मुसहर बस्तीमा छैन चुनावी उत्साह « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मुसहर बस्तीमा छैन चुनावी उत्साह


२३ कार्तिक २०७४, बिहिबार


कोइलाडी । कमलु सदाको परिवार अझै पनि त्यो कहालीलाग्दो दिन सम्झेर भक्कानिन्छ । कोइलाडीको सिंगो मुसहरी टोल (मुसहर बस्ती) ले नै साउन २९ लाई कालो दिनका रुपमा सम्झिन्छ । ‘त्यो दिन बाढीको रुपमा काल नै आएको थियो’, विमली सदा भन्छिन्, ‘त्यही बाढीले मेरो छोरा (कमलु) लाई खायो । ९ महिना कोखमा राखेर जन्माएको छोराको सदगत गर्नसमेत सकिएन ।’

बाढीले निलेका ५ वर्षीय कमलुको सदगत गर्ने ठाउँसम्म नपाएर शव कोसीको भेलमा बगाउँदै गरेको तस्बिर सार्वजनिक भएका थियो । चारैतिर टाढाटाढासम्मको जमिन जलमग्न भएपछि सद्गत गर्ने ठाउँ नपाएर शव बगाउनुपरेको थियो । यो घटनापछि कोइलाडी एकाएक चर्चामा आयो । कोइलाडी नेपाली राजनीतिका लागि निकै चर्चित ठाउँ पनि हो । ‘मधेसवादका जनक’ भनेर चिनिने गजेन्द्रनारायण सिंह र ‘गणतन्त्रका प्रणेता’ भनिने रामराजाप्रसाद सिंहको जन्मथलो पनि कोइलाडी नै हो ।

झन्डै ७५÷८० परिवार बस्ने मुसहर बस्तीभित्रकी विमली बाढीले दिएको यो घाउ कहिल्यै बिर्सन नसक्ने बताउँछिन् । बाढीले छोरा मात्र खोसेन उनलाई घरवारविहीन पनि बनायो । कमली मात्रै होइन सिंगै बस्ती बढीको कहरमा प¥यो । बाढीले भत्काएका घर अझै ठठिएका छैनन् । मुखैमा आइपुगेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावले पनि मुसहर बस्तीलाई छुन सकेको छैन । ‘भएका झुप्रासमेत बाढीले बगायो, लडायो’, कमलुका बुवा फुदनले भने, ‘विपन्न मुसहरसँग त्यति पैसा कहाँ हुन्छ र जो नयाँ घर बनाउन सक्छन् ।’

एक त गरिब, विपन्न मुसहर, त्यसमाथि शिक्षा र चेतना अभाव । बाढीले सन्तान मात्र खोसेन बाँचेका आफूहरूको अवस्था पनि निकै दयनीय बनाएको फुदनले बताए । अहिले चारैतिर चुनावी चहलपहल छ । ‘यस बस्तीमा कतिको चुनाव लागेको छ रु’ भन्ने जिज्ञासा राख्दा उनी एकछिन चुप लागे । एकछिन घोरिएपछि उनले भने, ‘के को चुनाव लाग्नु, यसपालि त दसैं, तिहारदेखि लिएर छठसम्मको रौनक हाम्रो बस्तीमा देखिएन । स्थानीय चुनावमा दुई÷चार दिन यसो नेता आएका थिए, थुप्रै वाचा बाँडेर गएका उनीहरू अझै पर्केका छैनन् । मंसिरको चुनावका लागि भनेर अहिलेसम्म कोही नेता आएका छैनन् ।’

नेताहरूलाई विश्वास गर्न सकिने आधार नभएको उनले बताए । ‘चुनावका बेला गाउँ आएका नेताहरू ठूलठूला प्रतिबद्धता गरेर फर्कन्छन्, आश्वासन बाँडेर जान्छन’, उनले भने, ‘तर चुनावपछि हाम्रो अवस्था भने उस्तै ।’
मुसहर बस्तीमा बस्ने कुनै पनि परिवारका सदस्यका नाममा जग्गा छैन । ‘घर पनि ऐलानी जग्गामै छन्, हामी तीन÷चार पुस्तादेखि यसै ठाउँमा बस्दै आएका हौं तर घर भएको जग्गा हाम्रो हो भन्ने कुनै प्रमाण छैन’, उनले भने ।

बर्सेनि उक्त बस्ती बाढीको चपेटामा पर्छ । बस्तीपूर्वतर्फ कोसीको पश्चिमी तटबन्ध छ भने उत्तर र पश्चिम भएर जिता नदी बग्छ । जिता नदीको बाढीले बर्सेनिजसो बस्ती डुबानमा पर्छ ।

वडा कार्यालय (साबिकको गाविस भवन) सम्म जान पनि नदी नै तर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । ‘दशकौं अघि गजेन्द्रबाबु (गजेन्द्रनारायण सिंह) मन्त्री हुँदा काठको पुल बनाइएको थियो, त्यो पनि भत्किएको एक दशक बढी हुनलाग्यो’, कारी सदाले भने, ‘उहाँपछि कति मन्त्री, सांसद भए तर हाम्रो अवस्थाबारे सोचिदिने कोही भएन ।’

बाढीको भेलमा कमलुको शव बगाउँदै गरेको तस्बिर सार्वजनिक भएपछि धेरै स्तब्ध भए । घटनापछि विमली र फुदनलाई भेट्न प्रशासनिक अधिकारीदेखि नेतासम्म गाउँ आएका थिए । देशविदेशमा रहेका नेपालीले सहयोगको भावनासमेत दर्शाएका थिए । तर, कमलुको ज्यान जार्ने अवस्था कसरी आयो भन्नेतर्फ कतैबाट पनि खासै चिन्ता र चासो देखाइएन । ‘हाम्रो परिवारप्रति देखाउनुभएको सहानुभूति र सहयोगका लागि म सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, तर नीति निर्माताले यस्तो घटना पुनः नदोहरियोस भन्नेतर्फ अग्रसरता देखाउन सक्नुपर्छ’, विमलीले भनिन्, ‘गरिबका लागि उसको सन्तान नै सम्पत्ति हुन्छ, मैलेजस्तै पीडा अब अरुले भोग्नु नपरोस् । म नेताजीहरूलाई यहीं आग्रह गर्न चाहन्छु ।’ स्थानीय निर्वाचनका बेला भोट माग्न आउने नेतासँग आफूले यस्तै आग्रह गरेको उनले सुनाइन । आजको नागरिक दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस