गङ्गासागर सफाइ अभियन्ता आर्त हृदयले गाउँदै छ – माँ हे, गङ्गा तिम्रो आरती …………. « प्रशासन
Logo १० आश्विन २०७८, आइतबार
   

गङ्गासागर सफाइ अभियन्ता आर्त हृदयले गाउँदै छ – माँ हे, गङ्गा तिम्रो आरती ………….


१४ चैत्र २०७३, सोमबार


जनकपुरधाम । विभिन्न समस्याले उत्पन्न निसास्सिँदो अवस्थामा वातावरणीय स्वच्छता र संस्कृति रक्षा अभियानको सफलताको कुरा कल्पना मात्र हुन सक्ने मान्यतालाई गलत सावित गराएका छन् यहाँका एक अभियन्ताले ।

सभ्यता, संस्कृतिको प्रतीकलाई बेपर्बाह कदमको रूपमा अङ्गालेको परिदृश्यमा आफ्नो मस्तिष्कमा महान् सङ्कल्पको तस्बिर निर्माण गरी त्यसलाई मूर्तरूप दिनमा सफलता हासिल गरेका छन् ती अभियन्ताले ।

पर्यावरणीय र सांस्कृतिक गतिहीनताको शिकार भएको ‘गङ्गासागर’मा सफाइ र गङ्गा आरतीको अभियान सञ्चालन गरी त्यसलाई जनकपुरधामको धार्मिक पर्यटकीय केन्द्र बनाउन सफलता हासिल गर्ने अभियन्ता हुन– पत्रकार रामअशीष यादव ।


गङ्गासागरको उद्भव मिथिलाको उत्पत्तिसँग भएको उल्लेख विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ ।


वि.सं. २०७० मा नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको सभापतित्वको कार्यकाल सम्पन्न भएपछि यहाँको परिवेश, पात्र र क्रियाकलापमा आधारित परिवर्तनका सन्दर्भमा उनले फागुन ११ गते गङ्गासागरमा सफाइ अभियान सञ्चालन गर्ने योजनालाई विभिन्न क्षेत्रको सहयोगमा मूर्तरूप दिए ।

अभियान सञ्चालन अघि मूर्ति सेलाउने, घरका फोहर फाल्ने, वरिपरि दिसा गर्ने, लागुऔषध सेवन गर्ने क्रियाकलापले गङ्गासागर सङ्क्रमित रहेको थियो ।

हुन त जनकपुरधामलाई कुटी, कुण्ड, मठमन्दिर र सरोवरको नगरी भनिए पनि गङ्गासागरमा जनकपुरधामको गौरवमय इतिहास लुकेको बताइन्छ । गङ्गासागरको उद्भव मिथिलाको उत्पत्तिसँग भएको उल्लेख विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ । गङ्गासागरलाई जनकपुरधामका सरोवरमध्ये सबैभन्दा जेठो सरोवर पनि भनिन्छ ।

यसमा गङ्गा, यमुना, सरस्वती र सदासिन्धुको जल मिश्रण भएका कारण निमि, मिथि, जनक, सीताले नित्य स्नान र ब्रह्मा, विष्णु, महेश, देव ऋषिले चरणामृत पान गर्ने गरेको ग्रन्थमा उल्लेख छ ।

सो सागरमा मृत्यु संस्कार गर्नेले नुहाउने र डिलमा श्राद्ध क्रिया गर्ने चलन पनि रहेको छ । अभियन्ता यादव भन्छन् – लेखनका माध्यमले सचेत गराउने प्रयास गरिए पनि सो स्थलमा कुनै परिवर्तन नआएपछि सकारात्मक सोच र सहयोगी भावना लिई स्वच्छ, सुन्दर र आरतीको यात्रामा हरेक क्षेत्रका व्यक्तित्वलाई सहभागिताका लागि गरिएको आह्वानले सार्थकता ग्रहण गरेका कारण साँझ सो स्थलमा सबैले गाउने गर्छन् – आर्त हृदयसँ गाबी माँ हे, गङ्गा तिम्रो आरती……..(आर्त हृदयले गाउँदै माँ हे, गङ्गा तिम्रो आरती) ।

सो स्थल हाल आकर्षणको केन्द्र बन्न पुगेको

अभियन्ताद्वारा सो स्थलमा स्वच्छ र सुन्दर अभियानअन्तर्गत वि.सं. २०७१ जेठ २५ गते गङ्गा आरतीको थालनी गरिएपछि वेद, पुराण, उपनिषद्, गीताका प्रसङ्ग जीवन्त भएको अनुभूति हुन थालेको छ ।

भारतको काशीझैँ हुने गरिएको गङ्गा आरतीअन्तर्गत धार्मिक, सांस्कृतिक र वातावरणीय दृष्टिकोण र पर्यटनको विकाससमेत गन्तव्यका रूपमा लिइएको छ ।

काशीको आरतीमा गङ्गा मातालाई मात्र आरती गर्ने चलन छ भने गङ्गासागरको गङ्गा आरतीमा जलकी देवी गङ्गा र धरतीकी देवी सीताको आरती र प्रकृतिको पूजा गर्ने गरिएका कारण पनि प्रसिद्धि कमाउन सफलता प्राप्त भएको बताइन्छ ।


काशीझैँ केही विलक्षणता जनकपुरधाममा पनि पाइन्छ ।


भनिन्छ, ईश्वरले यस पृथ्वीमाथि तीर्थस्थलको सृष्टि गर्दा अयोध्यालाई मस्तक र काशीलाई नाकसरह बनाए जस्तै यी दुवैको शोभा र सुन्दरतामा अभिवृद्धि गर्न तिलकस्वरूप जनकपुरधामको निर्माण गरेका कारण पनि यस स्थललाई गङ्गा र सीताको आरती र प्रकृति पूजाले विशेष महत्व प्रदान गरेको छ ।

काशीझैँ केही विलक्षणता जनकपुरधाममा पनि पाइन्छ । काशीमा उत्तरायणी गङ्गा प्रवाहित छ भने यहाँ गङ्गासागर रहेको छ । त्यस्तै दुबै प्राचीन नगर शास्त्रीय विद्या र ज्ञानको केन्द्र रहिआएका छन् । काशी महादेवको त्रिशूलमाथि अवस्थित छ भने यहाँ चारैतर्फबाट महादेवको प्रभामण्डलबाट संरक्षण रहेकाले पनि गङ्गा आरती विलक्षणताको स्वरूप ग्रहण गर्न पुगेको विश्वास पाइन्छ ।

वरिष्ठ पत्रकार एवम् साहित्यकार रामभरोस कापडी गङ्गा आरती पोखरी संरक्षणप्रति जागरूकतासमेत भएको र आरतीका बेला गङ्गासागरमा उपस्थित हुँदा साक्षात् गङ्गाको डिलमा उपस्थितको अनुभूति हुने गरेको बताउछन् ।

गङ्गा आरतीमा भारतका विभिन्न स्थानबाट आएका पर्यटकको सहभाागिता उल्लेखनीय हुने गरेको छ भने अमेरिका, चीन, जापान, थाइल्यान्ड, श्रीलङ्का, मलेसियालगायतका तेस्रो मुलुकका पर्यटकको पनि आकर्षण देखिएको छ ।

गङ्गासागरमा भएको सकारात्मक परिवर्तनको असर यहाँका अन्य धार्मिक पोखरी धनुषसागर, अङ्गराज सर, जानकी सरोवर र धार्मिकस्थल मणिमण्डप र धनुषाधाममा पनि परेको छ । यी प्रदूषित र अस्तित्वविहीन हुन पुगेको पोखरी र सम्पदाको संरक्षणका साथै सौन्दर्य थप्ने स्थानीय बासिन्दाको अग्रसरताले सम्पदा संरक्षणमा आशाको लहर सञ्चार गरेको छ ।

सोही अभियानको प्रभावअन्तर्गत विभिन्न स्थलमा एक लाखभन्दा अधिक आँपको वृक्ष रोपिएका छन् । सौन्दर्य र वातावरणीय सन्तुलनका सन्दर्भमा नारायण राउतको अध्यक्षतामा मणिमण्डप संरक्षण समितिको गठन गरी गुरुयोजनासमेत निर्माण गरिएको छ । गुरुयोजनाअन्तर्गत सीता बाटिका, जनक दरबार र धर्मशालाको निर्माण गर्ने सङ्कल्प लिइएको छ ।

त्यस्तै, धनुषाधाम वरिपरिका महत्वपूर्ण स्थलको संरक्षणका लागि नारायण राउतको नेतृत्वमा समिति गठनका साथै धनुषदह निर्माण सन्दर्भमा राष्ट्रपति चुरे कार्यक्रममार्फत एक करोड १० लाख र धनुषाधाम संरक्षणका लागि वन निकायबाट एक करोड ८८ लाख रकमको व्यवस्थापन पनि गरिएको बताइन्छ ।

मानवीय संवेदना भनेकै धर्म हो र धर्म भनेको सेवा हो भन्ने मूल सूत्रलाई मनन गर्दै जनसहभागितामा आधारित अभियानलाई ‘सेभ द हिस्टोरिकल जनकपुरधाम’ नामले संस्थागत गरी ‘स्वच्छ जनकपुरधाम र सुन्दर जनकपुरधाम’ नारासहित आस्थावान्द्वारा गरिएको दानबाट गङ्गा आरती, सफाइ र सौन्दर्य थप्ने अभियानलाई निरन्तरता दिइएको बताइन्छ ।


दानबाटै गङ्गासागरको घाटमा मार्बल लगाउने र घाट संरक्षणका कार्य र भौतिक पूर्वाधार निर्माण भइरहेको छ ।


दानबाटै गङ्गासागरको घाटमा मार्बल लगाउने र घाट संरक्षणका कार्य र भौतिक पूर्वाधार निर्माण भइरहेको छ । दिनहुँ एक हजारभन्दा अधिक श्रद्धालु र पर्यटकको सहभागिता हुने गङ्गा आरतीमा पोखरी सफाइका लागि तीन जना सहयोगी र पूजाका लागि छ वटा पुजारीको व्यवस्थापन गरिएको र आरतीलगायत चरा र भौतिक संरक्षणमा महिनामा रु ८० देखि ९० हजार रकम खर्च हुने गरेको जनाइएको छ ।

स्थानीय बासिन्दाको दिनचर्या बन्न पुगेको सो सागरमा आरतीका क्षण पोखरीमा गरिने दीप प्रज्वलन पर्यटकका लागि महत्वपूर्ण क्षण हुने गरेको छ । आरतीमा धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमा गरिने अभिवादनले सेवा एउटा अनिवार्य कर्तव्य भएको तथ्यलाई परिणाममुखी बनाएको दायित्व बोध पनि गराउने गरिएको छ ।

क्रियाशीलताले स्वर्गमय बनाउन सकिने अनुपम उदाहरण बनेको गङ्गासागरको गङ्गाआरती र पोखरीको संरक्षण, सौन्दर्यकरणको अभियान ‘हीरा’ कोइला फोडेर निस्कन्छ र ‘मोती’ गहिराइमा पुगेपछि मात्र भेटिन्छ भन्ने पाठ सिकाएको अभियन्ता यादवको ठम्याइ छ ।

सन् १९९४ मा भारतमा राजीव गान्धीले थालनी गरेको गङ्गा सरसफाइको अभियान र नेपालको बाग्मती नदी सरसफाइ अभियानको पाठले आफूलाई पर्यावरणीय समस्यातर्फ ध्यानाकृष्ट गराएको बताउँदै उनी भन्छन्– आगामी दिनमा गङ्गासागरमा घेरा लगाउने, डुङ्गा रोकिने केन्द्र, हाँस घर र वाटर म्युजिकल फाउन्टेन बनाउने योजना रहेको छ ।

नेपालका प्रथम गणतान्त्रिक राष्ट्रपति डा. रामवरण यादवदेखि विदेशी कूटनीतिज्ञ, राष्ट्रका विशिष्ट व्यक्तित्वसमेतको सहभागिता भइसकेको सो आरती संरक्षण कार्यका लागि हालसम्म सरकारी सहयोग प्राप्त नभए पनि साहसको सञ्चारले अभियन्ता गन्तव्यतिर अग्रसर हुँदै गाइरहेका छन् – इएह छी हमर जनकपुर, सीताके जनकपुर, जनकक गाम जनकपुर……………(यही हो हाम्रो जनकपुर, सीताको जनकपुर, जनकको गाउँ जनकपुर) ।

Tags :
प्रतिक्रिया दिनुहोस