मधेसी मोर्चाद्वारा राजविराज घटनामा मारिएकाका परिवारलाई क्रिया खर्च प्रदान « प्रशासन
Logo ८ कार्तिक २०७८, सोमबार
   

मधेसी मोर्चाद्वारा राजविराज घटनामा मारिएकाका परिवारलाई क्रिया खर्च प्रदान


प्रशासन संवाददाता

२ चैत्र २०७३, बुधबार


राजविराज । एक साता अघि प्रहरीको गोली लागेर मृत्यु भएका पाँचैजनाको परिवारजनसँग मधेसी मोर्चाका नेताले क्रिया खर्च दिएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले मृतक पाँचै जना परिवारलाई मोर्चाको तर्फबाट प्रत्येक परिवारलाई जनही ५१ हजार रुपैयाँका दरले क्रिया खर्चबापत आर्थिक सहयोग गरेको हो ।

मोर्चाका अध्यक्ष दिनेशकुमार यादवसहित अन्य नेता तथा कार्यकर्ताले मृतक परिवारलाई घरमै पुगेर क्रिया खर्चबापत आर्थिक सहयोग गरेको मोर्चाले जनाएको छ ।

नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत सप्तरीमा आयोजित जनसभालाई बिथोल्न पुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच एक हप्ता अगाडि झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर सप्तरीको मलेठ गाविस–२ निवासी २५ वर्षीय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षीय पीताम्बर मण्डल, प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षीय सिनियर अहेव आनन्दकुमार साह र मलेठ–४ का वीरेन्द्र महतो तथा जमुनी मधेपुरा गाविस–१ निवासी ५५ वर्षीय इनरदेव यादवको मृत्यु भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस