काठमाडौँ । निर्वाचन आयोगले यसपटकको मतदाता शिक्षा केवल मतदानका लागि मात्र नभएर उम्मेदवार बन्न र निर्वाचित भएपछि कामको जिम्मेवारी बहन गर्नसक्ने ढङ्गबाट प्रदान गर्ने भएको छ ।
त्यसका लागि आयोगले निर्वाचनसँग सम्बन्धित कानुन, निर्देशिकासहित ५४ लाख थान हाते पुस्तिका, पम्प्लेट र नमुना मतपत्रको मुद्रण गर्ने तयारी गरेको छ ।
आयोगका सहसचिव नवराज ढकालका अनुसार मतदान शिक्षाका लागि प्रत्येक मतदान केन्द्रमा कम्तीमा पनि एक जना स्वयम्सेवक खटाइनेछ । मतदानमा कोही नछुटून् र कोही पनि नदोहोरिउन् भन्ने उद्देश्यले आयोगले पत्रपत्रिका, रेडियो, टेलिभिजनका अतिरिक्त यसपटक सामाजिक सञ्जाल फेसबुक, ट्वीटर तथा मोबाइल एप्पको पनि प्रयोग गरेर मतदाता शिक्षालाई प्रभावकारी तुल्याउने योजना बनाएको छ । मतदाता शिक्षा राष्ट्रिय भाषामा मात्र नभएर स्थानीय र क्षेत्रीय भाषामा पनि प्रदान गरिनेछ ।
आयोगले यसपटकको निर्वाचन २०५४ सालको जस्तो स्थानीय निकायको मात्र नभएर नयाँ संविधानअनुसारको संरचनाको गठन र स्थानीय सरकार निर्माणसँगै क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्वको सुनिश्चितासँग जोडिने भएकाले निर्वाचनको दायित्वलाई चुनौती र अवसरका रुपमा लिएको छ ।
समानुपातिक र समावेशी सिद्धान्तलाई आत्मसात् गरेको यसपटकको निर्वाचन उम्मेदवारी दिने मात्र होइन, कतिपय वर्ग र समुदायका लागि पहिलोपटक जित्ने अवसरका रुपमा पनि रहनेछ । त्यसैले पनि आयोगले मतदाता शिक्षालाई देशैभर मतदाताको घरदैलोमा सघन ढङ्गबाट लैजाने जनाएको छ । कतिपय स्थानमा आयोगले नमुना मतदान गरेर पनि मतदातालाई शिक्षित तुल्याउने योजना बनाएको छ ।
स्थानीय निकायको निर्वाचनका लागि करिब २१ हजार मतदान केन्द्र हुने प्रारम्भिक अनुमान गरिएको छ । मतदाता शिक्षाका लागि सामाजिक परिचालक, मातृशिशु सुरक्षा कार्यक्रममा सहभागी र शिक्षकलाई खटाउने आयोगको सोच छ ।
मतदाता शिक्षा दिलाउन खटिने २१ हजार स्वयम्सेवीलाई प्रशिक्षण दिन आयोगले ३५४ जनालाई तालिम प्रदान गरिसकेको छ । आयोगले मतदाता शिक्षाका लागि रु ३५ करोड खर्च लाग्ने जनाएको छ । केही जिल्लामा सामुदायिक विद्यालय एकीकृत भएका र कतिपय स्थानमा जनसङ्ख्या वृद्धि भएका कारण विगतमा रहिआएका मतदान केन्द्रका बारेमा पुनर्विचार गर्नुपर्ने अवस्था रहेको आयोगको भनाइ छ ।
जिल्लामा दर्ता भएका राजनीतिक दलको सङ्ख्यालाई आधार मानेर आयोगले स्थानीय निकायको निर्वाचनका लागि छ प्रकारका मतपत्रको छपाइ गराइरहेको छ । स्थानीय निकायको निर्वाचनमा कुनै पार्टी विशेषमा मतदान गर्ने मतदाताले पार्टीको चिह्न अङ्कित एउटै लहरमा सात स्थानमा तथा स्वतन्त्रका लागि भने मतपत्रमा उल्लेखित चिह्न हेरेर स्वस्तिक चिह्न लगाउनु पर्नेछ ।
मतपत्र लामो भएकाले एक जनालाई स्थानीय निकायको निर्वाचनमा मतदान गर्न कम्तीमा पनि एकदेखि साढे दुई मिनेट समय लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । आयोगले मतदाता नामावलीको अन्तिम अद्यावधिको काम यही चैत २१ गतेसम्म पूरा भएपछि मतदाता नयाँ मतदाता परिचयपत्रको मुद्रण गर्नेछ । यसपटकको निर्वाचनमा एक करोड ४० लाख मतदाता हुने अनुमान गरिएको छ । नयाँ मतदाता परिचयपत्र विगतको भन्दा निकै गुणस्तर र प्रविधिमैत्री रहने सहसचिव ढकालले जानकारी दिए ।
नयाँ मतदाता परिचयपत्रको वितरण कार्य निर्वाचन हुने दिन आगामी वैशाख ३१ गतेभन्दा दुई दिनअघि नै सम्पन्न हुनेछ । आयोगले अहिले मतपत्र, मसी, मतदान केन्द्र र मतदाता शिक्षाको व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ ।