राष्ट्रिय सभासम्बन्धि विवादको राजनीतिक समाधान खोज्नुपर्ने माओवादी निष्कर्ष « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय सभासम्बन्धि विवादको राजनीतिक समाधान खोज्नुपर्ने माओवादी निष्कर्ष


३ पुस २०७४, सोमबार


काठमाडौं । सोमबार बसेको माओवादी केन्द्रको बैठकले राष्ट्रिय सभा गठनसम्बन्धि देखिएको विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यालयको बैठकमा यस्तो निष्कर्ष निकालिएको हो ।

‘राष्ट्रिय सभा गठन सम्बन्धि विवाद राजनीतिक विषय हो । यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ । शीर्ष नेताहरु बसेर सहमति खोज्नुपर्ने निष्कर्ष निकालेका छौं, त्यसैअनुसार अघि बढ्छौं’ बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन् ।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारी, नेपाल सरकार, कुटनीतिक नियोग र सम्पूर्ण मतदातामा धन्यवाद प्रकट गरेको छ । सोमबार बसेको बैठकले बाम गठबन्धन बनाएर चुनावमा होमिदा परिणाम सकारात्मक आएको भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ । बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय पनि गरेको छ।

‘जनताले बाम गठबन्धन र पार्टी एकतालाई अनुमोदन गरिसकेका छन् । पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्छ, अब पार्टी एकता कसैले रोकेर रोकिँदैन’ प्रवक्ता भुसालले भनिन् । समानुपातिकमा माओवादी केन्द्रको कम मत आउनुमा ६०% स्थानमा उम्मेद्वार नहुनु र समानुपातिक तर्फको व्यवस्थित प्रचार नहुनु मूख्य कारण रहेको पनि प्रवक्ता भुसालले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस