित अमेरिकी दूतावासले दिएको प्रमाणपत्रलगायत कागजात पेस गरेका थिए। भिसा पाइसकेपछि उनीहरू निकै हर्षित मुद्रामा देखिन्थे।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले कात्तिकमा उनीहरूलाई भिसा दिन आदेश दिएको थियो। आदेशसँगै समलिंगी जोडीले गैरपर्यटकीय भिसा पाउने बाटो खुला भएको हो। सर्वोच्चले निवेदिकाले दाम्पत्य सम्बन्ध कायम भइसकेको व्यक्ति यिनै हुन् भनी सनाखत गरेमा र फारममा आवश्यक पर्ने अन्य कागजपत्र दाखिल गरेमा पति वा पत्नी को हो भनी नखुलाएको भन्ने आधारमा निवेदन अस्वीकार नगर्न आदेश दिएको थियो।

सर्वोच्चले अध्यागमन नियमावली, २०५० को नियम ८ (१) बमोजिम निवेदिका सुमन पन्तको दाम्पत्य सम्बन्ध काय रहेको लेस्ली लुइस मेल्किनलाई गैरपर्यटकीय भिसा जारी गर्न परमादेशको आदेश जारी गरेको थियो। सर्वोच्चले अधिकांश व्यक्तिले जन्मँदा महिला वा पुरुषको जनेन्द्रीय लिएर जन्मे पनि सानो समूहका व्यक्ति पुरुष वा महिला के हो भनी स्पष्ट छुट्टिने अंग लिएर नजन्मने जनाएको छ। ‘वयस्क हुँदै गएपछि जुन जनेन्द्रीय लिएर जन्मेको हुन्छ सो जनेन्द्रीयका कारण बन्ने पहिचानअनुसार व्यवहार गर्दैनन्’, फैसलामा उल्लेख छ।

अध्यागमन विभागले समलिंगी जोडीलाई भिसा दिन नमिल्ने भनेपछि उनीहरू सर्वोच्च गएका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस