सरकारले ल्यायो चिकित्सा शिक्षा अध्यादेश « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सरकारले ल्यायो चिकित्सा शिक्षा अध्यादेश


७ कार्तिक २०७४, मंगलबार


काठमाडौं । सरकारले अध्यादेशमार्फत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अनुमोदन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७२’ अनुमोदन गरेको हो । पटक–पटक अनशन बस्दै आएका चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्रा.डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले विधेयकलाई अध्यादेशमार्फत अनुमोदन गरेको बताएको छ ।

माथेमा कार्यदलले २०७२ मा तयार पारेको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा विधेयक संसद्बाट पास गराउनुपर्ने माग राखी डा। केसी १३ औँपटक अनशन बसेका थिए । उनको माग सम्बोधन गर्न सरकारले १० बुँदे सहमति गरी गत बुधबार अनशन तोडाएको थियो ।

सरकारले केसीसँग ६ कात्तिकमा बस्ने मन्त्रिपरिषद् बैठकबाट विधेयक अध्यादेशमार्फत पास गराउने सहमति गरेअनुसार अनुमोदन गरेको मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले बताए । ‘सरकारले गत बुधबार अनशनरत डा। केसीसँग एक प्रकारको सहमति गरेको थियो । सोही सहमतिअनुसार सरकारले चिकित्सा शिक्षा विधेयकलाई अध्यादेशमार्फत अनुमोदन गरेको हो,’ उनले भने ।

अध्यादेश अनुमोदन भएसँगै उपत्यकाको हकमा आगामी १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने भएको छ । मेडिकल कलेज खोल्न नदिने केसीको प्रमुख मुद्दा थियो । ‘अनुमोदन भएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेपछि कानुन बन्नेछ,’ मुख्यसचिव क्षेत्रीले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस