लगानीका लागि नेपाल उपयुक्तः भारतीय अर्थमन्त्री « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लगानीका लागि नेपाल उपयुक्तः भारतीय अर्थमन्त्री


प्रशासन संवाददाता

१९ फाल्गुन २०७३, बिहिबार


काठमाडौँ । भारतीय अर्थमन्त्री अरुण जेट्लीले बृहत् आर्थिक सम्भावना बोकेको नेपालमा लगानीका उपयुक्त अवसर रहेको बताएका छन् ।

उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा बिहीवारदेखि सुरु भएको दुईदिने ‘नेपाल लगानी सम्मेलन’मा विशेष सम्बोधन गर्दै उनले भारतले आर्थिक रुपमा सबल नेपाल देख्न चाहेको बताए । नेपालमा रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर मुलुकको आर्थिक विकास गर्न सकिने बताउँदै जेट्लीले ऊर्जा, कृषि, पर्यटन र सिँचाइका क्षेत्रमा नेपालमा लगानीका लागि अवसर रहेको बताए ।

नेपाल र भारतले मिलेर ऊर्जा, प्रसारण लाइन, सिँचाइ क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई थप विस्तार गरेर लैजानुपर्नेमा जोड दिनुभयो । जेट्लीले नेपाल र भारत संस्कृति तथा धार्मिक पर्यटनको क्षेत्रमा लगानीको सम्भावना रहेको पनि बताए ।

“शैक्षिक, चिकित्सा र इन्जिनियरिङ क्षेत्रमा नेपाल र भारतका लगानीकर्ताबीच सहकार्य गरेर अगाडि बढ्न सकिन्छ”, उनले भने, “ हामी आगामी दिनमा लगानीका सम्भावित क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्छौँ ।”

लगानीको अवसर सिर्जना गर्नका लागि उद्योगलाई सहज रुपमा भित्रिन र बाहिर सक्ने वातावरण बनाउनुपर्ने जेट्लीको जोड थियो । लगानीका लागि नीतिगत अवस्थामा सुधार हुनुपर्ने र पूर्वाधार विकासमा जोड दिनुपर्ने उनले बताए । उनले ठूलो लगानीले मुलुकको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पूर्वाधार विकासलाई अगाडि बढाएर लगानीलाई आकर्षित गर्न सकिने बताए। रासस

प्रतिक्रिया दिनुहोस