सर्वोच्चले रेशम चौधरीको फाइल मगायो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्चले रेशम चौधरीको फाइल मगायो


५ पुस २०७४, बुधबार


काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य जितेका फरार अभियुक्त रेशम चौधरीले वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने रिट दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै अभियोगसम्बन्धी फाइल मगाएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले कर्तव्य ज्यानसमेतका मुद्दामा फरार अभियुक्त चौधरीका सबै सक्कल फाइल मगाउने आदेश गरेको हो ।

प्रतिनिधिसभा सदस्यमा जितेका चौधरी वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै वारेसमार्फत नै सर्वोच्च पुगेका छन् । कैलाली क्षेत्र नम्बर १ बाट सांसदमा जितेपछि प्रमाणपत्र लिन उनकी पत्नीलाई पठाएका थिए । जिल्ला निर्वाचन कार्यालयले विजयी प्रतिनिधि नै उपस्थित हुनुपर्ने भन्दै पत्नीलाई प्रमाणपत्र दिएन । त्यसपछि सर्वोच्चमा रिट लिएर जाँदा सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । त्यसपछि चौधरीले दरपीठविरुद्धको निवेदन सुनिलकुमार चौहानलाई वारेस राखी दर्ता गराएका हुन् ।

रिट दरपिठ गर्दा सर्वोच्चले मुलुकी ऐनअनुसार ज्यान मार्ने उद्योगलगायतका मुद्दामा हाजिर नहुने अभियुक्तको नाममा वारेन्ट जारी गर्नुपर्ने व्यवस्था भएको उल्लेख गरेको छ । मुलुकी ऐन अदालती बस्दोबस्तीको महल ११८ बमोजिम कानुनी प्रक्रियामा अभियुक्त स्वयं समावेश नभएकोले उक्त मुद्दामा वारेसमार्फत रिट दर्ता गर्न नमिल्ने भन्दै सर्वोच्चले दरपीठ गरेको थियो ।

दरपीठविरुद्ध निवेदनमा सोमबार प्रधानन्यायाधीश पराजुलीको इजलासले अभियोग पत्रसमेतका कागजातको प्रमाणित प्रतिलिपि निवेदकसँगै माग गरेको हो । फरार चौधरीले वारेसनामामार्फत उम्मेदवारी दिएपछि कसैले पनि आयोगमा उजुरी गरेको थिएन । २०७२ भदौ २७ मा कैलाली टीकापुरमा थरुहट आन्दोलनका क्रममा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मीको ज्यान गएको थियो । चौधरीलाई त्यस घटनाका मुख्य अभियुक्त भनी पक्राउ पुर्जी जारी गरिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस