आँखा र आँखाहरु « प्रशासन
prasaLogo
३१ असार २०७४, शनिबार

आँखा र आँखाहरु


प्रकाशित मिति : 15 July, 2017 6:10 am

सुन्दर बगैंचाको वरिपरि विभिन्न किसिमका चराहरु चिरविर चिरविर गर्दै रमाइरहेका थिए । बगैंचाको छेउमा आफ्नो फरक लाली रुपरङ्ग बोकेको गुलाव बोल्न खोजिरहे जस्तो गरी हल्लिरहेको थियो । मखमली, हजारी, सूर्यमुखी लगायतका सबै फूलहरुले आफ्नो शक्तिले भ्याएसम्मको यौवन छछल्काइरहेका थिए । सूर्यको चमकभन्दा फूलको चमक बढी भएको अनुभूति भैरहेको थियो । मूलगेटदेखि ढोकासम्म अनारका दाना जस्तै गरी सजाइएका अनगिन्ती फूलहरुले सजिसजाउ घर र घरको नजिकै रहेको माछापोखरी, जसमा फरक फरक जातका अति आकर्षक माछाहरु स्वतन्त्रता पूर्वक रमाइरहेका थिए । घरको मूलगेटमा ठूलो फलामे सिक्रिले बाँधिएको एक भोटे कुकुर आफ्नो कर्तब्य बिर्सेर मस्त निन्द्रामा सुतिरहेको थियो । आज उसले चौकिदारी गर्नु पर्ने छैन ।

नजिकैको कुर्सीमा गंगाका बुबा धनिराम निधारमा हात राखेर टहलाइरहेका थिए । आज गंगाले रङ्गिन संसार देख्नेछ । भोलि बिहानैदेखि उसलाई समातेर डो¥याउँदै स्कूल पुग्नुपर्ने छैन । हिजोसम्म सुनेको संसार अब देखेर महसुस गर्नेछ गंगाले । अनेक कुराहरु खेलिरहेका थिए उनको मनमा । अनुहारमा थोरै चमक देखियो । उनी उठेर बरन्डातर्फ अगाडि बढे । बरन्डामा एक वृद्ध पुरुषको अर्धचेतन शरीर पल्टिरहेको थियो । कुनै वस्तुप्रति मोह, लालच, आकर्षण केहि नभए जस्तै गरी । आँखा भरि कचेरा भरिएका थिए । सायद उनलाई हेर्ने चाहाना छैन । जिन्दगीका अनगिन्ती भोगाइहरुबाट थिचिएका धनिरामका बुबाको मृत्युले बाटो खोजिरहेको थियो । उनी जीवनको अन्तिम चरणमा थिए । औषधीका सिसीहरु बेडको नजिकै रहेको टेबलमा छरपस्ट थिए । विस्तारा नजिकै भुँइमा एउटा कोपरा, पानीको बोत्तल र गिलास आफ्ना आफ्ना धुनमा लडिरहेका थिए । पाश्र्वतिर कताकता घुँक्क घुँक्कको कारुणिक नारी आवाज सुनिरहेको थियो । सायद तिनै बृद्धका लागि खसालिएको आँशु हुनुपर्छ त्यो । धनिराम सुइय ….. सुस्केरा छोड्दै विस्ताराको बिट पन्छ्याएर बसे बाबुको खुट्टापट्टि फर्केर ।

गंगा, जसको आज संसार देख्ने दिन । जन्मिएदेखि उसले आफ्नो आँखाले कालो चिज मात्र देखिरहेकी छ । मानौं संसारमा कालो चिज बाहेक अर्को कुनै रङ्ग छैन । छामेर मात्र कुनै रङ्गको महसुस गर्न सकिरहेकी छैन उसले । अनौठो परिकल्पना गरिरहेकी छ । हजुरबा, हजुरआमा, बुबा, मम्मी सबै कस्ता छन् ? गोरा या काला ? राम्रा या नराम्रा ? राम्रोसँग स्पर्श गर्न खोज्दा च्यातिने फूल आफ्नै आँखाले हेर्दा कस्ता देखिएलान् ? झ्यापुल्ले छाम्दा मोटै मोटो, भुत्लै भुत्ला लाग्ने भोटे कुकुरको रङ्ग कस्तो होला ? छाम्दा साह्रा लाग्ने गमलाको रुप कस्तो छ होला ? अनेक तर्कना खेलिरहेका थिए उसको मनमा । स्कुलमा पढ्दा सुनेको प्राकृतिक छटा, भौगोलिक सुन्दरता, वास्तविक रुपमा नै मैले देख्न पाउँछु त ? आहा…! यहि सोच्दा सोच्दै ऊ हजुरबालाई सम्झन्छे । एक छिन घोरिन्छे । धेरै दिनदेखि हजुरबाले ‘गंगा’ भनेको सुनेकी छैन उसले ।

डक्टरहरुको क्रमशः आगमन भयो । उनीहरुले तीन दिनदेखि विशेष कक्षको निर्माण गरिरहेका थिए । विभिन्न छलफल, विचार विमर्शपछि निर्णय निस्किएको थियो घरमै आँखा प्रत्यारोपण भनेर । हजुरबाको अन्तिम इच्छा अनुरुप घरमै उहाँका आँखा गंगामाथि प्रत्यारोपण गरिने भएको थियो । पचहत्तर असीको लामो समयसम्म निरन्तर काम गरेका बृद्ध आँखा जवान शरीरमा प्रवेश गर्ने प्रयत्न गरिरहेका थिए । लामो समय भएको थियो बृद्धले आँखा बन्द गरेको । प्रतीक्षारत थिए ती आँखाहरु सुन्दर संसार देख्नका लागि । आँखाको भूमिका अब परिवर्तन हुँदै थिए । बृद्ध शरीरले हेर्ने र बैंशालु चन्चले शरीरले हेर्ने दृष्टिकोण फरक हुने भएकोले आँखाले आफूलाई सुधार्न जरुरी हुन्थ्यो । भगवानका फोटो हेरिरहने आँखाले नव युवा तरुन तन्नेरीका अर्धनग्न तस्विर हेर्नुपर्ने थियो । त्यसैले आँखाले तपस्या गरिरहेका छन् । कुनै कार्यशालामा ब्यस्त छन् । तालिममा सक्रिय छन् फरक काममा लाग्नका लागि ।

हजुरबा आकाश कस्तो हुन्छ ? रुख कस्तो हुन्छ ? आगो कस्तो हुन्छ ? धुँवा कस्तो हुन्छ ? हजारौं प्रश्नको जवाफ दिएका थिए हजुरबाले गंगालाई । नीलो, हरियो, रातो, सेतो जस्ता शब्दको अर्थ बुझाउन नसक्दा खिन्न हुन्थे । गंगाको संसार हेर्ने अभिलाषा महसुस गर्न सक्थे उनी । गंगाका प्रश्नहरुले स्तब्ध बनाएपछि जसरी पनि नातिनीका आँखामा रोशनी ल्याउने प्रतिज्ञा गरेका थिए । काखमा घण्टौं राखेर सारा संसारको ब्याख्या गर्दा नथाक्ने ती हजुरबा आज विस्तारामा लडिरहेका थिए संसारलाई चिन्नै नसक्ने गरी । मम्मीको हात समातेर गंगा हजुरबाको छेवैमा पुगी ! हजुरबासँग धेरै प्रश्न सोध्न मन थियो । आज संसार देख्ने दिन । सबैलाई देख्न पाउनुपर्छ, तपाइँकै काखमा बसेर हजुरबा । यही भन्न चाहन्थी ऊ । तर …….। आफ्नो छातीमाथि हात राखेर बेस्सरी थिची । मुटुको ढुकढुकी एकनाशले बढिरहेको थियो । नजिकै लडिरहेका हजुरबाको एकाएक स्याँस्याँ बढ्न थाल्यो । सबै हजुरबाको विस्तारा वरिपरि भरिए । हजुरबाको धडकन छामे डक्टरहरुले । ढुकढुकीले अन्तिम विदाइ खोजिरहेको थियो आफन्तजनबाट । गंगालाई समातेर डक्टरहरुले विशेष कक्षतर्फ लैजान लागे । उसलाई अप्ठेरो लागिरहेको थियो अन्तिम अवस्थाका हजुरबालाई यो अवस्थामा छोडेर जान ।

हजुरबाको देहावसान भएको घोषणा भए लगत्तै गंगाले सुन्दर संसार देख्न थाली । बृद्ध शरीर र चाउरिएका छालाभित्र गडेका आँखा किशोरी शरीरमा टक्क अडिए ! बन्द आँखाका ढकनी क्रमशः खुले । कल्पना गर्नै नसकिने वातावरणको सिर्जना भयो । डक्टरहरुले ताली बजाए । खुशी मनाए । एकले अर्कौलाई बधाइ र धन्यवाद दिए । नयाँ आँखाका डिल हुदै गंगाका मनका काला आकृति पोखिए छताछुल्ल हुँदै भुइँभरि ! आफूले सोचे सम्झेभन्दा फरक दृश्य देखेर अत्तालिदैं, चिच्याउँदै गंगा बाहिर निस्की ।

‘हजुरबा ! अब देख्न सक्छु । रातो, कालो सबै चिन्न सक्छु । भुत्ले भोटे कुकुर, रङ्गीविरङ्गी फूल, सुन्दर माछा यी सबै प्रकृति हेरेर महसुस गर्न सक्छु । तपाइँले अब खिन्न हुनुपर्दैन हजुरबा !’ यही भन्न मन थियो गंगालाई । विस्तारामा हजुरबाको नश्वर देह ढलेको थियो कहिल्यै नउठ्ने गरेर । राता चुरा, पोते, अविर र श्रद्धान्जलीमा चढाइएका फूलहरु यत्रतत्र छरिएका थिए । छेवैमा रुदै घोप्टिएकी थिइन् हजुरआमा ।

माछा पौडेको पोखरी, सुन्दर बगैँचा र हजुरबाले सुनाएका सबै वस्तुहरु हजुरबाकै हात समातेर हेर्ने मन थियो । गंगाको आँखामा रोशनी आँउने कुरा सुन्दा रमाउने र खुशी हुने हजुरबाको मूर्दा शरीर उसकै अगाडि ढलेको थियो । नजिक बसेकी हजुरआमाले गंगाको आँखामा हजुरबाको लालित्य र प्यार खोजिरहेकी थिइन् । आँखाले फरक काम गर्न थालिसकेका थिए ।

हजुरबाको मृत्यु सँगसँगै गंगाको संसार उज्वलमय भएको थियो । ऊ देख्न सक्ने भएकी थिई । परिवारमा खुशी हुने वा रुने अन्योलको वातावरण सिर्जित भएको थियो । बाबु आमा छोरीको खुशीमा रमाएका थिए, हजुरआमा हजुरबाको नश्वर र जड शरीरमा माया पोखिरहेकी थिइन् । गंगा अमुक बनेर हेरिरहेकी थिई । गेटमा बाँधिएको कुकुर एकोहोरो भुकिरहेको थियो । घरको वातावरणले बृद्धको मृत्युलाईभन्दा गंगाको खुशीलाई प्राथमिकता दिए जस्तो लागिरहेको थियो । इमान्दार कुकुर वृद्ध मालिकको विदाइमा भुकी भुकी शोक मनाइरहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस