सरकारअघि एकताको खाका « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारअघि एकताको खाका


१३ पुस २०७४, बिहिबार


दुर्गा खनाल । एमाले र माओवादीले नयाँ सरकार गठनअघि नै पार्टी एकताको खाका तयार पार्ने जनाएका छन् । पार्टी एकता र सरकार निर्माणलगायत विषयमा संशय पैदा हुन थालेपछि दुवै दलका नेताहरू छिटो एकताको खाका तयार गर्दै सरकार निर्माणतर्फ लाग्ने निष्कर्षमा पुगेका हुन् ।

पछिल्लो ५ दिन गृहजिल्ला चितवनमा बिताएर मंगलबार राजधानी फर्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार दिउँसो एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । त्यहाँ दुई अध्यक्षबीच झन्डै डेढ घण्टा छलफल भएको थियो ।

भेटमा एकता र सरकार निर्माणमा भइरहेको आशंका चिर्दै छिटो निष्कर्षमा पुग्ने समझदारी भएको दुवै दलका नेताहरूले बताएका छन् । एकता र सरकार निर्माणको विषयमा दुई नेताकै तहमा धेरै कुरा छिनोफानो गरेपछि पार्टी एकता संयोजन समितिको बैठकबाट त्यसलाई अन्तिम टुंगो लगाउने तयारी छ ।

‘पार्टी एकता प्रक्रिया छिटो टुंग्याउनुपर्ने भन्नेमा अध्यक्षहरू सहमत हुनुहुन्छ र त्यहीअनुसार आज (बुधबार) बाट छलफल अघि बढाउनुभएको छ,’ एमाले–माओवादी एकता संयोजन समितिका सदस्यसमेत रहेका माओवादी नेता नारायणकाजी श्रेष्ठले कान्तिपुरसँग भने, ‘उहाँहरूकै तहमा केही गृहकार्य भएपछि एकता संयोजन समितिको बैठक बस्ने छ ।’ पार्टी एकता नै गर्न केही समय लाग्न सक्ने भएकाले सरकार गठनअघि नै एकताको स्वरूप भने तयार गर्ने दुवै पक्षको तयारी छ । त्यही खाका तयार गर्ने क्रममा दुवै दलका नेताहरू विकल्पहरूको खोजी गरिरहेका छन् । ‘चुनावी परिणामले नै दुई दललाई एकतामा बाँधिसक्यो, त्यसैले त्यसभन्दा फरक तरिकाले जान सकिँदैन भन्ने दुवै दलको धारणा हो,’ ओली निकट एमाले पोलिटब्युरो सदस्य अग्नि खरेलले भने, ‘त्यही स्पिरिटअनुसार अध्यक्षहरूबीच कुराकानी भएको छ र छिट्टै टुंग्याउनुपर्छ भन्ने ढंगले नै उहाँहरू लाग्नुभएको छ ।’ उनले पनि दुई नेताकै तहमा धेरै विषय टुंग्याएर त्यसलाई औपचारिक रूपमा निष्कर्षमा पुग्ने ढंगले छलफल अघि बढेको बताए । त्यसैका लागि बुधबार ओली र दाहालबीच एक्लाएक्लै कुराकानी भएको उनलेजानकारी दिए ।

राजधानीबाहिर भएका बेला अध्यक्ष दाहालले दिएका केही राजनीतिक अभिव्यक्ति र ओलीले गरेको भेटघाटका कारण दुई पार्टीको सहकार्य र एकतामा दरार आउने हो कि भन्ने संशय व्यक्त गरिएको थियो । तर दुवै नेताबीचको सम्बन्धको हार्दिकता नघटेको र जसरी पनि वामपन्थी गठबन्धनको मिसनलाई टुंग्याउनेमा उनीहरू लागेको नेताहरूको दाबी छ । माओवादी नेता जनार्दन शर्माका अनुसार धेरै कुरा अघि बढिरहेको केही दिनभित्रै एउटा खाका आउने सम्भावना छ । ‘अध्यक्षहरूबीच कुराकानी भइरहेको छ, २–३ दिनभित्रै कसरी अघि बढ्ने भन्ने एउटा खाका आउन पनि सक्छ,’ शर्माले भने ।

एमाले र माओवादीबीच पार्टी एकता र सरकार सञ्चालनका विषयमा समझदारी गर्नुपर्नेछ । दुइटा फरक धारका पार्टी भएकाले वैचारिक र सांगठनिक संरचना मिलाउनुपर्नेछ । माथिदेखि तलसम्म मिलाउनुपर्ने र वैचारिक अस्पष्टताहरूलाई पनि एकरूपता दिनुपर्नेछ । ती समग्र कामले केही समय लिन सक्छ । त्यसैले सरकार गठन हुँदासम्म एकताको एउटा स्वरूप तयार गरिसक्ने र एकता प्रक्रियाका सम्पूर्ण काम पछि गर्दै जाने ढंगले दुवै दल अघि बढेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ

प्रतिक्रिया दिनुहोस