संविधान कार्यान्वयनका लागि काँग्रेसले जिप्नुपर्छ– देउवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संविधान कार्यान्वयनका लागि काँग्रेसले जिप्नुपर्छ– देउवा


२९ बैशाख २०७४, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि आगामी निर्वाचनमा काँग्रेसले जित्नैपर्ने बताएका छन् ।

चुनाव प्रचारप्रसार समितिले स्थानीय असनमा बिहिबार आयोजना गरेको ‘काठमाडौँ महानगरपालिकालाई यथार्थमा महानगर बनाउने प्रतिबद्धता’ सभामा उनले काँग्रेसको नेतृत्वमा संविधान जारी भएको र कार्यान्वयनको जिम्मा पनि काँग्रेसको काँधमा आएकाले निर्वाचन जित्नुपर्नेमा जोड दिए ।

सभापति देउवाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय निकायका जनप्रतिनिधि चयनका लागि स्थानीय तहको निर्वाचनको निकै महत्व छ भन्दै नगरको विकासका लागि प्रचारबाजीभन्दा पनि इमान्दारपूर्वक आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरे ।

उनले प्रजातान्त्रिक वातावरणमा जनतालाई मालिक बनाई दिगो शान्ति र समृद्धिको दिशामा मुलुकलाई अघि बढाउन काँगे्रसको नेतृत्व आवश्यक भएको बताए । पूर्वप्रधानमन्त्री देउवाले राष्ट्रिय एकता नै नेपालको राष्ट्रवाद भएको बताउँदै मधेसी, पहाडी र हिमाली सबैलाई एकताका सूत्रमा बाँध्नु नै अहिलेको आवश्यकता हो भने ।

कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले समृद्ध महानगर निर्माणका लागि काँग्रेसलाई जिताउनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रको संस्थागत विकास र देशलाई समृद्ध बनाउन काँग्रेस नेतृत्व अपरिहार्य भएको बताए ।

काठमाडौँ महानगरपालिकाका प्रमुखमा काँग्रेसका उम्मेदवार राजुराज जोशीले समृद्ध महानगरको प्रतिबद्धता सार्वजनिक गर्दै तत्कालै नगरलाई धुलोमुक्त बनाइने तथा पाँच वर्षभित्र काठमाडौँमा निःशुल्क वाइफाइको व्यवस्था र मेट्रो रेल चलाउने व्यवस्था गरिने बताए । महानगरपालिकामा काँग्रेसबाट उपप्रमुखका उम्मेदवार हरिप्रभा खड्गीले (श्रेष्ठ) ले सुन्दर, स्वच्छ, धुलोरहित महानगर बनाउन आफू लागिपर्ने बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस