यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले मनायो पहिलो वार्षिकोत्सव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले मनायो पहिलो वार्षिकोत्सव


प्रशासन विशेष ब्युरो

१७ पुस २०७४, सोमबार


काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, ठूलो भर्‍याङले आज स्थापनाको पहिलो वार्षिकोत्सव मनाएको छ ।

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय वागमतीमा सवारी चालक अनुमतिपत्र लिन चाहने सेवाग्राहीको चाप अत्यधिक बढ्न गई सेवा प्रवाहमा कठिनाई भएपछि गत वर्ष भक्तपुरको जगाती, काठमाडौंको सुकेधारा र ठूलो भर्‍याङ गरी तीन ठाउँमा थप कार्यालय स्थापना गरिएको थियो ।

गत वर्ष थप गरिएका कार्यालयहरुमध्ये ठूलो भर्‍याङ कार्यालयले स्थापनाको पहिलो वर्षमै १४ हजारभन्दा बढी स्मार्ट लाइसेन्स वितरण गरिसकेको छ भने करीब २५ हजार स्मार्ट लाइसेन्स यातायात व्यवस्था विभागमा छपाईको लागि पठाइसकेकोले प्राप्त हुनासाथ वितरण गर्ने कार्यालय प्रमुख गोकर्णप्रसाद उपाध्यायले बताएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक, उपत्यकाका अन्य यातायात कार्यालयका प्रमुखलगायत पत्रकार तथा सेवाग्राहीहरुका बीच आयोजित वार्षिक समिक्षा कार्यक्रममा उपाध्यायले केही कुटनीतिकसहित ९ सयको संख्यामा विदेशी चालक अनुमतिपत्रको नेपालीकरण गरिएको जानकारी दिए ।

कार्यालयले स्थापनाको एक वर्षको अवधिमा १० करोड ६८ लाखभन्दा बढी राजस्व संकलन भएको जनाउदै यातायात क्षेत्रमा सुधारको खाँचो रहेको र त्यसको लागि कार्यालयमात्र नभएर तालुक विभाग, मन्त्रालय, सञ्चार जगत र सचेत सेवाग्राहीको पनि खाँचो रहेको उपाध्यायले बताउनुभयो ।

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले यातायात कार्यालयले यसरी आफ्ना गतिविधिहरु सार्वजनिक गर्नु प्रसंशनीय काम भएको बताउँदै आगामी दिनमा पारदर्शी र जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए । साथै कसैको प्रलोभन वा प्रभावमा नपरी काम गर्नु आजको यातायात कार्यालयको चुनौती रहेको बताउदै यसबारे सचेत रहन कर्मचारीलाई खबरदारी समेत गरे ।

सो अवसरमा उत्कृष्ठ काम गर्ने दुइ जना कर्मचारीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, ठूलो भर्याङका शाखा अधिकृत कुमार कोईराला र कार्यालय सहयोगी भेषराज पोख्रेल रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस