निकुञ्जको गैंडा शुक्लाफाँटा पठाउने निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निकुञ्जको गैंडा शुक्लाफाँटा पठाउने निर्णय


१६ चैत्र २०७३, बुधबार


चितवन । चितवन राष्ट्रिय निकुन्जको पश्चिम क्षेत्र सुखिभारबाट दुर्लभ मानिएको एकसिंगे गैंडा कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पठाइने भएको छ ।

गैंडा स्थानान्तरणका लागि बनेको कार्यदल र सरोकारवाला प्रतिनिधिबीच गैंडाको बासस्थान क्षेत्रको स्थलगत अध्ययन तथा निरीक्षणपछि सुकिभार क्षेत्रबाट गैंडा पठाउने निर्णय भएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

मङ्गलबारको स्थलगत अध्ययनमा सो क्षेत्रमा मात्रै १४ वटा गैंडा भेटिएको थियो । प्रसस्त घाँसे मैदान र पानी भएकाले सुखिभार क्षेत्र गैंडाका लागि सबैभन्दा उपयुक्त बासस्थान हो । सो निर्णयसँग आजदेखि नै सुखिभार क्षेत्रमा गैंडाको डाटका लागि फिल्डमा तयारीको काम थालिएको छ ।

‘स्थानान्तरणका लागि उपयुक्त क्षेत्र र समथल भूभाग भएकाले डाट गर्ने क्रममा गैंडा भाग्यो भनेपनि सुखिभारमा कुनै जोखिम छैन, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने, “सो क्षेत्रमा हात्ती लगेर खाल्डाखुल्डी हेर्न समेत निर्देशन भएको छ ।”

उनका अनुसार गैंडा स्थानान्तरणमा प्रयोग हुने ३० हात्तीका लागि चाहिने सामग्रीहरु चैत १८ भित्र लगिसक्ने, वन्यजन्तु प्राविधिक र चिकित्सक सहितको टोली चैत १९ गते नै सुखिभार पोष्टमा जाने, सो क्षेत्रमा जाने बाटोहरु तत्कालै मर्मत गर्ने निर्णय भएको छ ।

शुक्लाफाँटामा पाँचवटा गैंडा लैजानका लागि चितवन निकुञ्जमा यही चैत २१ गतेबाट गैंडा नियन्त्रणको डाट गर्ने प्राविधिक सहितको टोली परिचालन हुँदैछन् । अघिल्लो बर्ष बर्दियामा पाँच गैंडा स्थानान्तरण भएको थियो ।

स्थानान्तरण भएको गैंडाको सुरक्षामा ध्यान नदिएको भन्दै सौराहाका संरक्षणकर्मीहरुले भने चिन्ता व्यक्त गरेका छन् ।

गैंडा संरक्षण अभियानका संयोजक जितु तामाङले गैंडा संरक्षणभन्दा स्थानान्तरणमा बढी ध्यान गएको भन्दै संरक्षणमा ध्यान केन्द्रित गर्न अपिल गर्नुभएको छ ।

चितवन निकुञ्जमा हाल ६०० भन्दा बढी गैंडा छन् । शुक्लाफाँटामा नौवटा गैंडा गणना गरिएको छ । सन् २००० मा शुक्लाफाँटामा चार गैंडा पठाइएको थियो । नेपालमा पछिल्लो गणनामा गैंडाको सङ्ख्या ६४५ छ । रासस

प्रतिक्रिया दिनुहोस