लाइसेन्स लिन २० हजारजना लाइनमा : व्यवस्थित नहुँदा बिचौलिया मालामाल, सर्वसाधारणलाई सास्ती « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लाइसेन्स लिन २० हजारजना लाइनमा : व्यवस्थित नहुँदा बिचौलिया मालामाल, सर्वसाधारणलाई सास्ती


१३ कार्तिक २०७४, सोमबार


काठमाडौं । मोटरसाइकलको लाइसेन्स बनाउन निवेदन दिनुपूर्व लिनुपर्ने टोकनका लागि कोसी अञ्चल यातायात व्यवस्था कार्यालयमा आइतबार बिहानैदेखि हजारौँ मानिस लाइनमा बसे । भिड व्यवस्थापन गर्न प्रहरीले लाठीचार्जसमेत गर्नुपर्यो । प्रहरीको लाठीबाट मोरङ बुढीगंगा– १ का टीकाराम निरौलासहित अन्य दुईजना घाइते भए ।

संखुवासभा कञ्चनपुरका युवा पूर्णचन्द्र न्यौपाने, छक्कर दर्नाल, ईश्वर दाहाललगायत पाँचजना दुई दिन लगाएर लाइसेन्स बनाउन इटहरीस्थित यातायात कार्यालय आए । उनीहरू ११ कात्तिक साँझ ८ बजेदेखि चिसो रातको पर्वाह नगरी लाइनमा बसे । आइतबार दिनभरि भोकैप्यासै लाइनमा बसेर साँझ मात्रै उनीहरूले फारमका लागि टोकन पाए । उनीहरूमध्ये कसैले कात्तिक अन्तिम, कसैले पुस र कसैले माघ महिनामा लाइसेन्सको प्रक्रियाका लागि निवेदन दर्ता गराउने मितिसहितको टोकन पाएका छन् ।

मोरङ कानेपोखरी बयरवनका अमित श्रेष्ठ श्रीमतीका लागि स्कुटीको लाइसेन्स बनाउन आइतबार बिहानै यातायात कार्यालय पुगे । हजारौँको लाइन देखेपछि उनले लाइनमा बस्ने हिम्मत गर्न सकेनन् । उनले एक हजार रुपैयाँ दिएर बिचौलियामार्फत टोकन लिए ।

नेपाल पत्रकार महासंघ सुनसरीका पूर्वसभापति कृष्ण अधिकारी आफन्तहरूले धेरै गुनासो गरेपछि केही सहयोग गर्न सकिन्छ कि भनेर आइतबार यातायात व्यवस्था कार्यालय पुगे । तर, त्यहाँको अवस्था देखेर उनी पनि चकित भए । पाँच किलोमिटर लामो लाइन । लाइसेन्सको प्रक्रियाका लागि टोकन लिन आएकाको मोटरसाइकलको ताँती र लाइन व्यवस्थापन गर्न प्रहरीले दिइरहेको दबाब देखेर उनी दिक्क भए ।

उनले मोबाइलबाट केही फोटो र भिडियो खिचे अनि फेसबुकमा स्टाटस लेखे, ‘अपराधीले मानव अपहरण गरेर फिरौती लिएकोभन्दा राज्यले नागरिकलाई यातना दिएर ठूलो अपराध गरिरहेको छ । ए प्रतिपक्षका नेताहरू हो नागरिकले पाएको यस्तो सास्तीबारे चाहिँ तिमीहरूले बोल्न पर्दैन ? हे सरकार विधि बनाएर रेगुलर लाइसेन्स दिने व्यावस्था मिलाउँदा के बिग्रन्छ ?’

नौ महिनापछि खुलेको सवारी यातायातको लाइसेन्स बनाउने प्रक्रियाका लागि आइतबार करिब २० हजार सेवाग्राही यातायात कार्यालयमा भेला भएका थिए । उनीहरू अघिल्लो दिनदेखि नै टोकन लिन लाइनमा थिए । एक दिन मात्र फारम दर्ता गराउन टोकन खुलेकाले सबै पहिला लिन तँछाड मछाडमा लागेका थिए । तैपनि सबैले आइतबार टोकन लिन पाएनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस