कडा पारिँदै सुरक्षा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कडा पारिँदै सुरक्षा


१६ मंसिर २०७४, शनिबार


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचनलाई लक्ष्य गरी हिंसात्मक घटना बढिरहेका बेला केन्द्रीय सुरक्षा समितिले चारवटै सुरक्षा निकायलाई सशक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको बैठकले आवश्यक सुरक्षा रणनीति बनाउँदै चारवटै निकायलाई एकीकृत र समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको हो । दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदै छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले केन्द्रीय सुरक्षा समिति बैठकको निर्णयअनुसार चारवटै सुरक्षा निकायलाई एकीकृत रूपमा परिचालन गरिएको जानकारी दिए । निर्वाचन हुने जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मीलाई परिचालन गरेर आवश्यक सुरक्षा व्यवस्था मिलाइसकिएको उनले बताए । पहिलो चरण निर्वाचनपछि केन्द्रीय सुरक्षा समितिको बैठक पहिलोपटक बसेको हो ।

बैठकले पहिलो चरण निर्वाचन र त्यसपछि घटेका हिंसात्मक घटनाको समीक्षा गरेको थियो। बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचनक्रममा कुनै पनि घटना हुन नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए । उनले मुलुकका विभिन्न स्थानमा शृंखलाबद्ध रूपमा भइरहेका विस्फोटका घटनाको कारक पत्ता लगाएर त्यस्ता घटना रोक्न सुरक्षा प्रमुखलाई निर्देशन दिएको गृहप्रवक्ता दुवाडीले जानकारी दिए ।

केही दिनअघि दाङको तुलसीपुरमा प्रधानमन्त्री संलग्न कार्यक्रमस्थल नजिकै बम विस्फोट हुँदा एक म्यादी प्रहरीको मृत्यु भएको थियो । प्रवक्ता दुवाडीले दोस्रो चरण निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा निकाय उच्च मनोबलसाथ खटिएको दाबी गरे । ‘सबै मतदान केन्द्रमा सुरक्षा निकाय पठाउने काम भइरहेको छ। मतदान केन्द्रको पूर्ण सुरक्षा हुनेछ’, उनले भने । पहिलो चरणभन्दा सुरक्षा व्यवस्था मजबुत बनाएको दाबी गर्दै उनले मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रहसमेत गरे ।

पहिलो चरण निर्वाचनमा नेकपा समूहको चुनौती बढी रहे पनि दोस्रो चरणमा तराईका कतिपय जिल्लामा सिके राउत र जयकृष्ण गोइतको गतिविधि पनि सुरक्षा चुनौतीका रूपमा रहेको रिपोर्टिङका आधारमा सुरक्षा व्यवस्था मिलाइएको उनले जानकारी दिए। गृह मन्त्रालयले सम्भाव्य चुनौतीलाई लक्ष्य गरी आवश्यक रणनीति तयार गर्न केन्द्रीय कमान्ड पोस्ट र केन्द्रीय संयुक्त निर्वाचन सेलको बैठकलाई निरन्तरता दिएको जनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस