पोखरा। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले देशमा बढ्दै गएको विकृतिको अन्त्यका लागि तीनै तहको निर्वाचन अपरिहार्य भएको बताएका छन् ।
नेपाल मुस्लिम इत्तेहाद सङ्गठन कास्कीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले कुनै एक पार्टीले बहुमत नल्याउँदा सरकार बनाउने र ढाल्ने प्रवृत्ति रहिरहेकाले राजनीतिक स्थायित्वका लागि अब कुनै एक पार्टीले बहुमत ल्याउनै पर्नेमा जोड दिए ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गएको चर्चा गर्दै उनले जनताले पत्याएका र लोकप्रिय नेता तथा कार्यकर्ताले नै निर्वाचनमा टिकट पाउने र यसमा केन्द्रबाट कुनै दबाब नदिइने विश्वास दिलाए ।
मधेस, पहाड र तराईलाई छुट्याउने गरी पेस गरिएको संशोधनमा एमालेले समर्थन गर्न नसक्ने बताउँदै उनले हिन्दी भाषालाई कामकाजको भाषा र अङ्गीकृत नागरिकता लिएकालाई राज्यका प्रमुख पदमा पुर्याउने प्रस्तावलाई एमाले साथ नदिने दृढता व्यक्त गरे । रासस