नभेटिने क्षितिज « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नभेटिने क्षितिज


४ कार्तिक २०७४, शनिबार


इच्छा र आवश्यकताको बीचमा हामीले स्पष्ट सीमारेखा खिच्न सक्यौं भने संसारका धेरै समस्या स्वतः हराएर जानेछन् । भट्ट हेर्दा इच्छा र आवश्यकता समान देखिए पनि यिनीहरूबीचमा धेरै ठूलो अन्तर छ र यही अन्तर बुझ्न नसकेर मानिस तनावमा बाँचन बाध्य भएका छन् । आवश्यकताहरू अस्तित्वगत हुन्छन् र ती बिना जीवन असम्भव हुन्छ तर इच्छाहरू अस्तित्वगत नभएर मस्तिष्कबाट पैदा हुन्छन् र असीमित छन् । आजसम्म कसैको इच्छा पूर्णरूपले पूरा हुन सकेको छैन तर यस चराचरमा सबैका आवश्यकताहरू साधारणतः पूरा भइरहेकै छन्, मनुष्यको पनि सजिलै पूरा हुनसक्छ । आवश्यकताहरू सहज र स्वाभाविक हुन्छन् तर इच्छाहरू जटिल र कृत्रिम । सहज र स्वाभाविक भएकाले आवश्यकताको पूर्ति सम्भव छ तर इच्छा अस्वाभाविक भएकाले तिनीहरूको पूर्ति सम्भव हुँदैन ।

मनुष्यले उसको आवश्यकता तथा इच्छाबीचको स्पष्ट सीमा बुझ्नुपर्छ र सबै आवश्यकतालाई स्वीकार गर्नुपर्छ, इच्छाहरूलाई त्याग्दै जानुपर्छ । मानिसको आवश्यकता के हो ? भोजन, वस्त्र, आवास र एक प्रेमपूर्ण र स्वतन्त्र परिवेश । प्रकृतिसँग सबैको आवश्यकता पूरा गर्नसक्ने क्षमता भएकोले मानिसले आफ्ना आवश्यकता सीमित गर्यो भने सबैको आवश्यकता पूरा हुनसक्छ र यो संसार शान्तिको एक सुन्दर फूलबारी बन्छ तर यसको मुख्य बाधक मानिसका असीमित इच्छाहरू नै हुन् किनकि ऊ धेरै अनावश्यक कुराको मालिक आफू नै बनूँ भन्ने आकाङ्क्षा राख्छ र जति सम्पत्ति कमाए पनि अतृप्त नै रहन्छ । यसैबाट शोषणको जाल र असमानताको खाल्डो पनि पैदा हुन्छ ।

मिठो खानु, राम्रो लाउनु, राम्रो आवास र सहृदयीसँगको सहवास मानिसका मौलिक आवश्यकताहरू हुन् तर सबै पारम्परिक धर्महरूले यी आवश्यकताहरूलाई घोर सांसारिक भनी विरोध गर्छन् र अनेक बहानामा नयाँ नयाँ इच्छाहरू पैदा गरिदिन्छन्– स्वर्ग जाने, ईश्वर पाउने, अनेक स्वाङ रचेर नाम र प्रतिष्ठा कमाउने । यो सबै असन्तुष्ट र महत्वाकांक्षी मनबाट पैदा भएका कहिल्यै पूरा नहुने सपनाहरू हुन् । सबै धर्मशास्त्र र कर्मगुरु आलोचना गर्दै भन्छन्, ‘मानिस खान, लाउन, सुत्नमै जीवन व्यर्थ जान्छ ।’ सांसारिक होस् या धार्मिक, अनियन्त्रित इच्छाहरूका पछाडि लागेर त मान्छेले जनावरजतिको सहज र प्राकृतिक जीवन जिउन सक्यो भने पनि उसका अधिकांश समस्या स्वतः समाधान भएर जानेछन् ।

आवश्यकताहरू जहिले पनि वर्तमानमै हुन्छन्, इच्छाहरू सधैं भविष्यमुखी । भोकाइएको र तिर्खाइएको छ भने त्यो नैसर्गिक आवश्यकता हो । यसलाई सामान्य भोजन र पानीबाट तृप्तगर्न सकिन्छ तर मन्त्री बन्ने चाहना छ भने आवश्यकता होइन, इच्छा हो । यो आफ्नै अहङ्कारले रचेको भविष्यको सपना हो । ईश्वर या स्वर्ग खोज्ने काममा लागिन्छ भने यो पनि आजको आश्यकता होइन, मनले भविष्यका लागि खोजेको सुरक्षा हो, यसको वर्तमानको अथार्थसँग कुनै सम्बन्ध छैन ।

मनुष्यको मन अनन्त इच्छाले बनेको हुन्छ र त्यही मनले नै भविष्यमा यी इच्छाहरूको पूर्ति गर्ने उपाय खोजिरहेको हुन्छ तर यो प्रयासमा ऊ कहिल्यै पनि पूर्ण सफल हुन सक्दैन किनभने इच्छाहरू क्षितिजजस्तै हुन् । क्षितिजमा हेर्दा आकाश र जमिन मिलेको ठाउँ नजिकैजस्तो लाग्छ तर जति अगाडि गए पनि क्षितिज भेटिँदैन । अझ अगाडि गए यो लिनको भान झन् अगाडि सर्दै जान्छ । क्षितिज हैन तर त्यस्तो देखिन्छ । त्यस्तै इच्छाहरू भविष्यमा पूरा हुने भानमात्र हुन्, कहिल्यै पुरा हुँदैनन् । आज यदि हामीसँग दस हजार छ र त्यसलाई एक लाख बनाउने इच्छा छ भने जुन दिन त्यो एक लाख हुन्छ त्यसै क्षण मनले दस लाख बनाउने कल्पना गर्छ । दस लाख बन्यो भने मन करोड बनाउने ध्याउन्नमा लाग्छ । यसरी मन र इच्छाको दूरी सधैं त्यतिका त्यतिकै हुन्छ । यो दुश्चक्र क्षितिजजस्तै अगाडि सर्दै जान्छ । यसैलाई हिन्दूहरूले माया भनेका हुन् ।

इच्छाहरू बडो अस्वाभाविक र जटिल हुन्छन् । आजका अधिकांश मनुष्यको दुःख र निराशाको कारण उनीहरूका आवश्यकताहरू पूरा नहुनुले होइन, इन्छाहरू पूरा नभएर हो । यिनै इच्छापूर्तिको प्रयासले कहिलेकाहीं कति धेरै समय र शक्ति लिन्छ भने आफ्ना आवश्यकताहरू पनि अपूरै रहन्छन् । महत्वाकांक्षी व्यक्तिहरूले कामना पूर्तिका लागि निद्रा, भोक र प्रेमजस्ता नैसर्गिक आवश्यकताहरूको बेवास्ता गर्छन् तर मनुष्यले अन्त्यमा पाउँछ – इच्छाहरू त अधुरै रहे र यस अन्धो दौडमा नैसर्गिक आवश्यकताहरूको पनि बेवास्ता भयो । त्यतिबेलासम्म समय बितिसकेको हुन्छ । तसर्थ सबै महत्वाकांक्षीहरू निराशामै मर्छन् ।

आजका अधिकांश रोगहरूको जरो तनावग्रस्त मनमा गाडिएको छ । हृदयरोग, उच्च रक्तचाप, क्यान्सर, अनिद्रा, मधुमेह, मोटोपन र लागूपदार्थको अतिव्यसन यी मुख्यतः महत्वाकांक्षी व्यक्तिहरूका रोगहरू हुन् । कोपोषण, टीबी, मलेरिया, हैजाजस्ता रोग गरिबीका कारण जन्मन्छन् र गरिबी विश्वका केही राष्ट्र र व्यक्तिहरूको अति महत्वाकांक्षाबाट ।

सन् २०११ का अचम्म लाग्दा केही आर्थिक तथ्याङ्क हेरौं, जसले आवश्यकता र इच्छाको बीचमा भइरहेको असमानुपातिक खर्चको तथ्य देखाउँछन् ।

संसारभरि बालशिक्षामा खर्च ६ अर्ब डलर,
अमेरिकामा मात्रै सौन्दर्य प्रसाधनमा खर्च १० अर्ब डलर ।
आधारभूत स्वास्थ्य र पोषणका लागि विश्वभरिको खर्च १३ अर्ब डलर,
युरोपमा आइसक्रिम र अत्तरमा खर्च २३ अर्ब डलर ।
युरोपमा चुरोटमा खर्च ५० अर्ब डलर, अल्कोहलमा खर्च १ सय ५ अर्ब डलर ।

विश्वव्यापी रूपमा प्रत्येक वर्ष हातहतियारमा लगभग ९ सय अर्ब डलर खर्च हुन्छ, त्यसको एक प्रतिशतमात्र शिक्षा वा खानेपानीको व्यवस्थामा थपेको भए विश्वका सबै बालबालिका निःशुल्क स्कुल जान पाउँथे, पर्याप्त खानेपानी नपाउने आधा जनसंख्याले शुद्ध पानी पिउन पाउँथ्यो ।

उपर्युक्त तथ्याङ्कहरूले देखाउँछन् विश्व अर्थतन्त्रको कति सानो भाग मनुष्यका आवश्यकताको पूर्तिमा लागेको छ र कति ठूलो धनराशि विध्वंस, विलासिता र विवेकशून्य इच्छाहरूको पूर्तिमा खर्च भइरहेको छ ।

संसारको मुख्य समस्या गरिबी होइन, समस्या हो – मनुष्यको अविकेक, हिंसा, दमन, जातीय अहङ्कार, संवेदनशीनता र अनियन्त्रित विलासिता र लोभ ।

गान्धी भन्नुहुन्थ्यो, ‘पृथ्वी धरतीमाताले आफ्ना समस्त सन्ततीलाई पोषण गर्न सक्छिन् तर एकजना मात्रको लोभ पूरा गर्न सक्दिनन् ।’ यसैले हामीले बेलैमा खाँचो र लोभको अन्तर बुझ्नुपर्छ ।

 

(स्वामी आनन्द अरूणको सन्त दर्शनबाट साभार)

र यो पनि,

प्रेम नै महाऔषधी हो

Tags :
प्रतिक्रिया दिनुहोस