सुदूरपश्चिममा गौराको रौनक  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुदूरपश्चिममा गौराको रौनक 


१३ भाद्र २०७४, मंगलबार


धनगढी । गौरा पर्व सुरु भएसँगै सुदूरपश्चिममा रौनक छाएको छ । विदेसिएकाहरू पनि गौरा मनाउन घर फर्केका छन् । गौराकै अवसरमा गाउँबस्तीमा रौनक छाएको सर्वसाधारण बताउँछन् ।

जानकारका अनुसार भदौ शुक्ल पञ्चमीमा ‘बिरुडा’ भिजाएर गौरा पर्व विधिवत रूपमा सुरु हुन्छ । पहिलो दिन सार्वजनिक धारा वा पधेरामा गई ‘बिरुडा’ (पाँच प्रकारका अन्न गुराँस, गहुँ, मास, केराउ र गहत) भिजाइन्छ । भोलिपल्ट भिजाएको बिरुडालाई सुकाइन्छ । सप्तमीमा खेतमा उम्रिएको साउँ (एक प्रकारको घाँस)बाट गौराको प्रतिमा बनाएर गौरा भित्र्याइने गरिएको छ । सो दिन बाजागाजासहित महिलाहरुले गौरा भित्र्याउने गर्छन् । अष्टमीमा दूबोको पूजा सहित गौरा र महेश्वरको विवाह गरिन्छ ।

गौरामा ‘मागल’ (फाग) गीत गाउने प्रचलन छ । गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, मागल गानका साथमा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौरा घरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । यसै दिनदेखि ठाउँ–ठाउँमा डेउडा समेत खेलिने प्रचलन छ । गौरा पर्व सुरु भएसँगै सुदूरपश्चिममा रौनक छाएको आदर्श सेवा समाजका अध्यक्ष तीर्थराज पाण्डेय बताउँछन् ।


गौरालाई गौरा घरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ । यसै दिनदेखि ठाउँ–ठाउँमा डेउडा समेत खेलिने प्रचलन छ ।


‘सप्तमीमा भित्र्याइएको गौरा प्रतीकलाई कम्तिमा पनि पाँच रात राख्ने गरिन्छ,’ उनले भने, ‘पाँच रातसम्म गौरा घरमा डेउडा, फाग, चैत, धमारी खेल्ने गरिन्छ ।’ उनले भने– ‘गौरा र डेउडा पर्वले आपसी भाइचारा, शान्ति, समृद्धि तथा सह–अस्तित्वको सूत्रमा बाँध्ने गरेको छ ।’

सप्तसती देवीले दक्षको अग्नि कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रुपलाई हरियो घाँसमा छिपाई भौतिक देह विसर्जन गरेकाले हरियो घाँसमा सतीदेवीको बास हुन्छ भन्ने मान्यता अनुसार धानमा उम्रने साउँ घाँससहितको समष्टिगत रूप बनाई पूजा गर्ने परम्परा छ ।

गौरा देवीको पूजा गर्दा पतिको दीर्घायूका साथै घरमा सुख शान्ति छाउने धार्मिक विश्वासे छ । बाह्मण, क्षेत्री समुदायका पुरुषले जनै लगाए जस्तै यसपर्वमा महिलाले एक वर्षका लागि ‘दुबो–धागो’ लगाउने चलन रहेको पण्डित मनिराज जोशीले बताए ।

‘गौराको व्रत बस्दा मनमा शान्ति हुनुका साथै पतिको आयू लामो हुन्छ भन्ने विश्वास रहेको छ,’ डोटेली संस्कृतिविद् डा. बद्री शर्मा विनाडीले भने, ‘शिव र पार्वतीको प्रतिमूर्ति मानेर पूजा गरिने हुँदा तीज र गौराको महत्व उत्तिकै छ ।’

गौरा यस क्षेत्रको मौलिक पर्व मात्र नभई आपसी सद्भाव बढाउने पर्व रहेको डेउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ बताउँछन् ।

गौराको पूजा सकेपछि प्रसादका रूपमा बिरुडा बाँड्ने प्रचलन छ । महिलाले घर परिवारमा सुख, शान्ति र परिवारका सदस्यहरूको दीर्घायूका लागि ब्रत बसी पूजाआजा गर्ने मान्यता छ ।

गौरा पर्वमा महिलाले पहिरिने ‘दुबो–धागो’को महत्व निकै रहेको डोटेली संस्कृति सम्बन्धी जानकार गणेशराज जोशी  बताउँछन् । ‘यसको महत्व पुरुषले लगाउने जनैसरह हुन्छ,’ उनले भने ।


गौरालाई ‘गमरा’, ‘गोःरा’, ‘गवरा’ लगायत पनि भन्ने गरिन्छ । यी सबैको अर्थ पार्वती नै रहेको जानकार बताउँछन् ।


उनका अनुसार दुबो–धागोलाई शास्त्रमा ‘सप्तम्या’ (सातओटा धागोको डोरा) भनिएको छ । ‘शास्त्र अनुसार महिला वैवाहिक संस्कारबाट मात्र शुद्ध नहुने हुँदा दुबो–धागो पहिरिनुपर्छ भनिएको छ,’ उनी भन्छन् । काठमाडौंमा रहेका सुदूरपश्चिमेली पनि गौरा मनाउने भएकाले यसको महत्व विस्तार भएको उनको भनाइ छ ।

गौरालाई ‘गमरा’, ‘गोःरा’, ‘गवरा’ लगायत पनि भन्ने गरिन्छ । यी सबैको अर्थ पार्वती नै रहेको जानकार बताउँछन् । गौरा सुदूरपश्चिम तथा कर्णाली क्षेत्रमा सदियौंदेखि रहेका मौलिक लोकसंस्कृतिको पहिचान गराउने पर्व रहेको उनीहरुको भनाइ छ । समालोचक जोशीका अनुसार गौरा यस क्षेत्रको लोक संस्कृति, लोक साहित्य, परम्परागत प्रचलन, ऐतिहासिक वीरगाथा र भेषभूषाको प्रस्तुति गर्ने थलो हो । ‘यस क्षेत्रका यति धेरै पहिचानका बिम्ब एकैसाथ प्रस्तुति हुने अर्को कुनै अवसर नै आउँदैन,’ उनी भन्छन्, ‘यसमा मांगल, फाग, चैत, धमारी, ढुस्को, अठवाली गीत, भोलाउलो, घरगीत, सुप्रसिद्ध डेउडाका साथै परम्परागत बाजागाजा, ऐतिहासिक वीरगाथा एकैसाथ प्रस्तुत हुन्छन् ।’ यस क्षेत्रको कला, संस्कृति, भेषभूषाको अध्ययन गर्न चाहनेका लागि गौराको समय महत्वपूर्ण रहने उनी बताउँछन् । गौरा व्रत बस्ने महिलाको घरमा माछामासु ब्रजित गरिने भएकाले यो पर्व सात्विक विचार विकासमा समेत सहयोग पु¥याउने पर्व रहेको जानकारको तर्क छ ।  गौरा पर्वको प्रमुख आकर्षण डेउडा हो । डेउडामा पौराणिक कथा, देवी देवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि डेउडाका माध्यमले तीखो व्यङ्ग्य गरिन्छ । महिलाहरूले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन् ।

सशस्त्र द्वन्द्वका बेला गौरा पर्व ओझेलमा पर्दै गएकोमा अहिले भने पुरानै रौनकता आएको डेउडाप्रेमी बताउँछन् । गौरामा केटाकेटीसँगै परिवारका सदस्यले नयाँ लुगा किन्ने र लगाउने चलन समेत चलिआएको छ ।

सुदूरपश्चिममा मात्र नभई अहिले डेउडाले राजधानीसम्म आफ्नो लोकप्रियता कायम गरेको छ । बसाइँसराइँसँगै तराईका कञ्चनपुर र कैलालीमा पनि पहाडी समुदायले मनाउने गौरा पर्वमा खेलिने डेउडा सबैको आकर्षण बन्ने गरेको छ । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने सुदूरपश्चिम क्षेत्र बाहेकका पनि डेउडामा रमाउने गर्छन् । केही संघसंस्थाले यस अवसरमा डेउडा प्रतियोगिताको समेत आयोजना गर्ने गरेका छन् । यो पर्व सुदूरपश्चिमका पहाडी क्षेत्रका साथै कैलाली कञ्चनपुरका गाउँबस्ती, कुमाऊँ, गडवालमा समेत धुमधामका साथ मनाइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस