‘प्रतिष्ठा’ बन्दै रोल्पाको थबाङ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

‘प्रतिष्ठा’ बन्दै रोल्पाको थबाङ


१ मंसिर २०७४, शुक्रबार


काठमाडौं । रोल्पा सदरमुकाम लिबाङबाट कोटवाडा, कोर्चवाङ, घर्तीगाउँ, मिरुल हुँदै सहिदमार्गको बाटो बिहानै सानो गाडीमा हिँडे साझ मात्र पुगिन्छ, थबाड गाउँ । यो एउटा कम्युनिस्ट गाउँ जहाँ अहिले मिरुल र उवागाउँसमेत मिसाएर थबाङ गाउँपालिका बनाइएको छ ।

२०१३ सालमा थवाड गाउँमा मोहनविक्रम सिंह र खगुलाल गुरुङले संस्थागत रूपमा कम्युनिस्टको जग बसालेका थिए । ०१५ सालदेखि ०७० सालको संविधानसभा निर्वाचनसम्म त्यहाँका मतदाताले कम्युनिस्ट उम्मेदवारलाई भोट दिँदा र बहिष्कार गर्दा पनि एकढिक्का भएर निर्णय गर्दै आएका थिए ।

तर पछिल्लो स्थानीय तह निर्वाचनमा त्यहाँको मत विभाजित भएको छ । तर यस्तो निर्णय समूहगत नभई स्वेच्छिक आधारमा भएको हो ।
अहिले भने त्यहाँका जनता दोधारमा छन् । मंसिर १० मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्रले थबाङलाई आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

अहिले विप्लप नेतृत्वको पार्टी चुनाव खारेजी गर्दै थबाङबाट शून्य मतदानको तयारीमा छ भने माओवादी केन्द्र यसपटक आफ्ना उम्मेदवारका पक्षमा मतदान गराई छाडने अभियानमा । दोस्रो संविधानसभा निर्वाचनमा थबाङका जनताले मतदान नै नगरी तत्कालीन माओवादी उम्मेदवार तथा पूर्वसभामुख ओनसरी घर्तीलाई थबाङ प्रवेशबाट रोकेका थिए ।

थबाङमा शून्य मतदान जारी राख्नेमा नेकपा र उसको निर्णयलाई उल्ट्यार जनमत आफ्नो पक्षमा पार्नेमा माओवादी केन्द्रबीच अहिले रोल्पामा रस्साकस्सी नै चलेको छ । यो रस्साकस्सी स्थानीय तह निर्वाचनकै समयदेखि बाक्लो रूपमा चल्दै आएको हो । यद्यपि साविकका मिरुल र उवा गाउँलाई छाडेर थबाङको मात्र जनमत हेर्ने हो भने नेकपाकै प्रभाव बढी देखिन्छ ।

तर स्थानीय तह निर्वाचनमा नेकपाभित्र देखिएको अन्तरविरोधका कारण त्यहाँको जनमत विभाजित हुन पुगेको थियो । त्यसबेला नेकपाका स्थानीय पार्टी कमिटीले केन्द्रको ‘चुनाव बहिष्कार नीति’ उल्लंघन गरी निर्वाचनमा सहभागी भएको थियो । त्यसपछि उक्त पार्टीको बैठकले थबाङमा क्रान्तिकारीहरूको सशक्त प्रभाव हुँदाहुँदै पनि स्थानीय नेताहरूको निर्णय विचार र भावनाका दृष्टिले नै गलत र दुखद् रहेको निष्कर्ष निकालेको थियो । तर यसपटकको चुनावमा भने शून्य मतको इतिहास कायम राख्ने निर्णय नेकपाले लिएको छ ।

नेकपाको केन्द्रीय समिति बैठकले पारित गरेको दस्तावेजमा विगतको विरासत जोगाउन शून्य मतदानमा अडिनुपर्ने उल्लेख भएपछि थबाङलाई उसले प्रतिष्ठाको विषय बनाउन खोजेको देखिन्छ । ‘स्थानीय तह निर्वाचनमा पार्टी, क्रान्ति, वर्गसंर्घषलाई राष्ट्रिय जिम्मेवारीबाट बुझ्न नसक्ने यथास्थितिवादी, संसद्वादी र अनुभववादी कमजोरीका कारणले हामीमा केही समस्या पैदा भएको थियो । त्यसबाट पाठ सिकेर फेरि यसको विरासतपूर्ण इतिहासलाई जोगाउनुपर्छ’, नेकपाको दस्तावेजमा उल्लेख छ ।

तर रोल्पाबाट प्रतिनिधिसभाका माओवादी उम्मेदवार वर्षामान पुन यसपटक थबाङले माओवादी केन्द्रको पक्षमा मत दिने विश्वास व्यक्त गर्छन् । ‘थबाङी जनताले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । विप्लवजीको पार्टीले पनि थबाङमा स्थानीय निर्वाचनमा भाग लिएको छ । परिवर्तित राजनीतिक सन्दर्भमा यो धेरै अर्थपूर्ण छ’, पुनले भने, ‘राजनीतिक क्रान्तिमा थबाङले पुर्‍याएको नेतृत्वदायी योगदान कसैले भुल्न सक्दैन । थबाङले लामो समय राजनीतिक संघर्षमा बिताएको छ । अब समृद्धिका लागि लाग्नुपर्छ । थबाङी जनताले मतदान गर्नेमा म विश्वस्त छु ।’

थबाङमा आठ सय ४५ घर र झन्डै ६ हजार जनसंख्या छ । मगर बाहुल्यता रहेको त्यहाँ सशस्त्र युद्धताका राज्यपक्षबाट ३२ र माओवादीबाट चार गरी ३६ जनाको मृत्यु भएको थियो । युद्धकै क्रममा सिंगै गाउँ नै जलेको थियो । थबाङका जनतामाझ कम्युनिस्टको जग मसालका महामन्त्री मोहनविक्रम सिंह, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता रामबहादुर थापाले बसालेका थिए ।

त्यसयता थबाङको विशेषता नै ‘विद्रोही’ स्वभावको बन्दै आएको थियो ।अहिले विगतको विरासत जोगाउने र त्यहाँको वर्चस्व आफ्नै हातमा राख्न नेकपा र माओवादी केन्द्रबीचमा प्रतिष्ठाको लडाइँ चलेको क्रान्तिकारी माओवादीका मोर्चा देशभक्त जनगणतान्त्रिक (देजमो) का तर्फबाट रोल्पामा प्रतिनिधिसभा उम्मेदवार कुमार शाहले बताए ।

उनले भने, ‘विप्लवजीहरू शून्य मतदान भन्ने, माओवादी केन्द्र दलबलसहित सभा गर्न पुग्न थालेपछि अब थबाङ प्रतिष्ठाको विषय बनेको छ ।’०४८ सालमा रोल्पाबाट चुनाव जितेका संयुक्त जनमोर्चाका वर्मन बुढा माओवादी केन्द्रको पक्षमा आफैं उभिएपछि थबाङ प्रतिष्ठा र संघर्षको केन्द्रविन्दु बन्न पुगेको उनको बुझाइ छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस