चोइटिएको मन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चोइटिएको मन


५ चैत्र २०७३, शनिबार


जहाँबाट तिमी
छुट्टिएर गयौ दूर यात्रामा
त्यहीं नेरी
चोइटिएको हो मन ।

मेरो मुटुको एक चोइटो
रगताम्मे भएपछि
त्यही घाइते हृदय बोकेर पनि
पछ्याइरहेछन् यी नयनहरू
एकटक नियालिरहेछन्
हरेक बिहानी
सूर्यका सुनौला आभाहरूसँगै
निर्निमेष टोलाएर नियाल्दै छन्
तिमी गएकै दिशातर्फ
एकनास रत्तिभर नरोकिई ।

घाइते मनभित्र पनि
बाँचेछ क्यारे
तिमी आउने विश्वासको उज्यालो
शायद त्यसैले हुनुपर्छ
आशाका किरणहरू
तिमी फर्किने बाटाभरी बिछ्याएर वेचैन वेचैन
ठिङ्ग बाँचेकी छू
दोबाटोको सतिसालझैँ ।

तिम्रो स्पर्शका डोबहरू
नमेटिंदै हत्केलामा
फेरि अर्को इतिहास रच्ने
रहर जागेको छ
बाटो बिराएका बादलका टुक्राहरू झैँ
गन्तव्यहीन भएर
फगत् सम्झनामात्र सम्झनामा
निस्तो वर्तमान
छिचोलिरहेछु शायद
अनिश्चित भविष्य ढुकिरहेछु ।

त्यो दिशा केवल
तिम्रैमात्र पो थियो कि?
मेरो भ्रम थियौ तिमी
अथवा सत्य मैले भेटिन
मेरा यी आँखाहरू
त्यही शून्यमा नै पोखिए
अनि म बुद्धबिम्ब बोकेर
खामेर ध्यानभित्र
तिम्रो धुमिल चित्र
ध्यानस्थ भइरहेँ
एकनास, अविरल
ध्यानगतिमा लागेकी छु
अस्पष्ट तिम्रो चित्र समाहित
ध्यानको गतिमा प्रवाहित छु ।

Tags :
प्रतिक्रिया दिनुहोस