मुस्ताङमा आन्तरिक पर्यटकले होटल भरिभराउ « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

मुस्ताङमा आन्तरिक पर्यटकले होटल भरिभराउ


८ बैशाख २०७४, शुक्रबार


मुस्ताङ । पर्यटकीय मौसम सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।

चैत महिनाको पहिलो सातादेखि पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ हुन थालेका हुन् । अनुकूल मौसममा मुस्ताङमा पोखरा–जोमसोम हवाई मार्गबाट समेत पर्यटक भ्रमणमा आउने गरेका छन् ।

फागुन अन्तिम सातादेखि असोज महिनासम्म मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम हो । माटोको सहर लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटका कारण मुस्ताङमा यो मौसममा हजारौँ आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।


माटोको सहर लोमान्थाङ, तिब्बती कला संस्कृति, मुक्तिनाथ, कागबेनी, दामोदरकुण्ड र फरक भू–बनोटका कारण मुस्ताङमा यो मौसममा हजारौँ आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।


पर्यटन याम सुरु भएसँगै मौसमले पनि साथ दिएका कारण एक महिनादेखि होटल भरिभराउ भइरहेको मुस्ताङका पर्यटन व्यवसायी खगेन्द्र तुलाचनले जानकारी दिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जिल्लामा भित्रिने आन्तरिक पर्यटकको तथ्याङ्क सङ्कलन नगरे पनि बाह्य पर्यटकभन्दा दोब्बर आउने गरेको जनाएको छ ।

खासगरी पछिल्लो तीन वर्षयता नेपालीमा बिदा, चाडपर्व र विशेष अवसरमा घुम्ने संस्कृतिको विकास भएका कारण जिल्लाको पर्यटन क्षेत्र अहिले आन्तरिक पर्यटककै भरमा सञ्चालन हुँदै आएको छ ।

“नेपालीहरु विदेशीजस्तो हरेक कुरामा बार्गेनिङ गर्दैनन्, पहिला हामी सेतो छाला गरेको मान्छेलाई मात्र पर्यटक भन्थ्यौँ”, मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका तुलाचनले भने– “तर, अहिले यहाँको अवस्था बदलिएको छ, धेरै दिनअघिदेखि नै हाम्रा होटल बुकिङ भइरहेका छन् ।”

नयाँ वर्ष मनाउन र चैतेदसैँ पर्वको अवसरमा मात्रै बेनी हुँदै सात हजार पर्यटक कागबेनी र मुक्तिनाथ पुगेको अनुमान गरिएको छ ।

“लेतेदेखि माथि मुक्तिनाथसम्म करिब १५० होटल सञ्चालनमा छन्, चैत महिनादेखि अहिलेसम्म कुनै दिन खाली छैनन्”, तुलाचनले भने– “एकदमै राम्रो व्यापार भइरहेको छ ।”

एक्याप जोमसोमका प्रमुख तुलसी दाहालले मुस्ताङमा पछिल्लो समय बाह्य तुलनामा आन्तरिक पर्यटकको चहलपहल बढी हुँदै गएको बताए । “चैतेदसैँको मौसममा भारतीय नागरिक पनि धेरै आए, तर उनीहरुकै हाराहारीमा नेपाली पनि आए”– उनले भने । रासस

Tags :
प्रतिक्रिया दिनुहोस