तिहार सुरु, आज काग तिहार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तिहार सुरु, आज काग तिहार


३१ आश्विन २०७४, मंगलबार


काठमाडौं । हिन्दू नेपालीको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीमा सुरु हुने तिहार कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइन्छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज दैनिक काम स्थगित गरी बहिनी यमुनाबाट भाइटीका ग्रहण गर्ने भएकाले यसलाई यमपञ्चक भनिएको हो ।

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी काग तिहार मनाइँदैछ । धार्मिक मान्यता अनुसार कागलाई यमराजको सन्देशवाहक तथा यमदूतका रूपमा मानिन्छ ।

यमपञ्चकको दोस्रो दिन कुकुर, तेस्रो दिन लक्ष्मी तथा गाई, चौथो दिन गोरु र अन्तिम दिन दाजुभाइको पूजा गर्ने प्रचलन छ ।

किम्बदन्ती अनुसार वैदिक कालमा भगवान विष्णु खुसी भई बलिराजालाई कात्तिक कृष्ण पक्षका अन्तिम पाँच दिन तीनै लोकको राज्य गर्न पाउने वरदान दिएको र बलि राजाले राज्यभरी दीपावली गरी झकिझकाउ बनाएको कथा जोडिएको छ ।

यमपञ्चकको अन्तिम दिन भाइ टीका गर्ने प्रचलन छ । दाजुभाइ र दिदीबहिनीले आपसी स्नेह, सत्कार र पूजा गरी भाइटीका मनाउँदा दाजुभाइको आयु, कीर्ति, सुख र सम्पन्नता वृद्धि हुने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस