मोदीसँगै दिल्लीतिर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मोदीसँगै दिल्लीतिर


५ चैत्र २०७३, शनिबार


उहिले हरिद्वार नेपालकै थियो । अहिले पनि हामीलाई नेपाली भूमि जस्तो लाग्यो । नेपाली हावा, नेपाली पानी र नेपाली सुवास यत्रतत्र छरिए जस्तो । नेपाली वीर बिरङ्गनाहरु हिंडेका छापहरु मेटिएका छैनन् हरिद्धारमा । पं.दिनदयाल उपाध्याय हरिद्वार पुग्ने बित्तिकै पहिलो पटक सुनेको नाम थियो । नाममा पनि नेपाली पनको आभाष भयो हामीलाई । आफ्नै लगानीमा प.दिनदयालले करोडौं खर्चेर पार्किङस्थल बनाएका रहेछन् । साना सावरी मात्रै पार्किङ गर्ने व्यवस्था रहेको यो पार्किङस्थलमा हजारौं सवारीसाधन पार्किङ थिए सायद ।

हरिद्वार जतिजति नजिकिदै थियो उतिउति हामीलाई तेजप्रसाद सुवेदीले डोर्याउँदै थिए । तेजप्रसाद सुवेदी तिनै व्यक्ति थिए जसलाई पिताम्बर सरले साँझपख मात्र मुस्किलले सम्पर्क गर्नु भएको थियो । उनी झण्डै दुई दशकदेखि हरिद्वारको एक मन्दिरमा पण्डितको रुपमापूजा पाठ गर्दै आएका रहेछन् । बर्दिया बाँसगढी निवासी तेजप्रसादले हामीलाई हरिद्वारको बारेमा धेरै जानकारी गराएका थिए ।

पं. दिनदयाल उपाध्याय पार्किङस्थलबाट हामी हर्कीपौडी तर्फ लाग्यौं । भीमकाय शिव मूूर्तिले हाम्रो स्वागत गरिरहेको थियो । कल्पनाभन्दा परको यो शिव मूर्ति रातको समयमा झनै सुन्दर देखिदो रहेछ । पूरा हरिद्वारलाई नै रातको समयमा रक्षा गर्नका लागि उभिए जस्तै । चनाखो भएर उभिएका शिवले हाम्रो हरिद्वारको पहिलो पाइलो हेरेको हुनुपर्छ । हाम्रो मुटुको ढुकढुकी र मनको छटपटी अनुभव गरेको हुनुपर्छ ।


हजारौं उज्याला ताराहरु मुस्काइरहेका थिए । हामीले सुनेको स्वर्ग सायद यही हुनुपर्छ ।


हामी रातको समयमा पुगेका थियौं । रात जस्तो पटक्कै थिएन । मान्छेहरुको घुँइचो ज्यूका त्यूँ । कतै टाढा हरिभजन बजिरहेको थियो । सबै तिर्थ यात्री जस्ता, सबै भक्तजन जस्ता र भगवानकै दर्शनमा हिँडिरहे जस्ता । सुन्तला आकारका बल्वहरु रुखमा मिलाएर राखिएको रहेछ । सुन्तला रङमा बलेका बल्वहरुले सुन्तला नै फलेजस्तो पो देखिन्थ्यो । रुख उज्यालो , बाटो उज्यालो । अझ मौका यस्तो परेछ आकासमा पनि चहकिला जुन टल्किरहेका थिए । हजारौं उज्याला ताराहरु मुस्काइरहेका थिए । हामीले सुनेको स्वर्ग सायद यही हुनुपर्छ ।

दिनभरिको थकान हरिद्वार पुग्ने बित्तिकै हरायो । हामीमा उर्जा थपिदियो, जोस र जाँगर थपिदियो हरिद्वारले । रातभरि हिडौं हिडौं जस्तो लागिरहेको थियो । हर्किपौडी हुँदै हामी गंगाको तिरमा पुगका थियौं । सफा र कलकल बगेको पानी निकै कन्चन देखिन्थ्यो रातमा पनि । दर्जनौं पुल बनेका रहेछन् गंगामाथि । थुप्रै पुलहरु रातको समयमा पनि प्रष्टै देखिन्थे । हामी हर्कीपौडीको सुन्दर पुलमाथि पुगिसकेका थियौं । पुल पार गर्दा नगर्दा तेजप्रकाश भेटिए । परिचय गर्यौं । सधैं  हतारो र सधैं चटारो हुँदो रहेछ उनलाई । भर्खरै मात्र पाठ सिध्याएर आएको भन्दै थिए उनी ।

बेहुली डोर्याए जस्तै हामी तेजप्रसादबाट डोर्याइयौं । साँगुरा खुड्किला चढ्दै हेभन होटलको पाँचौ तलामा पुग्यौं । तला चढ्दा साच्चिकै हेभन अर्थात स्वर्ग नै जादैं छौं कि जस्तो लाग्दै थियो । अग्लो ठाँउबाट हरिद्धार साच्चिकै स्वर्ग झै देखिदो रहेछ । गंगााको तिरमा रहेका होटलहरु मासु र मदिरा निषेधित रहेछ । भारतको मुख्य खाना दाल रोटी भन्ने पहिले नै थाहा थियो । हामी पनि दाल रोटीमा नै रमायौं हरिद्वारमा ।

चारधाम जाँदा हरिद्वार घुमिसक्नु भएकी मेरी आमाले झोलाको एउटा कुनामा तिल, धुप, ज्योति र अन्य सामग्री सहित जौको पिठो राखिदिनुभएको थियो । गंगा नदीमा जौ को पिठाको पिण्ड बनाई पितृलाई भोग लगाउनु पर्ने भयो । ४.३० बजे निद्राले छोड्यो । राति भएकोले गंगामा नुहाउन जान अप्ठेरो भयो । साथीहरु सुतिरहनुभएको थियो । होटल मा नै नुहाइ धुवाइ गरें । पछिमात्र गंगा तिरमा पुगें म ।

‘ॐ नम शिवाय’ भन्ने मन्त्रको ध्वनि एकोहोरो सुनिन्थ्यो । भक्तजनहरु गंगाको तिरमा नुहाउन थालिसकेका रहेछन् । म गगांको तिरमा थिएँ । सङ्कल्प पढ्दै हुनुहुन्थ्यो बलराम सुवेदी सर । उसो त बलराम सरले गाउँमा पण्डित्याँइ पनि गर्दै आउनुभएको थियो । बिहानै पितृहरुलाई सम्झें हरिद्धारमा । जौ, कुश, तील, धुप, दिप र चन्दन चढाएँ । जौको पिठाको पिण्ड बटारी भोग लगाएँ । एक किसिमको सन्तुष्टि मिल्यो । केही समयपछि तीर्थराज पौडेल, कृष्ण अधिकारी र खिम बहादुर खड्का स्याण्डो र टावेलमा गंगा किनारमा देखिनुभयो । छवि बराल , पिताम्बर पौडेल र प्रकाश अर्यालको भने अझै अत्तो पत्तो थिएन ।

८.३० बजेतिर चिया नास्ता खायौं । प्रकाश अर्याल ‘भिजुवल’ बनाउनमै व्यस्त हुनुहुन्थ्यो । पालैपालो ‘इन्टरभ्यु’ दियौं । हरि त्रिपाठी र अन्य स्टाफहरुलाई सम्झियौं फेरि एक पटक । हामी मन्सादेवी मन्दिरमा जाने तयारीमा थियौं । डाँडोमा रहेको मन्सादेवी मन्दिर हरिद्धारको सबैभन्दा लोकप्रिय र महत्वपूर्ण मन्दिर मानिदो रहेछ । मन्दिर पुग्न ‘उड्न खटोला’ अर्थात केवलकारको पनि व्यवस्था रहेछ । नेपालको मनकामना मन्दिरको सम्झना आयो । मन्दिर पुग्न उड्न खटोला बाट १० मिनेट जति लाग्दो रहेछ । निकै भिड थियो टिकट काउन्टरमा । त्यस्तै भिड उड्न खटोलामा पनि । साथीहरु छुट्ने डरमा थियौं हामीहरु । हाम्रो मन मन्सादेवि भन्दा आफ्नो समूहमा केन्द्रित भएको प्रष्ट देखिन्थ्यो । एक भारतीय पण्डा जस्तो देखिने तीर्थयात्रुले त प्याच्चै भने ‘समूह पर नही देवी पर ध्यान रखो ।’ हामी चुपचाप भयौं । कताकता लाज पनि लाग्यो । हतारो र चटारो मै दिन बिताउन बानी परेकाहरुको ध्यान एउटा कुरामा मात्र केन्द्रित हुदैन भन्ने ज्वलन्त उदाहरण थियो यो ।


विवेकानन्द पार्कको दक्षिण कुनातिर रहेको यो मूर्ति हिमालय पर्वततिर फर्केको थियो ।


मन्दिर प्राचीन थियो । मनको चाहना पूरा गरिदिने देवीका रुपमा मन्सादेवीको महिमा चलेको रहेछ । वैदिक विधि विधान अनुसार पूजाआजा हुँदोरहेछ । पूजा गर्दै मन्दिर परिक्रमा गर्यौं । भाग्य परीक्षण मन्दिरको चिप्लो छतमा डलर अड्काउने कोेसिस गर्यौं । धेरैको अड्किएन । मैले भने दोहो¥याउनु परेन । साच्चिकै म त भाग्यमानी नै रहेंछु जस्तो पो लाग्यो । हुन त मैले आफुलाई कहिल्यै अभागि सम्झेकै छैन यो उमेरसम्म । भविष्य त कसले पो जानेको छर ?

तस्विर लिने क्रम जारी थियो । उड्न खटोलाबाट समेत हानियो तस्विर हरिद्वार र गंगा नदीलाई ताकेर । हामी फेदीमा आइपुग्यौं । सानी छोरी आर्याका लागि एक जोर गुडिया किनें । सबै साथीहरुले आफ्ना इच्छा अनुसारका सामान किन्नुभयो । बलराम सरका आँखा भने जति बेला पनि चावी राख्ने रिङ्गमै दौडिरहेका देखिन्थे । पछि थाहा भयो उहाँले त एक दर्जन बढी रिङ्ग किक्नु भएकोरहेछ ।

११ बजे शिव गंगा होटलमा खाना खायौं । घुम्नु पर्ने ठाउँ धेरै थिए । कुन हेर्ने कुन नहेर्ने हामी दोधारमा थियौं । गंगाको तिरै तिर उत्तर हिडेका हामी गफै गफको तालमा अलग अलग भएछौं । प्रयोग गर्न सकिने फोन छवि बराल र प्रकाश अर्यालसगं मात्र थियो । कृष्ण अधिकारी र म सगैं थियौं । अरुको कुनै पत्तो थिएन । फोटो खिच्ने क्रमसँगै छुटेको हुनुपर्छ साथीहरु ।

उत्तर लाग्दै थियौं हामी । शिवको मूर्ति हेर्न जाने कुरा चलेको थियो । हजारौं यात्रीहरु गंगामा नुहाइरहेका थिए । आ आफ्ना जोडीसँग नुहाउनेहरुको पनि कमी थिएन । हामी भने जोडी बिना नै हरिद्वार पुगेका थियौं ।

हामी शिव मूर्तितिर नजिकिदैं थियौं । स्वामी विवेकानन्द पार्कमा आनन्द लिनेहरु थुप्रै थिए । परमानन्दमा लीन हुन पुगेका थिए दुई प्राणी कृष्ण र महानन्द पनि । विवेकानन्द पार्कको दक्षिण कुनातिर रहेको यो मूर्ति हिमालय पर्वततिर फर्केको थियो । नजिकै जाँदा कस्तो कस्तो लाग्यो । क्यामेरामा कैद ग¥यौं शिवको सिङ्गो रुपलाई । कर्नाटक प्रदेशका के. श्रीधरद्धारा निर्माण गरिएको रहेछ यो मूर्ति । यो मूर्ति हेरेर के. श्रीधरलाई धेरैले धन्यवाद दिदा रहेछन् । हामीले पनि दियौं । यतिबेलासम्म साथीहरुको अत्तोपत्तो थिएन । करिव दुई घण्टा भैसकेको थियो हामी अलग भएको ।

नेपाली जस्ता लाग्ने एक टोली हाम्रो पछिपछि थियो । अप्ठेरो मानीमानी फोन लगाउन अनुरोध गर्नुभयो कृष्ण सरले । उता सम्पर्क हुँदै थियो यता परिचय । दाङ र अर्घाखाँचीको टिम रहेछ त्यो । स्वामी विवेकानन्द पार्क कै आसपासमा घुम्दै हुनुहुँदोरहेछ साथीहरु पनि । केही तस्विर लिने र दिने काम भयो । प्रतिक्षालयमा केही बेर आराम ग¥यौं । एकले अर्को हराएको भनेर हाँसी मजाक गर्न पछि परेनौं हामी ।


हरिद्वार नेपालले छोड्यो, नेपालीहरुले छोड्न सकेका छैनन् । अझै पनि हरिद्वारको माटोमा नेपाली हावा र पानीको सुगन्ध कायमै छ ।


दिनको १.३० बजेको थियो । पं. दिनदयाल उपाध्यायको पार्किङमा पुग्यौं । हाम्रो प्रतिक्षामा थियो हाम्रो चारपाङ्ग्रे । हरिद्धारमा पलाष्टिकको प्रयोगमा प्रतिबन्ध लगाइएको रहेछ । निकै राम्रो लाग्यो मलाई । गंगा नदीको मुख्य वहाबलाई डाइभर्ट गरेर धाम घाटको संरचना निर्माण गरिएको रहेछ । धेरै पछि मात्र थाहा पायौं हामीहरुले । नदीको बीचमा समेत सयौं मन्दिर देख्दा अचम्म लागेको थियो । बर्षायाममा कसरी बचेंका होलान् यी मन्दिरहरु ? बाढी र पहिरोबाट जोगिनुको कारण हरिद्वार छोड्दै गर्दा मात्र थाहा भयो ।

धर्मलाई अर्थसँग जोडेर विकास गरेको रहेछ भारत सरकारले हरिद्वारलाई । हिन्दुहरुका मुख्य देवीदेवता र प्रमुख धार्मिक तिर्थस्थलहरुको दर्शन हरिद्धारमा नै गर्ने व्यवस्था मिलाउदै रहेछ भारत सरकारले । नेपालले पनि सिक्नु पर्छ यस्तो कुरा । धर्मलाई वातावरण र अर्थसँग जोड्न सकिने स्थल कति छन् कति नेपालमा ।

हरिद्वारको उत्तरतिर सयौं मन्दिरहरु निर्माणाधिन अवस्थामा थिए । हामी भारत माताको मन्दिर तिर लाग्यौं । भारतमा भए गरेका सबै महत्वपूर्ण घटना र व्यक्तिसँग सम्बन्धित यो मन्दिर ऐतिहासिक लाग्यो । राष्ट्रभाव झल्काउन कै लागि निर्माण भएको हुनुपर्छ यो मन्दिर । भारतमाता भनेर एक सुन्दर देबीको मूर्ति राखिएको थियो प्रवेशद्वारमा नै । धेरै देबीको नाम सुनेको भए पनि पहिलो पटक भारत माता नाम गरेकी देवीलाई देखेको थिएँ मैले हरिद्वारमा ।

भारतलाई आमा र आमालाई देबी मानेर भारत माताको मन्दिर निर्माण गरिएको रहेछ । मन्दिर प्रवेशसँगै भारतको नक्सा तयार गरिएको थियो । नक्सामा नेपाल पनि थियो तर सीमा छुट्याइएको थिएन । नेपाल भारतमै समाहित भए जस्तो । हामीलाई कस्तो कस्तो लाग्यो । नक्सा हेर्दै एकले अर्कोलाई हेर्यौं तर बिद्रोह गर्न सकेनौं ।

लिफ्टबाट सातौं तलाका पुग्यौं । प्रत्येक तलाको फरक विशेषता । मन्दिरको आकार प्रकार पनि फरक । म्युजियमकै झल्को दिने । हेर्दा रमाइलै लाग्यो । तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले उद्घाटन गरेकी रहिछन् यो मन्दिर । बाटोमा थुप्रै मन्दिरहरु थिए । जुन हेर्यो त्यस्तै, सुन्दर र मनमोहक । माँ वैष्णवी मन्दिरमा नपसी मनले मान्दै मानेन । मन्दिरभित्रै गुफा । कति जानेका भारतीयहरुले मान्छेको बुद्धि भुट्न ।

स्वर्गको एक टुक्रा हो हरिद्वार । हाम्रै पूर्खाले आर्जन गरेको । उहिलेको नेपाली भूमि । आत्माघाती सुगौली सन्धीका कारण यो स्वर्गीय भूमिलाई छोड्नु पर्यो । हरिद्वार नेपालले छोड्यो, नेपालीहरुले छोड्न सकेका छैनन् । अझै पनि हरिद्वारको माटोमा नेपाली हावा र पानीको सुगन्ध कायमै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस