आर्थिक गतिविधिमा सुधारः राष्ट्र बैंक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आर्थिक गतिविधिमा सुधारः राष्ट्र बैंक


प्रशासन संवाददाता

३ चैत्र २०७३, बिहिबार


काठमाडौँ । चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो सात महिनामा कृषि, उद्योग तथा सेवा क्षेत्रमा सुधार भई मुलुकको समग्र आर्थिक गतिविधिमा सुधार आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकले बिहीवार जारी गरेको “मुलुकको वर्तमान आर्थिक अवस्था तथा वित्तीय स्थितिको समीक्षा प्रतिवेदन” मा उक्त अवधिमा फलफूल तथा तरकारीको उत्पादन वृद्धि हुने देखिएकाले समग्र उत्पादनमा थप सकारात्मक देखिएको जनाएको छ ।

ऊर्जा आपूर्तिमा सुधार आएकाले औद्योगिक उत्पादनमा वृद्धि, उद्योगको क्षमता र वैदेशिक लगानीमा सुधार आएको छ, राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ– पर्वतारोहण तथा पदयात्राको मौसम सुरु हुन लाग्दा पर्यटनको आगमन सङ्ख्यामा वृद्धि हुने र समीक्षा अवधिमा होटलको औसतमा ४५ प्रतिशत बुक भएको छ ।

उद्योग विभागले माघ मसान्तसम्म उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा २४ दशमलव ३ प्रतिशतले वृद्धि भई कुल आठ अर्ब ४१ करोडको संयुक्त वैदेशिक लगानी प्रतिबद्धता भएका एक सय ९९ परियोजनालाई स्वीकृति प्रदान गरिएको छ । यसबाट पाँच हजार ७८५ जनाका लागि रोजगारी सिर्जना भएको राष्ट्र बैंकले जनाइएको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फ लगानीमा रहेको कर्जा १५ दशमलव एक प्रतिशतले बढेको र वार्षिक बिन्दुगत आधारमा २०७३ माघमा यस्तो कर्जा ३२ दशमलव ९ प्रतिशतले बढेको छ । त्यस्तै वार्षिक बिन्दुगत मुद्रास्फीति दर ११ दशमलव ३ प्रतिशतबाट तीन दशमलव तीन प्रतिशत कायम भएको तथा कच्चा तेलको मूल्यवृद्धिका कारण भारतीय मुद्रास्फीतिमा पर्न थालेको चापको प्रभाव आउँदा महिनामा नेपालमा पनि पर्नसक्ने राष्ट्र बैंकले जारी गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी समीक्षा अवधिमा सरकारी वित्तीय स्थितिमा सुधार आएको, राजस्व परिचालन वृद्धिको तुलनामा सरकारी खर्चको वृद्धिदर न्यून भएकाले माघ मसान्तसम्ममा राज्यको ढुकुटीमा दुई खर्ब एक अर्ब ६१ करोड नगद मौज्दात रहेको छ ।

विदेशी विनिमय सञ्चिति सुविधाजनक अवस्थामा रहेको छ । यस अवधिमा कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ७७ अर्ब ४७ करोड पुगेको र यसले १२ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने राष्ट्र बैंकले जनाएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस