दश करोडको मुला बिक्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दश करोडको मुला बिक्री


१६ चैत्र २०७३, बुधबार


नुवाकोट । कम खर्चमा मनग्य आम्दानी गर्न सकिने भएपछि यहाँका किसान मुलाखेतीतर्फ आकर्षित भएका छन् ।

चालु आवको आठ महिनामा जिल्लामा आठ हजार ३१७ मेट्रिक टन मुला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा. कमलराज गैरेले जानकारी दिए । सो परिमाणको मुला बिक्री गरी नौ करोड ९८ लाख भित्रिएको उनले बताए ।

आव २०७२/७३ मा सात करोडको मुला उत्पादन भएको कार्यालयले जनाएको छ । स्थानीय बजारमा मुला अहिले प्रतिकिलो १० देखि १२ मा बिक्री भइरहेको छ । यहाँ उत्पादन भएको मुला काठमाडौँसम्म पुग्ने गरेको छ ।

अन्य बालीको तुलनामा खेती लगाउन, हुर्काउन सजिलो हुँदा किसान मुलाखेतीतर्फ आकर्षित भएका हुन् । मुला ४० दिनदेखि ६० दिनमा तयार हुन्छ । जिल्लाको माथिल्लो क्षेत्रमा अन्य बाली उत्पादनमा ढिलाइ हुँदा किसान मुलाखेती गर्दैआएका छन् ।

जिल्लाको ककनी, ओखरपौवा, मदानपुर, बेलकोट, चाउथे कुमरी, किम्ताङलगायत ठाउँलाई जिल्ला कृषि कार्यालयले पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस