पूर्वडिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी जारी, के हुन्छ सांसद पद ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पूर्वडिआइजी सिलवालविरुद्ध पक्राउ पुर्जी जारी, के हुन्छ सांसद पद ?


१९ पुस २०७४, बुधबार


काठमाडौं । नेपाल प्रहरीका पूर्वडिआइजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी परिसरले महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको छ । प्रहरीका अनुसार आइजिपी बढुवाका क्रममा आवश्यक कार्यसम्पादन मूल्यांकन (कासमू) नम्बर किर्ते गरेको पाइएपछि उनलाई पक्राउ गर्न पुर्जी काटिएको हो ।

महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीका प्रमुख आयुक्त एआइजी जयबहादुर चन्दले सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताए । ‘सिलवाललाई पक्राउ गर्न पुर्जी काटिएको अनौपचारिक खबर मैले पनि थाहा पाएँ । उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान हुुनेछ,’ उनले भने । एआइजी चन्दले पक्राउ पुर्जी ललितपुर परिसर गएको जानकारी दिए । ‘सिलवाल ललितपुरमै बस्ने भएकाले पक्राउ पुर्जी ललितपुर परिसर गएको हुन सक्छ,’ उनले भने ।

प्रहरीका अनुसार सिलवाल जुनसुकै वेला पक्राउ पर्न सक्छन् । आइजिपी बढुवाका क्रममा कासमू किर्ते भएको ठहर गर्दै सर्वोच्च अदालतले आवश्यक अनुसन्धान गर्न सरकारका नाममा आदेश दिएपछि प्रहरी परिसर काठमाडौंमा ५ पुसमा जाहेरी दर्ता भएको थियो । जाहेरीलगत्तै प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको थियो । जाहेरी दर्ताको १३ दिनपछि प्रहरीले सिलवालविरुद्ध पक्राउ पुर्जी काटेको हो । ‘प्रहरीले अनुसन्धान थालेको छ । यसक्रममा जोसुकैमाथि पनि अनुसन्धान हुन सक्छ । प्रहरीले बयान लिन सक्छ । यही क्रममा पक्राउ पुर्जी काटिएको हुन सक्छ । अनुसन्धान किर्ते कागजातमाथि हुँदै छ,’ एआइजी चन्दले भने । प्रहरी स्रोतका अनुसार मुख्यसचिव लोकदर्शन रेग्मी र आइजिपी प्रकाश अर्यालले सिलवालविरुद्ध पक्राउ पुर्जी काट्न प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकलाई सिंहदरबारमै बेलाएर निर्देशन दिएका थिए ।

कासमू किर्ते सम्बन्धमा अनुसन्धान हुँदै थियो, यहीक्रममा सिलवालविरुद्ध पक्राउ पुर्जी काटिएको खबर मैले पनि पाएँ । औपचारिक पत्र भने आएको छैन । अनुसन्धानका क्रममा पक्राउ पुर्जी काटिनु स्वाभाविक हो । प्रहरीको यो नियमित काम हो । पत्र नै काटिएपछि कासमू किर्तेमा सिलवालको संलग्नता पाइएको हुन सक्छ । त्यसकारण सिलवाल जुनसुकै ठाउँबाट पक्राउ पर्न सक्छन् ।

पूर्वडिआइजी एवं सांसद नवराज सिलवाल पूर्वनिर्धारित कार्यक्रममा भाग लिन आइतबार नै मलेसियाको क्वालालम्पुर गएको पारिवारिक स्रोतको भनाइ छ । उनी ‘एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीले गरेको इस्ट एसियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेन्ट विथ स्पेसल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन क्वालालम्पुर गएका हुन् ।

कानुनविद्का अनुसार सिलवालको सांसद पद प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेकै आधारमा जाँदैन । यसका लागि अदालतमा मुद्दा दर्ता हुनुपर्छ । अधिवक्ता डा. भीमार्जुन आचार्यले सिलवाल पक्राउ भएलगत्तै सांसद पद नजाने बताए । ‘प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गर्न सक्छ । यही आधारमा सिलवालको सांसद पद जाँदैन । अदालतमा मुद्दा दर्ता भयो भने उनको सांसद पद निलम्बनमा पर्छ,’ उनले भने । अदालतबाट दोषी ठहर नभएमा उनको सांसद पद पुनः फिर्ता हुने आचार्यको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस