नेपाल शिक्षक संघको जिल्ला अधिवेशन चलिरहेको छ । महाधिवेशनको मिति नतोकिएको भएपनि लोकतन्त्रवादी शिक्षकहरु छिटो भन्दा छिटो जिल्ला अधिवेशन सकाएर राष्ट्रिय महाधिवेशनको तयारीमा छन् ? चैतसम्ममा जिल्ला अधिवेशन सक्ने भनिएपनि स्थानीय निर्वाचनको घोषणासंगै संघको अधिवेशनमा केही ढिलाई हुने देखिन्छ । यसै सन्दर्भमा प्रशासन डट कमका विशेष प्रतिनिधि सिद्धराज उपाध्यायले शिक्षक संघका उपाध्यक्ष विष्णुदेवी पाण्डेसँग नेपाल शिक्षक संघको अधिवेशनमा रहेर कुराकानी गर्नुभएको छ । प्रस्तुत छ सम्बादको सम्पादित अंशः
जिल्ला अधिवेशनको चटारो कतिको छ ?
जिल्ला अधिवेशनको तयारी धमाधम चलिरहेको छ । चार बर्षको दौरानमा भएकोले पनि यतिबेला सबै साथीहरु उत्साहका साथ लागिरहेका छन् । अहिले यही अधिवेशनकै क्रममा छौं हामी ।
कति जिल्लामा नेतृत्व छनौट गरिसक्यो र कति जिल्लामा बाँकी छ ?
३९ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ ।
अन्य जिल्लाहरुमा कहिले सम्म सकिन्छ ?
चैतको १५ गते भित्र सक्ने हाम्रो विधानतः व्यवस्था हो । तर यो राष्ट्रिय परिवेशका कारण त्यो समयमा सम्भावना अलि कम देखिन्छ ।
नेतृत्व चयनका लागि कतिको सहजै भयो, चुनावै गर्नुपर्यो कि सहमतिबाट छनौट गरिए ?
लोकतान्त्रिक पद्धतिमा चुनाव हुनु राम्रो कुरा हो । प्रतिस्पर्धामा जाने र चुनावकै माध्यमद्वारा धेरै साथीहरु विजयी भएका छन् । धेरै जिल्लाहरु अहिले सहमतिमा पनि गएका छन् ।
महाधिवेशनमा महिला प्रतिनिधित्व कस्तो छ ?
संख्याको आधारमा डेलिकेट ल्याउने कुरा विधानतह व्यवस्था छ । संघीय महाधिवेशनका लागि, प्रदेश महाधिवेशनका लागि सीमा नै तोकिएको छ । यति संख्या बरावर यति जना भनेर महिलाहरुले आरक्षण गरेका छन् । यद्धपी जिल्लातहमा शिक्षक संघ भित्र नै शिक्षण पेसामा महिलाको संख्या कम भएका कारणले महिलाहरुको उपस्थिति कमी त महसुस हुन्छ नै तर बिगत भन्दा केही उत्साहजनक छ ।
महिलाहरु नेतृत्व तहमा पुग्न निकै गाह्रो छ, खासमा शैक्षिक क्षेत्रमा कस्तो छ ?
गाह्रो महिलालाई मात्र होइन, पुरुषलाई पनि छ । हाम्रो जस्तो परिवेशमा साच्चिकै नेतृत्व दिने हो, नेतृत्वमा पुग्ने हो भने पुरुषलाई पनि निक्कै गाह्रो छ । महिलालाई गाह्रो होइन हेर्ने कमजोर ढंगको दृष्टिकोणले त्यस्तो हुन गएको हो, नत्र गाह्रो खासै केही होइन । यद्धपी आफ्नै परिवेशको कुरा गर्नुपर्दा सामाजिक रुपमा, आर्थिक रुपमा, राजनीतिक रुपमा त महिलाहरुको अवस्था अलिकति देखिन्छ नै । हाम्रो मुलुकको धार्मिक, सांस्कृतिक तथा राजनीतिक अवस्थाले बनाएको कमजोरी हो ।
यस परिवेशका बाबजुत पनि महिलाहरुलाइ कसरी अगाडि बढाउने त ?
अहिलेको परिवेश हिजो जस्तो छैन । मुलुकमा लोकतन्त्र आइसकेको छ । महिलाहरुको हक अधिकार सुनिश्चित भइसकेको अवस्था छ । ५१ दशमलब १३ प्रतिशत महिलाहरु जनसंख्याको आधारमा पनि छन् । बाँकी ४९।८७ ले नेतृत्व गरेर पुरै मुलुकको विकास हुन सक्दैन । त्यसैले मुलुकको समग्र विकासको निमित्त पनि त्यही हाराहारीमा जान जरुरी छ ।
राष्ट्रिय महाधिवेशन कहिले हुन्छ ?
राष्ट्रिय महाधिवेशन बैशाखलाई तोकेका थियौं । स्थानीय चुनावको घोषणा भएको छ । त्यसैले यो परिवेशमा हाम्रो पहिलो प्राथमिकता आफ्नो अधिवेशन भन्दा पनि राष्ट्रिय चुनावतिर ध्यानाकर्षण गर्नु पर्ने भएका कारणले ठ्याक्कै टुंगो चाहिं लगाईसकेका छैनांै । यद्यपी जिल्लाहरुको अधिवेशनपछि महाधिवेशनको टुंगो लाग्ने छ ।
को–को छन् त प्रतिस्पर्धामा ?
प्रतिस्पर्धामा त धेरै हुनुहुन्छ महत्वकांक्षी । राष्ट्रिय कार्य समितिको महत्वपूर्ण पदमा बसेर काम गरेका साथीहरु दौडमा हुनुहुन्छ ।
तपाइ पनि आकांक्षी देखिनु भएको छ ? के हुन् तपाइँका एजेण्डाहरु ?
म आकांक्षी होइन । मेरो आवश्यकता हो । महिलाहरुलाई पनि अगाडि बढाउनुपर्ने मुलुककै आवश्यकता हो र अहिलेको बातावरण पनि राज्य सञ्चालनको महत्वपूर्ण पदहरुमा समेत महिलाहरु आएको अवस्था छ । अन्य सबै क्षेत्रमा महिला आएका कारणले शैक्षिक क्षेत्रमा पनि महिला नै आउनु पर्छ भन्ने त होइन यद्दपी म आफैं नेपाल शिक्षक संघको अध्यक्ष पछिको सिनियर पर्सन भएकोले पनि अबको नेतृत्व मैले सम्हाल्नु पर्छ भन्ने मेरो मान्यता हो ।
जहाँसम्म एजेण्डाको कुरा गर्नुभयो मेरो भन्नुभन्दा पनि संस्थागत एजेण्डाहरु भन्दा सान्दर्भिक हुन्छ जस्तो लाग्छ । नेपाल शिक्षक संघ यो मुलुकको सबैभन्दा ठुलो लोकतन्त्रवादी शिक्षकहरुको साझा संस्था हो । जहाँ ८० हजार शिक्षकहरुसमाहित भएका छन् । त्यसैले पहिलो प्राथमिकता भनेको यो मुलुकको लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्बद्र्धन गर्नेकुरा आमनेपाली शिक्षकको दायित्व भित्र पर्छ । यसको सँगसँगै यो मुलुकको शिक्षाको विकासको निमित्त पनि हामीले अगाडि बढ्न जरुरी छ । हिजोको शिक्षा पद्धतिले अबको मुलुकलाई परिवर्तन गर्न सक्दैन । समय सापेक्ष शिक्षाको व्यवस्था गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता हो ।
बालिकाको आवश्यकता अनुरुपको शिक्षाको व्यवस्था गर्नुपर्ने अर्को महत्वपूर्ण पाटो छ । विद्यालयभित्र गुणस्तरीय शिक्षा दिन र गुणस्तरीय शिक्षक भित्र्याउनको लागि पनि शिक्षक संघको महत्वपूर्ण भूमिका हुने हुँदा त्यसैमा पहिलो जोड रहन्छ । गुणस्तरिय शिक्षामार्फत यो मुलुकको विकास गर्ने हाम्रो प्रथमिकता रहेको कारणले एकतिर छ भने अर्कोतिर समग्र महिला शिक्षकहरुलाई पनि आत्मबल बढाउन उत्तिकै जरुरी छ ।
म आफैं महिला भएको कारणले महिलाको आत्मबल बढाउने तथा महिलाका मुद्धाहरु शसक्त ढंगले अगाडि बढाउन सकिन्छ भन्नेमेरो भनाइ हो । त्यो काम देखाउनको निमित्त पनि मेरा ति योजनाहरुलाई अगाडि सार्दै छु ।
धेरै जिल्लामा पनि पुग्नुभयो, जिल्लातिरका साथीहरुको भावना कस्तो पाउनु भएको छ ?
असाध्यै माया गरेका छन् । सद्भाव छ । यो व्यक्तिगत मात्रै होइन संस्थागत रुपमा पनि हो । एउटा महिलालाई नेतृत्वगत रुपमा पठायो भने अझ धेरै सुधार गर्न सकिन्छ भन्ने उनीहरुको चाहना पनि हो । म हिजो कार्यकारी पदमा बसेर काम गर्दादेखि नै सबै साथीहरुले मलाई चिनेका छन् । म शिक्षक संघको कोषाध्यक्ष हुँदा नै शिक्षक संघको भवन बनेको हो । मेरै प्रयासमा बनेको हो । जुन आमनेपाली शिक्षकहरुले देखेका छन् । शिक्षकहरुको व्यवस्थापन गर्ने कुरा अर्को महत्वपूर्ण छ । कति सदस्य छन् भन्ने कुरा अद्यावधिक गर्ने कुरा पनि म कोषाध्यक्ष हुँदा सुरु गरेको हो । शिक्षकहरुले सहकारीमार्फत अगाडि बढ्नुपर्छ है भनेर योजना अघि सार्नेमा पनि म नै थिएँ । यी तिनै योजनाहरु अहिले नेपाल शिक्षक संघ भित्र असाध्यै राम्रो गरेर फष्टाएका छन् । यि त मैले गरेका प्रयास र सफलताहरु भए अब यिनैलाई थप सुदृढ गर्दै शिक्षकको हकहितमा अरु योजनाहरु ल्याउन जरुरी छ । हिजो कोषाध्यक्ष भएर काम गर्दादेखि आज उपाध्यक्ष रहँदासम्मको अवस्थामा पनि सँगसँगै भएकोले सबै साथीहरुले जिल्लामा राम्रै रेस्पोन्स गरेका छन् । अबको नेतृत्व तपाइले लिनुपर्छ है बिष्णु दिदी भनेर भन्ने साथीहरुको जमात व्यापक छ ।
हुन त नेपाल शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो, राजनीतिक हस्तक्षेप कतिको हुन्छ ?
नेपाल शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो । अन्य नेविसंघ, तरुणदल, महिलासंघ जस्तो नेपाली कांग्रेसले प्रत्यक्ष हस्तक्षेप नेपाल शिक्षक संघलाई गर्दैन । तर पनि आफ्नो साथीभाइ इष्टमित्रको शुभेच्छा त सबैले गरिरहेको हुन्छ नै । साथ सहयोग गर्ने भइ नै हाल्छ त्यसलाई प्रत्यक्ष हस्तक्षेप भन्न मिल्दैन । त्यो उहाँहरुले गर्ने शुभेच्छा हो । त्यो शुभेच्छा जसले पनि गर्न सक्छ । यो भइदिए हुन्थ्यो भन्ने जसले पनि राख्न सक्छ ।
तपाइँको पक्षमा त्यस्तो केही शुभेच्छा होला नि त ?
त्यस्तो खासै केही छैन । हरेक हिसावले मलाई त रही नै हाल्ने भयो नै । हाहाहाहा….. । त्यति हो, अरु छैन ।
केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ र सार्कमा पनि उपाध्यक्ष हुनुहुन्छ खासगरी नेपालको शिक्षा क्षेत्रमा देखिएको तत्काल सुधार्नुपर्ने पक्ष के देख्नुहुन्छ ?
यदि यो मुलुकको विकास गर्ने हो भने त्यो शिक्षाबाट हो । जबसम्म शिक्षाको विकास हुँदैन तबसम्म यो मुलुकको विकास हुँदैन । यो आमनेपाली जनताले र विशेषगरी तपाइँहरु जस्ता पत्रकारहरुले पनि बुझ्न जरुरी छ तर आज मुलुकले शिक्षामा लगानी गरेको छैन । जति पनि विकसित देशहरु हेर्नुहोस् सबैले शिक्षामा लगानी गरेका छन्, तर नेपाल कटौती गर्छ । शिक्षकको तलबमा बढी लगानी छ तर गुणस्तरीयता कसरी बृद्धि गर्न सकिन्छ भन्ने कुरामा राज्य जवाफदेही छैन । त्यसैले पहिले त गुणस्तरीय शिक्षाको निमित्त शिक्षा ऐन बन्नु पर्छ । अन्य पेशा भन्दा शिक्षकको पेशा अलि फरक पेशा पनि हो । यो सबै भन्दा ठुलो पेशा पनि हो र सबैको रोजाइको पेशा पनि बन्नुपर्छ । अनि मात्र शिक्षा फस्टाउँछ । शिक्षण पेशा आमनेपालीको रोजाइको पेशा बन्योभने मात्र यो मुलुकमा शिक्षाको विकास हुन्छ । शिक्षाको विकास भयो भने मुलुकको विकास हुन्छ । त्यसैले पहिलो प्राथमिकता भनेको शिक्षामै विकास गर्नु हो ।
शिक्षकहरु आफ्नो पेशा भन्दा पनि राजनीतिमा लाग्ने गरेकाले पनि गुणस्तरीयतामा कमी आएको हो भन्ने आरोप पनि छ नि ? के हो वास्तविकता ?
होइन । शिक्षक एक त आफैं एउटा समाजको एउटा व्यक्ति हो । त्यसैले उसको व्यक्तिगत मानव अधिकारहरु छन्, राजनीति गर्ने, धर्म गर्ने, संस्कृतिका बारेमा उसको व्यक्तिगत मानव अधिकारको कुरा हो । त्यो कसैले कटौती गर्न सक्दैन । दश बजेदेखि चार बजेसम्म अध्यापन गर्ने कुरामा नियमित रुपमा शिक्षकहरु नबसेका होइनन् जुन दृष्टिकोणले तपाइले प्रश्न गर्नु भएको छ । आमराजनीतिक दलहरु, आमअभिभावकहरु, आमविद्यार्थीहरु, अझ बिशेष गरेर पत्रकारहरुले यो प्रश्न उठाइरहेको देख्छु मैले । त्यो तपाइँले सोचेको जस्तो होइन । आज जति पनि सरकारी विद्यालय भनौं या सामुदायीक विद्यालयबाट पढेर आएका व्यक्तिहरु छन् तिनीहरुको गुणस्तर हेर्नुहोस् त कति राम्रो छ । तिनीहरु पनि सजिलै जीवन यापन गरेर बसेका छन् ।
संस्थागत विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु हेर्नुहोस् त कि विदेश पलाएन भएका छन् कि स्वदेशमा आफ्नो जीवनलाई व्यवस्थित रुपमा व्यतित गर्न नसकेको अवस्थामा छन् । त्यसैले शिक्षकले विद्यालय भित्र राजनीति गरेको भन्न मिल्दैन । यदाकदा त्यो पनि हुन सक्छ । त्यस्तो भएको छ भने तपाइँहरु पत्रकारमार्फत पनि यसलाई उजागर गरांै न त । हरेक ठाउँबाट राम्रा विद्यालय कुन रु नराम्रा विद्यालय कुन रु राम्रा शिक्षक कुन रु नराम्रा शिक्षक कुन रु यसलाई उजागर गरेर ल्याएर आउ भन्नेमा हामी पनि लागेका छौं । तर तपाइले भने जस्तो शिक्षकले राजनीति ग¥यो भन्ने अवस्था चाहिं होइन है ।
अब निर्वाचित हुने अध्यक्षले निर्वाह गर्नुपर्ने प्रमुख जिम्मेवारीहरु के के हुन् ?
संस्थागत विकास मुख्य कुरा हो । स्थानिय, जिल्ला तह देखि केन्द्रसम्म रहेका शिक्षक साथीहरुलाई संस्थागत ढंगले व्यवस्थित गराउनु पर्ने एकातिर छ भने अर्को गुणस्तरीय शिक्षक बनाउनु पनि हाम्रो दायित्व छ । सरकारले भनेर मात्रै गुणस्तरीय शिक्षक बन्दैन । उहाँहरु दायित्वका मात्रै कुरा गर्नुहुन्छ हामी अधिकारका पनि कुरा गर्ने भएका कारणले अब हुने अध्यक्षको प्रमुख दायित्व भनेको आफ्नो मातहतमा रहेका शिक्षकहरुलाई गुणस्तरीय, मर्यादित बनाउनुपर्छ । शिक्षाको गुणस्तरीयता, शिक्षकका सेवा सुविधाका बिषयलगायत यो शिक्षाको माध्यमबाट यो मुलुकलाई माथि पुर्याउनु नेपाल शिक्षक संघको प्रमुख दायित्व हुने हुँदा अब आउने अध्यक्षको भूमिका अहम् रहेको छ ।
अन्तमा, भन्न मन लागेको केही छ कि ?
अन्त्यमा भन्न मन लागेका कुरा त थुप्रै छन् तर एउटा कुरा के भन्न चाहन्छु भने म सँग थुप्रै प्रतिवद्धता छन् । हामी यो महाधिवेशनको दौरानमा छौं त्यसैले नेतृत्व लम्वाइ, चौडाइ र उचाइले निर्धारण गर्दैन, नेतृत्व प्रतिवद्धताले निर्धारण गर्छ । त्यस्तो प्रतिवद्धता भएका साथीहरुलाई नेतृत्वमा पुरयाऔं भन्ने मरो सबै साथीहरुसँग आग्रह हो । चाहे जिल्ला तहमा होस्, चाहे केन्द्रीय तहमा ।