छोटो मतपत्र : झन्झटिलो मतदान प्रक्रिया « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

छोटो मतपत्र : झन्झटिलो मतदान प्रक्रिया


२३ कार्तिक २०७४, बिहिबार


काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न मात्रै समेटेर आगामी प्रतिनिधिसभाको मतपत्र बनाएको छ । आयोगको यो कार्यले प्रतिनिधिसभातर्फको मतपत्र निकै छोटो र छरितो बनेको छ ।

‘यसपटकको निर्वाचनमा मतदातालाई मतदान गर्न निकै सहज हुने मतपत्र बनाएका छौं’, प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने, ‘जुन क्षेत्रमा जसको उम्मेदवारी परेको छ, त्यस्ता उम्मेदवारको मात्र चुनाव चिह्न राखेर मतपत्र बनाएका छौं ।’

मनाङ र मुस्ताङको प्रतिनिधिसभाका लागि कांग्रेस र एमालेका तर्फबाट मात्र उम्मेदवारी परेपछि ती क्षेत्रका मतपत्रमा कांग्रेस र एमालेका मात्र चुनाव चिह्न राखिएको छ । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलका कारण सूर्य चिह्न भएको स्थानको मतपत्रमा माओवादी केन्द्रको चुनाव चिह्न गोलकारभित्रको हँसिया हथौडा छैन भने हँसिया हथौडा भएको मतपत्रमा सूर्य चुनाव चिह्न छैन । अघिल्ला निर्वाचनमा पट्यारलाग्दो लामो मतपत्रमा छाप लगाएका मतदाताका लागि अबको निर्वाचन मतपत्रका दृष्टिकोणले निकै सहज हुने आयोगको भनाइ छ ।

स्थानीय तह निर्वाचनमा पनि धेरै चुनाव चिह्न समेटिएको लामो र पट्यारलाग्दो मतपत्रको सर्वत्र आलोचना भएको थियो । छोटो र छरितो मतपत्रका कारण आगामी निर्वाचनको मतगणना पनि छिटो हुने तथा मतपत्र बदर कम हुने प्रमुख आयुक्त यादवको विश्वास छ । ‘अघिल्ला चुनावको परिणाम आउनै धेरै दिन लाग्यो भने बदर मतको संख्या पनि उच्च देखियो’, यादवले भने, ‘अबको चुनावमा त्यस्तो हुँदैन भन्ने हाम्रो विश्वास छ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस