‘पुरस्कार पाएर उत्ताउलो भएको छैन’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘पुरस्कार पाएर उत्ताउलो भएको छैन’


१७ भाद्र २०७४, शनिबार


पछिल्लो संस्करणको मदन पुरस्कार साहित्यकार घनश्याम कँडेलको छैटौं खण्डकाव्य ‘धृतराष्ट्र’लाई प्रदान गरिएको छ । लामो समय प्राध्यापनमा बिताएका कँडेलको पुरस्कार पाएपछि चर्चा समेत बढेको छ । ‘धृतराष्ट्र’बारे साहित्यकार कँडेलसँग प्रशासन डटकमका यज्ञराज जोशीले गरेको कुराकानी ।

‘धृतराष्ट्र’ले मदन पुरस्कार पाउला भन्ने सोच्नुभएको थियो ?
मदन पुरस्कार पाउँदा खुसी लागेको छ, यद्यपि पुरस्कारकै लागि भने कृति लेखेको होइन । पुरस्कार पाएर उत्ताउलो पनि भएको छैन ।

‘धृतराष्ट्र’ले के सन्देश बोकेको छ ?
यस मुलुकमा दृष्टिविहीनका माध्यमबाट समस्यामा परेका मान्छेहरू थुप्रै छन् । यस कृतिमा दृष्टिविहीन भएर पिछडिएका र जातीय तथा वर्गीय आधारमा पिछडिएकाको समस्या उठाउन खोजिएको छ । मुख्य दृष्टिविहीनको के समस्या हो त ? स्वयम् धृतराष्ट्र दृष्टिविहीन हुन् । हाम्रो देशमा दृष्टिविहीनले जुन अवसर पाउनुपर्ने हो, त्यो पाएका छैनन् ।

राजनीतिक दलका नेताले दृष्टिविहीनलाई अवसर दिने भाषण त गर्छन् । तर, अवसर दिन सकेका छैनन् । अवसर पाए उनीहरू आँखा भएकाहरू जस्तै काम गर्न सक्छन् । उनीहरू आज किनारामा छन् । देशमा अपाङ्गमैत्री वातावरण बन्नुपर्छ । त्यसका लागि सम्बन्धित निकाय तयार हुनुपर्छ ।

पुरस्कार पाएपछि कस्तो प्रतिक्रिया पाउनुभयो त ?
राम्रो प्रतिक्रिया आइरहेको छ । मैले त्रिभुवन विश्वविद्यालयमा ३७ वर्ष नेपाली भाषा र साहित्य पढाए । कविताको माध्यमबाट पनि नेपाली साहित्यको सेवा गर्न पाए । अरु खण्डकाव्य पनि मेरा शसक्त नै छन् । ‘देवियानी’ अंग्रेजीमा पनि अनुवाद भइसकेको छ ।
म जुन देश, माटोमा हुर्के । त्यसका बिम्ब राम्रा पक्ष, मेरो काव्यमा आउन, म नारामा विश्वास राख्दैन । त्यसमा कवित्वमै राख्नुपर्छ भन्ने चाहन्छु । भाव विचार उच्च छन् भन्ने चाहन्छु । आफु पनि त्यही अनुसार गएजस्तो लाग्छ । आफु जन्मेको देशलाई केही दिनुपर्छ जस्तो लाग्छ ।

‘धृतराष्ट्र’ लेख्न केले प्रेरित गर्यो ?
महाभारतबाट प्रेरणा लिएर मैले अरू काव्य लेखेको हुँ । ‘देवियानी’ र ‘विश्वाभित्र–मेनका’ महाभारतमा आधारित भएर लेखिएका हुन् । मलाइ आँखा सम्बन्धी समस्या थियो । त्यसले पनि लेख्ने प्रेरणा दियो । अहिले विदेशमा उपचार गरेपछि भने मेरो आँखाको समस्या समाधान भएको छ ।

महाभारतका खलनायक पात्रलाई यहाँले नायकका रूपमा प्रस्तुत गर्नुभो नि ?
महाभारतमा धृतराष्ट्र खलनायक मानिन्छन् । महाभारतको कथा जस्ताको त्यस्तै लेख्ने हो भने त्यहि पढे भइहाल्यो नि । मैले त्यस कथालाई आधार बनाइ ‘धृतराष्ट्र’लाई नायक बनाएर दृष्टिविहीनका समस्यालाई उजागर गर्न चाहे ।

यसअघिका ‘देवियानी’ र ‘विश्वामित्र–मेनका’ खण्डकाव्यले चर्चा नपाए पनि फेरि जीवनीपरक खण्डकाव्य नै रोज्नुभयो किन ?
मैले पुरस्कार पाइनँ, त्यो फरक कुरा हो । तर, पुरस्कारै नपाएकाले त्यो कृतिले चर्चा नपाएको भन्न मिल्दैन । त्यसले अत्याधिक चर्चा पाएको छ । ‘देवियानी’को बारेमा थेसिस नै लेखिएको छ । तर, ‘धृतराष्ट्र’ले मदन पुरस्कार पाएपछि अलि बढी चर्चा भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस