असफल प्रेम र आत्महत्या « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

असफल प्रेम र आत्महत्या


२१ श्रावण २०७४, शनिबार


अन्तिम पटक उस्लाइ म्यासेज पठाएं । आजबाट म कहिल्यै तिमिलाई सताउने छैन । सधैँ खुशी हुनु तिमी  तिमिले जित्यौ अनि मैले हारेँ आँखाबाट आँशुका धारा बग्दै थिए । मुटु पोलि रहेको थियो । पलङको छेउमा उस्ले चिनो दिएको ढाकाको गलबन्दी थियो । मैले त्यसलाइ तानेर धेरैबेरसम्म नियाली रहेँ । ओठमा लगेँ अनि चुम्बन गरेँ । मलाई झनै गाह्रो भएर आयो । उस्ले त्यो गलबन्दी उपहार दिँदा खेरिको पल आँखामा नाच्न थाल्यो । मलाई असह्य भएर आयो । म पलङबाट उठेँ अनि छेउमा रहेको प्लास्टिकको कुर्सी तानेर बिचमा ल्याएँ । हातमा गलबन्दी लिएर म कुर्सी माथी उभिएँ । गलबन्दिको कुना पटिबाट एक सर्को घाँटिमा बेरेँ अनि घाँठो पारेँ । गलबन्दिको अर्को कुनो तन्काएर माथी पंखामा बाँध्न खोजेँ । पंखा अलिक माथी भएको कारण मैले सजिलै भेट्न सकिन । खुट्टाका औंलाले मात्र कुर्सिमा टेकेर केही तन्किए पछि बल्ल पंखामा गलबन्दिको फेरो हाल्न पुगेँ । अफ्ठेरो गरि बल्लतल्ल पंखामा गलबन्दी बाँधिं सकेपछी सोचें अब उस्लाई थाहा हुनेछ, म कति धेरै मायाँ गर्थें उस्लाइ भनेर । उ पछुताउने छे, मलाइ यसरी धोका दिएकोमा । मैले लामो सास फेरेँ अनि खुट्टाले बल गरेर कुर्सिलाइ ठेलिदिएँ । कुर्सी भुइँमा लड्यो । म तर्लङ्ग गलबन्दिमा झुन्डिएँ । घाँटिमा जोडले गलबन्दी कसियो । म केहीबेर छटपटाएँ अनि बिस्तारै सान्त भएँ । मेरा आँखा बन्द भए । मेरो अगाडि अन्धकार अनि सुन्यता छायो । मलाई होस् आयो । मैले आँखा खोलेर हेर्दा म चकित भएँ । यस्तो कसरी हुन सक्छ ? म कसरी जिवित छु अझै ? म डोरिमा तुर्लुङ्ग झुन्डिएको छु तर पनि म कसरी अझै मरेको छैन ? अहं यस्तो हुनै सक्दैन । घाँटिमा पासो लगाएर झुन्डिएको मान्छे कसरी जिवित हुन सक्छ ? मसंग प्रश्न नै प्रश्न थिए तर जवाफ एउटै थिएन । कदापी हुनै नसक्ने कुरा भएको थियो । मैले घाँटिमा कसिएको गलबन्दी फुकाएँ अनि पलङमा गएर बसेँ । म यो आश्चर्य हुनुको जवाफ खोज्दै थिएँ । त्यति नै खेर मेरा नजर पंखा भए तिर पुगे । म झनै चकित भएँ । अर्को ठूलो झट्का लाग्यो मलाइ । चक्कर आउला झैँ भएर आयो । पंखामा गलबन्दी झुन्डिएको थियो अनि गलबन्दिमा म पनि तुर्लुङ्ग झुन्डी राखेको थिएँ । म आत्तिदैँ पलङबाट उठेँ अनि झुन्डिएको मेरो आफ्नै शरिरलाइ समाउन खोजे । तर अहँ मैले आफ्नो शरिरलाइ छुन पनि सकिन । मेरा हातहरु मात्र हावामा सलबलाए । यो के हुंदैछ ? म आफ्नो शरीर झुन्डिएको देख्दैछु तर म त्यसलाइ छुन पनि सक्दिन । कस्तो अचम्म ? म हार खाएर फेरि पलङमा बसें अनि सोच्न थाले । सुनेको थिएं, आत्मा र शरीर अलग कुरा हुन् । भौतिक शरीर मर्दैमा आत्मा मर्दैन र मृत शरीरसंग आत्माको मिलन हुन पनि सक्दैन । अब भने मैले केही बुझें झैं लाग्यो । जिवित मात्र मेरो आत्मा थियो । मेरो शरीर त मरि सकेको थियो । म आत्मा मात्र थिएँ । सोच्दा सोच्दै बाहिरबाट आवाज आयो । बाबू ए बाबू यति बेलासम्म किन उठ्दैनस् आज ? आवाज आमाको थियो । म आत्तिदैँ कराए आमा यहाँ आउनुन ।

केहिबेर आमाको आवाज आएन । फेरि केहिबेर पछि आमाले ढोकै बाहिरबाट कराउनु भयो हैन किन सुन्दैनस् हँ ? उठ् भनेको छिटो । म उस्तै आत्तिँदैं रुँदै बोलेँ आमा हौ  सुन्नुन आमाले ढोका ठेल्दै कराउनु भयो हैन बोल्दा पनि बोल्दैन त…….ठुलो झट्काले ढोका खोल्ने बित्तिकै आमा आत्तिनु भयो । आत्तिएर ठूलो आवाजमा कराउनु भयो बाबू ए बाबू आमा मेरो झुन्डिएको शरिरलाइ पकडेर पागल झैँ चिच्याउदै रुन थाल्नु भयो । बाहिरबाट बुबाको आवाज आयो हैन के भयो हँ ? आमाले उस्तै रुंदै चिच्याउन भयो यहाँ हेर्नू न बाबू हौ बाबू । बुबा दगुर्दै कोठामा आउनु भयो । मेरो शरिर पकडेर उभिनु भएकि आमा रुँदै भुइंमा ढल्नु भयो । आमाको आवाज मधुरो भयो । बुबाले आत्तिदै मेरो शरीर पकडेर चिच्याउनु भयो बाबू यो तैले के गरिस् छोरा ? बाहिरबाट छिमेकीहरु हैन के भयो भन्दै कोठामा पस्न थाले । सबै चकित भए । आमा बुबासंगै धेरै जनाको रुवाइ अनि चिच्याहटले कोठा शोकाकुल भयो । म भुइंमा ढलेकी आमा भए ठाउँमा गएर उठाउन खोजेँ, तर अहँ मैले आमालाइ छुन सकिन । मैले कराएँ आमा मेरो आवाज कसैले सुनेन । मैले बुझेँ अब म बोल्नु ब्यर्थ छ । मलाइ कसैले देख्न अनि सुन्न सक्दैन । म त मरिसकेको छु ।

म हार खाएर फेरि पलङमा नै थ्याच्च बसेँ । आमाको फेरि आवाज आयो ए मेरा छोरा  किन यस्तो गरिस् बाबू ? हामिले माया गरेनौं तंलाइ ? मलाइ पहिले मारेको भए हुन्थ्यो नि बाब । चिच्याउदा चिच्याउदै आमाको आवाज सुकेर फेरि लड्नु भयो । छिमेकी काकिले छेउको जगको पानी टाउकोमा छेप्दै आमालाइ काखमा राख्नु भयो । बुबा पनि रुंदा रुंदै लड्न खोज्नु भयो । छिमेकिहरुले बुबालाइ सम्हाल्दै पलङमा बसाए । बुबाले रुंदै भन्नूभयो के दशा लाग्यो यो छोरो ज्ञानि छ जस्तो लाग्थ्यो कति सपना देखेकों थिएँ । बुबा भक्कानो छोडेर रुन थाल्नु भयो । मैले कहिल्यै मेरो बुबा रोएको देखेको थिएन । बुबा सधैँ कडक देखिनु हुन्थ्यो । ठूलो स्वरमा बोल्नु हुन्थ्यो । बुबाले फेरि भक्कानो छोडेर रुंदै भन्नू भयो हामिले के गरेको थिएन बाबू तेरो लागि ? हामिलाइ केको सजाय दिएको यस्तो ? हुन पनि हो, मेरा बा आमाले मेरा लागि सबथोक गर्नु भएको थियो । आफ्नो हैसियत भन्दा धेरै गर्नु भएको थियो । निकै राम्रो कलेजमा पढाउनु भएको थियो । कहिले कुनै कुराको अभाव हुन दिनु भएको थिएन । बुबाले आफ्नो सन्चय कोष रित्याएर मेरो लागि मोटरसाइकल किनुदिनु भएको थियो । आमाले आफ्नो गहना बेचेर मेरो लागि ल्यापटप किन्ने पैसा दिनु भएको थियो । मेरा लागि ज्यान दिने मेरा बुबा आमालाई बिर्सिएर मैले केही महिनाको प्रेमको लागि ज्यान दिएको थिए । मलाइ आफैदेखि धिक्कार लागेर आयो । म भक्कानो छोडेर रुन थालेँ । तर मेरो रुवाइ कसैले सुनेन अनि वास्ता गरेन ।

घरमा कोलाहल छाएको थियो । मान्छेहरु खचाखच भरिएका थिए । कोठामा प्रहरी प्रबेश गरे । मान्छेहरुले बाटो छोडिदिए । प्रहरिले सबैलाइ कोठा बाहिर निस्किन भने । छिमेकिहरु बाहिर निस्किए । प्रहरिले मेरो शरिरको तस्बिर लिए, कोठाको तस्बिर लिए अनि गलबन्दी काटेर मेरो शरिरलाइ भुइंमा झारे । आमाले चिच्याएर रुँदै मलाइ अंगालो हाल्न खोज्नु भयो । तर प्रहरिले दिएनन् । आमाले रुंदै भन्नू भयो मलाइ पनि कसैले बीष ल्याइ देउन म पनि जान्छु बाबू संगै । मैले मेरा बुबाआमा रोएको सुन्नै सकिन । म रन्थानिएर बाहिर निस्किएँ । घर बाहिर मान्छेको भिड थियो । कोहि आँसु पुछ्दै थिए त कोहि खासखुस गर्दै थिए । कसैले बिस्तारै भन्यो कस्तो हुतियारा रहेछ झुन्डेर मर्नेको त माया पनि लाग्दैन । अर्कोले बोल्यो केटिले धोका दिएर मरेको रे । फेरि अर्को बोल्यो यस्ता सन्तान त नजन्मिनु नि बरु हेर बाआमालाई ज्युदै मारेको बिचरा । मैले सुन्न सकिन । म बाटो छेउ तिर पुगेँ । त्यहाँ मेरा साथिहरु भेला भएर बसेका थिए । कोहि रुंदै थिए त कोहि बिस्तारै बोल्दै थिए । म नजिक गएँ । साथी रामेले बोल्यो किन यस्तो गरेको होला यार त्यसले ? बिक्किले आँसु पुछ्दै भन्यो अस्तिदेखि तनाबमा थियो तर यस्तो गर्छ भनेर त सोचेको पनि थिएन यार । सबिनले लामो सास फेरेर बिस्तारै बोल्यो कस्तो केटिको लागि ज्यान दियो यार जसका लागि ज्यान दियो त्यस्लाइ त अकिकती पनि फरक परेको छैन । रामेले उत्सुक हुँदै सोध्यो संगितालाइ सुनाइस् ? सबिनले भन्यो अगि फोन गरेको थिएं । बिक्किले सोध्यो के भनित ? सबिनले सुनायो के भन्न यार, मैले उस्लाइ मर भनेको हैन, पो भन्छे । उस्को स्वरमा अलिकती पनि दुख थिएन यार । सबिनले फेरि थप्दै भन्यो मरेको खबरलेसम्म नपगाल्ने केटिको लागि के ज्यान दिएको होला । मलाइ रिंगटा लाग्ला जस्तो भयो । मेरो सास रोकिन खोज्यो । मैले जस्को प्रेममा मृत्यु रोजेको थिएं उस्लाइ मेरो मृत्यु खबरले कति पनि फरक परेनछ ।

मलाइ मैले मृत्यु रोजेकोमा पछुतो लागेर आयो । प्रेममा पागल भएर मैले मेरा बुबाआमालाइ नै बिर्सिएर यस्तो गलत कदम उठाएको थिएँ, तीनै बुबाआमाको भने सारा खुशी छिनिएको थियो । मैले केही महिनाको प्रेमको लागि बर्षौ सम्मको प्रेमको हत्या गरेको थिएं । जसले मलाइ प्रेमको बदलामा प्रेम दिएन उस्को लागि मैले आफुलाइ भन्दा बढी प्रेम गर्ने अनि मलाइ संशार ठान्ने मेरा बुबाआमाको प्रेमलाइ लात हानेको थिए । पासो म लागेको थिएँ तर मरेको मेरो सारा परिवार थियो । म रुँदै कोठा भित्र पसेँ । मेरा बाआमा अनि आफन्तहरु डाको छोडेर रोइ राखेका थिए। रुंदा रुंदै आमाको आवाज बिलिन हुन लागेको थियो । बुबाको पनि श्वर सुकि सकेको थियो। बुबाआमा दुबैजना अर्धचेत अवस्थमा हुनुहुन्थ्यो । मलाइ असहैय्य भएर आयो । मलाइ आमालाइ बोलाउन मन लाग्यो । मैले कराएं ए आमा सुन्नुन मेरो आवाज कसैले सुनेन । मैले झनै जोडले रुंदै कराएँ ए आमा सुन्नुन हौं म झल्यास्स ब्युझिएँ । सबै सपना रहेछ । मेरो शरीर पसिनाले भिजेको थियो । आँखाबाट आँसु बगेका थिए । सास स्याँ स्याँ भएको थियो । पल्लो कोठाबाट आमा बोल्नु भयो के भयो बाबू, किन कराको ? मलाई रुन आयो । म रोइ दिएँ । आमा ढोका खोलेर मेरो नजिक आउनु भयो अनि सोध्नु भयो के भयो ? मैले रुंदै आमालाइ अंगालो हालेर बोलें सपना आमाले मेरो टाउको सुमसुम्याउदै भन्नू भयो नराम्रो सपना देख्दा रुन्छन् त यत्रो मान्छे भएर ? मैले केही जवाफ दिइन । आमाको काखमा टाउको राखेर सुतिदिएं । केहिबेर पछि आमाले मेरो केस सुम्सुम्याउदै भन्नू भयो कहिलेकाहीँ खराब सपना देखिन्छ अर्कै तिर सम्झेर सुत अब । यति भनेर आमा आफ्नो कोठा तिर जानू भयो । मेरो धड्कन लगभग शान्त भइ सकेको थियो । मैले मेरो सिरानिमा राखेको मोबाइल निकाले । ग्यालरी खोलेँ ।

मोबाइलको ग्यालरी लगभग उसैका तस्बिरहरुले भरिएको थियो । मैले सबै तस्बिर एकै पटक डिलिट गरिदिएं । आमाबुबाको एउटा तस्बिर छानेर मोबाइको वालपेपर लगाएं । उस्लाइ गरेका सम्पुर्ण म्यासेज अनि उस्को नम्बर पनि डिलिट गरें । अनि मनमनै कसम खाएं म कहिल्यै यस्तो खराब कदम चाल्ने छैन । मलाइ शंशार ठान्ने मेरा बुबाआमालाइ कहिल्यै रुवाउने छैन । मेरा बाआमाले जति माया मलाइ कसैले प्रेम गरेको छैन र गर्ने पनि छैन । उहांहरुको प्रेमलाई बिर्सिएर म अरु कसैको प्रेममा आफुलाइ मार्ने छैन ।

प्रतिक्रिया दिनुहोस