लोकसेवा सम्बन्धि थप बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लोकसेवा सम्बन्धि थप बस्तुगत र छोटा प्रश्नोत्तर


१८ श्रावण २०७४, बुधबार


वस्तुगत प्रश्नोत्तर

१. भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान– २०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
– गायक एवम् रङ्गकर्मी हरिप्रसाद रिमाल
(सङ्गीतकार चन्द्रराज शर्मालाई भक्तराज आचार्य अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको । सम्मानको राशि ५० हजार र पुरस्कारको राशि ५०,००१/– रुपैया रहेको ।)

२. विवेकशील नेपाली दल र साझा पार्टीबीच पार्टी एकता भई ‘विवेकशील साझा पार्टी’को गठन कहिले भएको हो ।
– वि.सं. २०७४ साउन ११
(एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी र चुनाव चिन्ह तराजु राखिएको जानकारी दिइएको छ । पार्टीमा रवीन्द्र मिश्र र उज्ज्वल थापाको संयुक्त नेतृत्व र समान हैसियत रहेको जनाइएको छ । एकीकृत पार्टीले आठ जनाको संयोजन समिति बनाएको छ जसमा मिश्र, थापाका साथै गोविन्द नारायण, निरुपमा यादव, यूर्यराज आचार्य, अनुषा थापा, मुमाराम खनाल र रमेश पौडेल रहेका छन् ।)

३. अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले रुस लगायत तीनवटा देशमाथि नाकाबन्दी लगाउने प्रस्ताव कहिले पारित गरेको हो ?
– सन् २०१७ जुलाई २५
(रसिया, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी लगाउने विषयमा जुलाई २५ मा तल्लो सदन कङ्ग्रेसमा मतदान भएको थियो । मतदानमा विधेयकको पक्ष्मा ४१९ मत र विपक्षमा ३ मत मात्रै खसेको थियो । यो पछिल्लो विधेयक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार कटौती गर्ने उद्देश्यले ल्याइएको बताइएको छ । साथै यो विधेयकले रसियासँग सम्बन्ध सुधार्ने राष्ट्रपति ट्रम्पको आशालाई समस्यामा पार्ने अनुमान गरिएको छ । माथिल्लो सदन सिनेटबाट पनि पारित भएमा सो विधेयकले कानुनको रुप लिनेछ ।)

४. नेपाल र अफ्रिकी राष्ट्र एन्टिगुवा बीच कूटनीतिक सम्बन्ध कहिले कायम भएको हो ?
– सन् २०१७ जलाई २६
(यो सँगै नेपालको दुईपक्षीय कूटनीतिक सम्बन्ध् स्थापना भएको देशको सङ्ख्या १४८ पुगेको ।)

५. आन्तरिक राजस्व विभागले २०७४ साउन १० मासार्वजनिक गरेको तथ्याङ्क अनुसार आ.व. २०७३/७४ मा राजस्व सङ्कलन कति भएको छ ?
– रु २ खर्ब ५८ अर्ब १७ करोड ४९ लाख ८५ हजार
(आन्तरिक राजस्व विभागले समग्र राजस्व सङ्कलन लक्ष्यभन्दा ११ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको ।)

६. नेपालको कुन ठाउँमा शङ्ख स्तम्भ निर्माण गरिएको छ ?
– झापा (मेचीनगर– १० धुलाबारी), २७ फिट अग्लो

७. २०७४ जेठ २३ मा चौथोपल्ट प्रधानमन्त्रीमा निर्वाचित भएका शेरबहादुर देउवाले दोस्रोपल्ट मन्त्रिपरिषद्को विस्तार कहिले गरे ?
– वि.सं. २०७४ साउन ११
(२०७४ जेठ २४ मा पहिलोपटक आफूसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका देउवाले साउन ११ मा रु१९ मन्त्री थपेर दोस्रोपटक सरकार विस्तार गरेका ।)

८. कन्केकाफ गोल्डकप– २०१७ को उपाधि जित्ने राष्ट्र कुन हो ?
– अमेरिका
(अमेरिकाले जमैकालाई २–१ गेल अन्तरले पराजित गरेर कन्केकाफ गोल्डकप जितेको ।)

९. राष्ट्रिय गौरवको रानी जमरा कुरिया सिँचाइ आयोजना कहाँ रहेको छ ?
– कैलालीमा
(नेपाल सरकार, विश्व बैङ्कको ऋण र अनुदान तथा उपभोक्ताको श्रमदानसमेत गरी १२ अर्ब ६३ करोड २१ लख रुपियाँको लागतमा सो आयोजना निर्माण भइरहेको ।)

१०. नेपालको पहिलो उद्योगका रुपमा विराटनगर जुटमिलको स्थापना कहिले भएको हो ?
– वि.सं. १९९३
(यो जुटमिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा ल्याउन लागिएको छ ।)

११. एक लाख युरो राशिको रिक्स रिडक्सन अवार्ड पाउने नेपाली संस्था कुन हो ?
– नेपाल नर्सिङ सङ्घ

१२. पर्यावरण सम्बन्धी अनलाइन प्रतिस्पर्धा क्राउडराइज अर्थ डे रोडम्याप क्लाइमेट’मा द्वितीय स्थान हासिल गरी झण्डै दुई लाख ४० हजार अमेरिकी डलर राशिको पुरस्कार प्राप्त गर्ने नेपाली परियोजना कुन हो ?
– भर्टिकल युनिभर्सिटी
(जैविक विविधता एवम् वन्यजन्तु संरक्षण सम्बन्धमा संलग्न नेपाली परियोजना ‘भर्टिकल युनिभर्सिटी’ले सो अवार्ड प्राप्त गरेको । च्यालेन्जमा इन्डोनेसियास्थित बालीको ग्रिन स्कुलले पहिलो स्थान प्राप्त गरेको ।)

१३. पाकिस्तानका प्रधानमन्त्री नवाज सिरफलाई त्यहाँको सर्वोच्च अदालतले भ्रष्टाचारी करार गर्दै पदका लागि अयोग्य भएको फैसला कहिले गरेको हो ?
– सन् २०१७ जुलाई २८

१४. २०७४ सालमा प्रदान गरिने युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
– प्रा. डा. बासुदेव त्रिपाठी

१५. राणाकालीन समयमा नेपालमा कति जना प्रधानमन्त्री भएका थिए ?
– १० जना

१६. नेपाल हिमालको प्रवेशद्वार हो भन्ने सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले ‘इन्टरनेसनल ट्राभल ब्लगर्स एन्ड मिडिया कन्फ्रेन्स’ को आयोजना कहिले र कहाँ गरियो ?
– वि.सं. २०७४ जेठ १८, काठमाडौँ

१७. हाल नेपालमा कतिवटा महानगरपालिका रहेका छन् ?
– ६
(काठमाडौँ, ललितपुर, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा–लेखनाथ । ११ उपमहानगरः इटहरी, धरान, जनकपुर, कलैया, सिमरा–जितपुर, हेटौँडा, बुटवल, धोराही, तुलसीपुर, नेपालगञ्ज र धनगढी ।)

१८. सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय निकाय वित्तीय आयोगले गरेको न्यूनतम शर्त तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट धोषित नगर कुन हो ?
– बुटवल उपमहानगरपालिका

१९. नेपालमा हाल सञ्चालित औद्योगिक क्षेत्रमध्ये पछि स्थापना भएको औद्योगिक क्षेत्र कुन हो ?
– राजविराज औद्योगिक क्षेत्र

२०. संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको मुख्य कार्यालय कहाँ रहेको छ ?
– केन्याको नैरोबी

२१ विष्णुका दस अवतार के–के हुन् ?
– मत्स्य, कुर्म, बराह, नसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की

२२. जनसङ्ख्याका हिसाबले सबैभन्दा ठूलो महानगरपालिका काठमाडौँ हो भने क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो महानगरपालिका कुन हो ?
– पोखरा–लेखनाथ

२३. पुरानो स्थानीय संरचना भङ्ग भई नयाँ ७४४ स्थानीय तह कहिले कायम गरिएको हो ?
– वि.सं. २०७३ फागुन २७

२४. टाइटानिक नामक समुद्री जहाज कहिले दुर्घटनाग्रस्त भएको थियो ?
– सन् १९१२ अप्रिल १४
(सन् १९१२ अप्रिल १० मा बेलायतको साउथ ह्याम्पटनबाट न्युयोर्कका लागि प्रस्थान गरेको सो जहाज चार दिनको यात्रापछि १४ अप्रिलमा एक ठूलो हिमशिलामा ठोक्किएर डुब्दा १५ सयभन्दा बढी यात्रुको निधन भएको थियो । टाइटानिक त्यो बेलाका समुद्री जहाजमध्ये सबै भन्दा सुविधासम्पन्न र विलासी रहेको बताइन्छ । चीनमा अहिले सोही विश्वविख्यात जहाज ‘टाइटानिक’को प्रतिकृति बनाउन थालिएको छ ।)

२५. सुन्दर एवम् रमणीय ‘राजारानी ताल’ कहाँ पर्दछ ?
– धनकुटा

२६. नेपालमा पहिलोपटक अत्याधुनिक सुविधा सहितको पशुपक्षी सम्बन्धी शिक्षण अस्पताल कहाँ निर्माण गर्न थालिएको छ ?
– त्रिपुरेश्वर, काठमाडौँ

२७. ग्लोबल– ५०० अवार्ड वातावरणसँग सम्बन्धित छ भने ग्रामी अवार्ड केसँग सम्बन्धित छ ?
– सङ्गीत

२८. शिक्षा मन्त्रालय, राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) एवम् राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक, तथा साँस्कृतिक सङ्घ (युनेस्को)द्वारा तयार गरिएको विद्यालय बाहिर रहेका बालबालिका सम्बन्धी नेपाल अध्ययन प्रतिवेदन अनुसार पाँचदेखि बाह्र बर्ष उमेर समूहका कति प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् ।
– १४.३ प्रतिशत
(प्रतिवेदन अनुसार पाँचदेखि बाह्र वर्षका ७ लाख ७० हजार २८८ अर्थात् १४.३ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । सो उमेर समूहका ५३ लाख ७४ हजार २६३ बालबालिका छन् । प्राथमिक शिक्षा उमेर समूह (पाँचदेखि ९ वर्ष उमेर) का पाँच लाख ७४ हजार ४४७ बालबालिका अझै विद्यालयको पहुँच बाहिर रहेको प्रतिवेदनले औँल्याएको छ । त्यस्तै निम्न माध्यामिक उमेर समूह अर्थात् १० देखि १२ वर्ष उमेर समूहका १ लाख ९५ हजार ८४१ बलबालिका विद्यालय बाहिर छन् ।

प्रतिवेदनले प्राथमिक उमेर समूहका २ लाख ८० हजार ३६६ बालक तथा २ लाख ९४ हजार ८१ बलिका र निम्न माध्यामिक उमेर समूहका ८५ हजार ९०६ बालक तथा १ लाख ९ हजार ९३५ बालिका विद्यालय बाहिर रहेको देखाएको छ । यसबाट विद्यालय बाहिर रहेका बालकभन्दा बालिकाको सङ्ख्या बढी रहेको प्रस्ट हुन्छ ।)

२९. क्यानडाली क्यान्सर सोसाइटीद्वारा सार्वजनिक गरिएको सुर्तीजन्य पदार्थमा चेतावनीमूलक सन्देश सम्बन्धी अन्तर्राष्ट्रि प्रतिवेदन (२०१६) अनुसार त्यस प्रकारको सन्देश राख्ने मुलुकको सूचीमा पहिलो स्थानमा रहन सफल राष्ट्र कुन हो ?
– नेपाल
(सो प्रतिवेदनले प्रशान्त महासगरमा रहेका भानुआतु पनि पहिलो स्थानमै रहेको देखाएको छ ।)

३०. जिका भाइरस कुन प्रजातिको लामखुट्टेको टोकाइबाट सर्दछ ?
– इडिस एजिप्टाई
(जिका भाइरस लागेमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, आँखामा सङ्क्रमण हुने हुन्छ । गर्भवती महिलामा यो भाइरसको सङ्क्रमण भए जन्मिएको शिशुको टाउको सानो हुन्छ । भाइरसले गर्भमा रहेको शिशुको मस्तिष्क पूर्णरुपमा विकास हुनदिँदैन । जसका कारण शिशु सुस्त मनस्थितिको हुन्छ । लामखुट्टेको टोकाइबाट बच्नु नै यसको रोकथाम हो । यो रोगमा गर्भवती महिलाले बढी सावधानी अपनाउनुपर्ने विज्ञले जनाएका छन् ।)

३१. नेपालले कहिलेसम्म बालविवाह अन्य गर्ने प्रतिवद्धता जनाएको छ ?
– सन् २०२०
(सरकारले आगामी सन् २०२० सम्ममा नेपालबाट बालविवाह अन्त्य गर्न अन्र्तराष्ट्रिय स्तरमा प्रतिवद्धता व्यक्त गरेको छ । यसै सन्दर्भमा नेपालमा बालविवाह र जबर्जस्ती हुने विवाह अन्त्य गर्न तथा यस सम्बन्धी जनचेतना जगाउन २०७२ चैत्र १० मा ‘सक्षम बालिकाः समृद्ध नेपाल’ नाराका साथ बालिका सम्मेलनको आयोजना गरिएको ।)

विषयगत प्रश्नोत्तर

जिल्ला कानुनी सहायता समितिको गठन तथा काम, कर्तव्य र अधिकार

१. नेपालको संविधान अनुसार प्रतिनिधि सभाको गठन कसरी हुन्छ ? उल्लेख गर्नु होस् ।

नेपालको संविधानको धारा ८४ अनुसार दुई सय ७५ सदस्य रहने प्रतिनिध सभाको गठन देहाय बमोजिम हुने व्यवस्था छः

क) प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ (एक सय ६५)
(जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टतामका आधारमा नेपाललाई एक सय ६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना)

ख) समानुपातिक निर्वाचन प्रणालीबाट ११० (एक सय दस)
(सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने निर्वाचन प्रणाली)

केही थप कुरा
– समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसङ्ख्याका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउनुपर्ने, भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिनुपर्ने, अपाङ्गता भएका व्यक्तिको समेत प्रतिनिधित्व हुने व्यवस्था गर्नुपर्ने,

– अठार वर्ष उमेर पूरा भएको प्रत्येक नेपाली नागरिकलाई कुनै एक निर्वाचन क्षेत्रमा मतदान गर्ने अधिकार हुने,

– प्रतिनिधि सभाका सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्न अधिकार पाएको व्यक्ति कुनै पनि निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन पाउने तर एउटै व्यक्ति एकभन्दा बढी निर्वाचन क्षेत्रमा एकैपटक उम्मेदवार हुन नपाउने,

– प्रतिनिधि सभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि काँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिने,

– सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य सङ्ख्याको कम्तीमा एक तिहाई सदस्य महिला हुनुपर्ने,

२. जिल्ला कानुनी सहायता समितिको गठन तथा काम, कर्तव्य र अधिकारबारे लेख्नुहोस् ।

कानुनी सहायता सम्बन्धी ऐन, २०५४ र कानुनी सहायता सम्बन्धी नियमावली, २०५५ अनुसार जिल्ला कानुनी सहायता समितिको गठन तथा काम, कर्तव्य र अधिकार निम्नानुसार छः

जिल्ला कानुनी सहायता समितिको गठन

जिल्ला स्तरमा असमर्थ व्यक्तिलाई कानुनी सहायता उपलब्ध गराउन तथा असमर्थ व्यक्तिलाई कानुनी सहायता उपलब्ध गराउने कानुन व्यवसायीको सूची तयार गर्ने कामका लागि प्रत्येक जिल्लामा देहाय बमोजिमका सदस्य रहेको जिल्ला कानुनी सहायता समिति गठन हुने व्यवस्था छ :

क) पुनरावेदन अदालत रहेको जिल्लामा पुनरावेदन सरकारी वकिल कार्यालयका सह न्यायाधिवक्ता वा सो नभएका जिल्लामा जिल्ला न्यायाधिवक्ता– अध्यक्ष
ख) जिल्लास्थित बार एसोसिएसनका एकाइमध्ये माथिल्लो एकाइको अध्यक्ष– सदस्य (काठमाडौँ जिल्लाको हकमा जिल्ला बार एसोसिएसनको अध्यक्ष सदस्य हुने)
ग) जिल्लाका कानुन व्यवसायीमध्ये जिल्ला समितिबाट मनोनीत दुई जना कानुन व्यवसायी– सदस्य
घ) जिल्लास्थित बार एसोसिएसनका एकाइमध्ये माथिल्ला माथिल्लो एकाइको सचिव– सदस्य सचिव (काठमाडौँ) जिल्लाको हकमा जिल्ला बार एसोसिएसनको सचिव सदस्य सचिव हुने)

जिल्ला कानुनी सहायता सतितिको काम, कर्तव्य र अधिकार
– निर्धारित आयभन्दा कम आय भएका धेरै व्यक्तिबाट कानुनी सहायताको माग भएमा कानुनी सहायता उपलब्ध गराउनुपर्ने व्यक्तिको प्राथमिकता क्रम निर्धारण गर्न आवश्यक नीति निर्धारण गर्ने र त्यसरी निर्धारित नीतिको अधीनमा रही कानुनी सहायता उपलब्ध गराउनु पर्ने व्यक्तिको प्राथमिकता क्रम निर्धारण गर्ने,

– पुनरावेदन अदालत, जिल्ला अदालत तथा अन्य निकायमा असमर्थ पक्षका तर्फबाट कानुनी सहायता प्रदान गर्न सम्बन्धित बार एकाइसँग समन्वय कायम गरी कानुन व्यवसायीको सूची तयार गर्ने,

– कुनै व्यक्तिालई काुनी सहायता उपलब्ध गराउने क्रममा जिल्ला समितिले गरेको खर्च आंशिक वा पूर्णरुपले छुट दिने सम्बन्धमा केन्द्रीय समितिद्वारा निर्धारित नीतिको अधीनमा रही आवश्यक निर्णय गर्ने,

– कानुनी सहायता प्रदान गर्ने कानुन व्यवसायीलाई दिने पारिश्रमिकको अङ्क निर्धारण गर्ने सम्बन्धमा केन्द्रीय समितिद्वारा निर्धारित नीतिको अधीनमा रही कानुनी सहायता उपलब्ध गराउने कानुन व्यवसायीको पारिश्रमिक निर्धारण गर्ने,

– जिल्ला समितिको खर्चको सोधभर्ना गराउँदा निजले प्राप्त गरेको कुल आर्थिक लाभको मूल्याङ्कन गर्ने सम्वन्धमा केन्द्रीय समितिद्वारा निर्धारित नीतिको अधीनमा रही कानुनी सहायता प्राप्त गरेको व्यक्तिले प्राप्त गरेको कुल आर्थिक लाभको मूल्याङ्कन गर्ने,

– कानुनी सहायता उपलब्ध गराउन जिल्ला समितिले तोकेको कुनै कानुन व्यवसायीले कानुनी सहायता उपलब्ध गराउने काममा हेलचेक्र्याइँ वा लापरबाही गरी सम्बन्धित व्यक्तिको दुद्दा बिग्रन गएमा त्यस्तो कानुन व्यवसायीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न कानुन व्यवसायी परिषद् समक्ष सिफारिस गर्न केन्द्रीय समितिलाई अनुरोध गर्ने,

– जिल्ला समितिको वार्षिक कार्यक्रम तथा बजेट पारित गरी स्वीकृतिका लागि केन्द्रीय समितिमा पठाउने,

३. केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशकको काम, कर्तव्य र अधिकार के–के हुन् ? उल्लेख गर्नुहोस् ।

नेपाल प्रहरीले अनुसन्धन तहकिकात गर्ने अपराधको गम्भीरता, अपराधको प्रकृति, अपराधमा संलग्न गिरोह वा त्यसले समाजको शान्ति सुरक्षामा पार्ने असरका आधारमा त्यस्ता अपराधको विशिष्टिकृत अनुसन्धान तहकिकात गर्न र अन्य कुनै प्रहरी कार्यालयबाट भइरहेको वा हुने अनुसन्धान तहकिकातको कार्यमा सहयोग गर्न केन्द्रीय अनुसन्धान ब्युरो (Central Investigation Bureau–CIB) रहने व्यवस्था केन्द्रीय अनुसन्धान ब्युरो (स्थापना र कार्य सञ्चालन) नियमावली, २०७० ले गरेको छ । प्रहरी महानिरीक्षकको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने ब्युरोमा नेपाल सरकारले निर्देशकका रुपमा कामकाज गर्न नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षकलाई तोक्न सक्ने र निर्देशक ब्युरोको प्रशासकीय प्रमुखका रुपमा रहने व्यवस्था छ । निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने व्यवस्था छ ?

– केन्द्रीय अनुसन्धान ब्युरोमा प्राप्त हुन आएका अपराधको पूर्ण व्यावसायिक ढङ्गले अनुसन्धान तहकिकात गर्ने, गराउने,

– अनुसन्धान अधिकृतबाट भए गरेका अनुसन्धान तहकिकात कार्यको नियमित रुपमा अनुगमन तथा मूल्याङ्कन गर्ने,

– अनुसन्धान अधिकृत एवम् अनुसन्धान एकाइ वा शाखा कार्यालयको नियन्त्रण र रेखदेख गर्ने,

– जघन्य, सङ्गठित, बहुराष्ट्रि प्रकृति तथा मानव अधिकारको गम्भीर उल्लङ्घन सम्बन्धी अपराधको अनुसन्धान तहकिकात सम्बन्धी विषयमा प्रहरी प्रधान कार्यालयमा राय सुझाव पठाउने,

– केन्द्रीय अनुसन्धान ब्युरोको दैनिक प्रशासकीय कामकारबाही सञ्चालन गर्ने,

– अन्र्ताष्ट्रिय अपराध, सङ्गठित अपराधको अनुसन्धान कार्यमा मित्र राष्ट्र अनुसन्धान निकायसँग समन्वय गरी कार्य सञ्चालन गर्ने,

– अपराधको अनुसन्धान तहकिकात सम्बन्धी समसामयिक विषयमा मिडिया एवम् सरोकारवालासँग समन्वय गरी सूचना प्रवाहको व्यवस्था मिलाउने,

– केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत जनशक्तिको वृत्ति विकास, तालिम तथा अन्य सुविधा सम्बन्धमा योजना बनाउने र सोको कार्यान्वयनका लागि आवश्यक कार्य गर्ने,

– केन्द्रीय अनुसन्धान ब्युरोको कार्यप्रणाली, अनुसन्धान प्रणाली तथा अपराधको स्थितिबारे नियमित रुपमा प्रहरी महानिरीक्षक समक्ष प्रतिवेदन पेस गर्ने,

– केन्द्रीय अनुसन्धान ब्युरोद्वारा गरिएका अपराधको अनुसन्धान तहकिकात सम्बन्धी क्रियाकलापको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र प्रहरी महानिरीक्षक समक्ष पेस गर्ने,

– प्रहरी महानिरीक्षकबाट तोकिए बमोजिमका अन्य कार्य गर्ने,

४. एकल महिला सुरक्षा कोष सञ्चालक समितिको काम, कर्तव्य र अधिकार लेख्नुहोस् ।

एकल महिला सुरक्षा कोषको सञ्चालन तथा व्यवस्थापन गर्न महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको सचिवको अध्यक्षतामा एकल महिला सुरक्षा कोष सञ्चालक समितिको गठन हुने व्यवस्था एकल महिला सुरक्षा कोष (सञ्चालन) नियमावली, २०७० ले गरेको छ । उक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने व्यवस्था छ :

– एकल महिला सुरक्षा कोषको रकम उपयोग गर्ने सम्बन्धमा वार्षिक कार्यक्रम तुर्जमा गरी कार्यान्वयन गर्ने, गराउने,

– स्वीकृत कार्यक्रमका लागि कोष परिचालन गर्ने, गराउने,

– एकल महिलालाई कोषको रकम उपलब्ध गराउने सम्बन्धमा आवश्यक मापदण्ड बनाई लागू गर्ने,

– स्वीकृति कार्यक्रम कार्यान्वयन भए, नभएको सम्बन्धमा अनुगमन गर्ने,

– एकल महिलाको क्षेत्रमा काम गर्ने निकाय तथा संस्थसँग समन्वय गर्ने,

– एकल महिलाको पहिचान सम्बन्धी आवश्यक मापदण्ड निर्धारण गर्ने,

– एकल महिला सम्बन्धी अन्य काम गर्ने, गराउने,

साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

Tags :
प्रतिक्रिया दिनुहोस