समाज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समाज


१७ भाद्र २०७४, शनिबार


पतिको आयु बढाउन
तीजको व्रत बस
निराहार बस
सोह्रशृंगार बस
पत्नीको आयु बढाउन
कुन व्रत बस्नु पर्छ ?
त्यो पनि भन्देउ न समाज ।
ऊ रजस्वला भई
पापिनी बनी, छाउपडी गोठ सुतीरही
सर्पको आहार बनी
बाघको बहार बनी
बलात्कारको सिकार बनी,
पाप पखाल्न व्रत बसिरही ।
अरे ! त्यो बिना त सृष्टि नै चल्दैन भन्देउ न समाज ।
तिमी भन्छौ छोरा पाउनै पर्छ ।
सिन्दुर पोते लाउनै पर्छ ।

पुरुषको बिहे गरेको चिनो के हुन्छ ?
छोराछोरी पाउन त पुरुष नै दोषी हुन्छ ।
त्यो पनि भन्देउ न समाज ।
ऊ दुलही बनी तिम्रो घर भित्रिरही
अश्रुधाराले शिरानी भिजिरह्यो ।
प्रभातमा झाडु समाती लक्ष्मी बनिरही ।

पुरुषले नारायण बन्न के गर्नुपर्छ ?
त्यो पनि भन्देउ न समाज ।
सीताले अग्निपरीक्षामा बसे जस्तै ।
मिराले बिषको प्याला पिए जस्तै ।
गान्धारीले आँखामा पट्टि बाँधे जस्तै ।
द्रोपती पाशामा थापिए जस्तै ।
कुन्तीले सधै दुःखमा मागेजस्तै ।
ऊ शास्त्रको दासी बनिरही ।

तिमी,
तिमी आँखामा पट्टि बाँधी
एक्लौटी वकालत गरिरह्यौ
तराजुको ढक तल ढल्किरह्यो।

तिमी,
तिमी खुकुरीका धारले मासुको
चोक्टा छिनाल्दै गयौ ।
ऊ अचानो बनी सहिरही ।

अरे,
अरे ! त्यो अचानोलाई पनि त दुख्छ
भन्देउ न समाज ।
त्यो अचानोलाई पनि त दुख्छ
भन्देउ न समाज ।

Tags :
प्रतिक्रिया दिनुहोस