आँखा उपचारमा भइरहेका साझा प्रयास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आँखा उपचारमा भइरहेका साझा प्रयास


प्रशासन संवाददाता

२२ फाल्गुन २०७३, आइतबार


नेपालगन्ज । नेपालमा अन्धोपन निवारणका लागि भिजन ट्वान्टी/ट्वान्टी कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा सबै नेपालीको पहुँच पुग्ने विश्वास गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९९ फेबु्रअरीमा ‘दृष्टिका लागि अधिकार’ नारासहित विश्वका करिब पाँच करोड नागरिकलाई अन्धोपनबाट जोगाउन ‘भिजन ट्वान्टी÷ट्वान्टी’ कार्यक्रम तर्जुमा गरेपछि नेपालले सोही वर्षको नोभेम्बरमा कार्यक्रम अनुमोदन गरेको हो ।

अनुमोदित कार्यक्रम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत मुलुकभरी सञ्चालनमा ल्याइएको छ ।

‘प्रिभेन्सन अफ बलान्डनेश’ कार्यक्रम अन्तर्गत सन् १९८१ मा गरिएको पहिलो सर्वेक्षणले नेपालमा कूल जनसङ्ख्याको शून्य दशमलव ८४ प्रतिशत नागरिकमा अन्धोपन पाइएको थियो ।

सन् २०२० सम्म सञ्चालन हुने सो कार्यक्रमका लागि मन्त्रालयले नेपाल नेत्रज्योति सङ्घ, तिलगङ्गा आँखा केन्द्र र आँखा उपचारका क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई सहयोगी संस्थाका रुपमा स्वीकार गरेको छ ।

भिजन ट्वान्टी—ट्वान्टीले मोतियाविन्दु, जलविन्दु, खस्रे रोगको उपचार, बालबालिकामा हुने अन्धोपन न्यूनीकरण, चश्माको जाँच, न्यून दृष्टि सेवा, मधुमेहका कारण आँखाको दृष्टिमा पर्ने असरको उपचार गर्नुका साथै आँखा रेखदेख सम्बन्धी चेतनामूलक कार्यक्रमलाई समेटेको नेपाल नेत्रज्योति सङ्घका जिल्ला अध्यक्ष रतनकुमार टन्डनले जानकारी दिए ।

‘प्रिभेन्सन अफ बलान्डनेश’ कार्यक्रम अन्तर्गत सन् १९८१ मा गरिएको पहिलो सर्वेक्षणले नेपालमा कूल जनसङ्ख्याको शून्य दशमलव ८४ प्रतिशत नागरिकमा अन्धोपन पाइएको थियो । त्यसमध्ये एक दशमलव सात प्रतिशतमा एउटा आँखा दृष्टिबिहीन र दुई दशमलव सात प्रतिशतको आँखामा खराबी देखा परेको थियो ।

सर्वेक्षणअनुसार आँखाका समस्या भएका नागरिकमध्ये ९० प्रतिशत ग्रामीण भेगका छन् भने ७२ प्रतिशत मोतियाविन्दुको समस्याबाट प्रभावित छन् । आँखाको विभिन्न रोगबाट पीडितमध्ये ८० प्रतिशतको रोग निको गर्न सकिने देखिएको छ ।

सन् २०१० मा गरिएको पछिल्लो सर्वेक्षणमा भने नेपालमा विभिन्न स्थानमा आँखा अस्पताल सञ्चालनमा आएपछि आँखा रोगको समस्या आधा घटेको उल्लेख छ । हाल नेपालका शून्य दशमलव ३५ प्रतिशत नागरिकमा आँखा समस्या देखिएको छ ।

विगत ३० वर्षको अवधिमा अन्धोपन निवारणका लागि सञ्चालन गरिएको साँझा कार्यक्रम पछि अन्धोपन निवारणमा ५० प्रतिशत समस्या समाधान भएको जनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नेपाली समाजमा अन्धोपन प्रमुख स्वास्थ्य समस्याका रुपमा भने रहेको छैन ।
नेपालमा अन्य क्षेत्रको तुलनामा मध्यपश्चिमाञ्चल क्षेत्रका जिल्लाका नागरिकमा सबैभन्दा बढी आँखा रोगको समस्या देखा परेको छ ।

नेपालमा अन्य क्षेत्रको तुलनामा मध्यपश्चिमाञ्चल क्षेत्रका जिल्लाका नागरिकमा सबैभन्दा बढी आँखा रोगको समस्या देखा परेको छ ।

सो क्षेत्र अन्तर्गत पर्ने भेरी अञ्चलमा हाल शून्य दशमलव ५७ प्रतिशत नागरिकमा आँखाको समस्या देखा परेको छ । नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालका वरिष्ठ प्रबन्धक कौशलकुमार वर्माका अनुसार शून्य दशमलव दुई प्रतिशत आँखाको समस्या भएको जिल्लालाई मात्र ‘अन्धोपन मुक्त जिल्ला’ घोषणा गर्ने प्रावधान छ ।

यस क्षेत्रका आँखाका रोगीलाई सरल र सहज उपचार सेवा उपलब्ध गराउन नेपाल नेत्रज्योति सङ्घ, बाँकेशाखा अन्तर्गत सञ्चालित फत्तेबाल अस्पतालले बर्दियाको सोनोश्री, डोल्पाको जुफाल नगरपालिका, सुर्खेतको मेहेलकुना नगरपालिका र दैलेखको दुल्लु नगरपालिकामा आँखा उपचार केन्द्र पनि सञ्चालनमा ल्याइएको छ ।

प्रबन्धक वर्माका अनुसार सो सेवा विस्तार गर्ने क्रममा बर्दियाको बाँसगढी र राजापुरमा दुई वटा आँखा उपचार केन्द्र स्थापनाको प्रक्रिया अन्तिमचरणमा पुगेको छ भने बाँके जिल्लाको अति विकट क्षेत्र राप्तीपारी गाविसमा एक, कोहलपुरमा एक, सुर्खेतको बाबियाचौरमा एक र जाजरकोटको कार्की गाउँमा एक आँखा उपचार केन्द्र स्थापना गर्ने योजना समेत छ ।

नेपाल नेत्रज्योति सङ्घ, बाँके शाखा अन्तर्गत सञ्चालित फत्तेबाल आँखा अस्पतालले आर्थिक वर्ष २०७२/०७३ मा एक लाख २० हजार ३२७ बिरामीको आँखा जाँच र ११ हजार ७०१ जनाको शल्यक्रिया गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस