तीर्थको वाचा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तीर्थको वाचा


२८ फाल्गुन २०७३, शनिबार


एउटा कालखण्डमा बैकुण्ठ नाउँ गरेको एक गाउँमा एउटा सुन्दर परिवार थियो । परिवारमा विवेक र विचार नाम गरेका दुई दाजुभाइ थिए । भिन्न हुने बखत दाजुले माथि गाउँको र भाइले तल बेसीको खाइन्-पाइन् रोजे र आफ्नो परिवार उदाहरणीय रूपमा चलाउन थाले । नाम अनुसारकै गुण पनि थियो उनिहरूको दाजु विवेक वास्तवमै विवेक र्पुयाएर मात्र निर्णय लिन्थे भने भाइ विचार चाहिं औधी विचार गरेर मात्र व्यवहार गर्ने गर्दथे ।

“ए केटा हो ! कति राम्रोसँग परिवार धानेका छौ, कति सुसंस्कृत बनाएका छौ आफ्ना नानी-बाबुहरूलाई तिमेर्ले ! बहुत राम्रो ।….तर एउटा कुरो भने मलाई टिठ लागेको छ तिमेर्लाई देख्दा । के तिमीहरूले तिर्थ-व्रत दान-धर्ममा पनि ध्यान दिएका छौ त ?” दुबै दाजुभाइलाई एकैठाउँमा बोलाएर जिम्दारबाले सोधे एक दिन। दुबैले घोप्टो मुन्टो लाएर टाउको हल्लाए । “यसरी हुँदैन हेर ! यसपाला हामी सँगै तीर्थ जाऔं !” जिम्दारबाले प्रस्ताव राखे । दुबैले समर्थन जनाए ।

“आफ्नो प्यारो अम्मल छोड्ने भएँ मैले । अबदेखि चुरोट चटक्कै !” मन्दिरमा पुजारीकोसामु वाचा गरे जिम्दार बाले ।

त्यस तीर्थमा गएपछि सबैले कुनै न कुनै आफ्नो प्रिय कुरा त्याग्नुपर्ने नियम थियो ।

कसैले भण्टा खान्न भनेस कसैले लसुन–प्याज प्रयोग गर्दिन भनेस कसैले के, कसैले के, एउटा-एउटा प्रिय कुरा त्याग्ने वाचा गरे सबै तीर्थयात्रीले । के त्याग्ने भनेर विवेक र विचार दाजुभाइ अक्मकाए ।

जिन्दगीभी नाम र काम मिलेका दाजुभाइ यसपाली चिप्लिए । जिम्दारबाको उक्साहटमा विवेकले विवेक त्याग्यो र विचारले विचार त्याग्यो तीर्थमा ।

एकदिनको कुरा हो । बार्दलीमा बसेर ट्वार्र-ट्वार्र हुक्का तान्दै गाउँ र बेसीका धुवाँले पुत्पुताउँदै गरेका दुई दाजुभाइका घर हेर्दै थिए जिम्दारबा । उनको एउटा मनले अर्को मनलाई थुम्थुम्यायो-

“चुरोट पो छोडेको हुँ मैले, थोडै हुक्का खान्न भनेको हुँ !”

Tags :
प्रतिक्रिया दिनुहोस