क्यान्सरको उपचार सेवा थप विस्तार हुने « प्रशासन
Logo १५ आश्विन २०८०, सोमबार
   

क्यान्सरको उपचार सेवा थप विस्तार हुने


प्रशासन संवाददाता

१७ फाल्गुन २०७३, मंगलबार


काठमाडौं । क्यान्सर रोगको निदान र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बाँकेको खजुरामा नयाँ क्यान्सर अस्पताल बन्ने भएको छ ।

मन्त्रिपरिषद्ले नयाँ क्यान्सर अस्पताल स्थापनाका लागि गठन आदेश जारी गरेकाले प्रखर परोपकार मिसन नामक संस्थाको सम्पूर्ण सम्पत्ति नेपाल सरकारको स्वामित्वमा आई नयाँ क्यान्सर अस्पताल बनाइने भएको हो ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, प्रखर परोपकार मिसन नेपाल र नेपाल सरकार स्वास्थ्य मन्त्रालयबीच भएको त्रिपक्षीय सम्झौताको आधारमा सञ्चालित प्रस्तावित नेपाल क्यान्सर अस्पताल खजुरा, बाँकेलाई कानुनी दायरामा ल्याई त्यसको नाम भने सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बनाइने भएको छ । बाँकेलाई राजनीतिक कार्यक्षेत्र बनाउनु भएको र क्याक्सरकै कारण उनको निधन भएकाले पूर्वप्रधानमन्त्री कोइरालाको सम्झनामा अस्पतालको नामाकरण गरिएको स्वास्थ्य मन्त्री गगनकुमार थापाले बताए । ।

परोपकार मिसनको अस्पतालका लागि सरकारले यसअघि १० करोड रुपैयाँ छुट्याएकाले सरकारकै लगानीमा बनाउन लागिएको अस्पताललाई गैरसरकारी संस्थाको अस्पतालको रुपमा भन्दा सरकारी अस्पतालकै रुपमा सञ्चालन गर्नु उपयुक्त हुने देखिएकाले सरकारी स्वमित्वमा ल्याइएको हो ।

क्यान्सरसम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि सरकारी अस्पताल आवश्यक भइरहेका बेला गैरसरकारी संस्थाले गरिरहेको प्रयासलाई सरकारी स्वामित्वमा ल्याई व्यवस्थित र मर्यादित बनाउन लागिएको मन्त्री थापाले जानकारी दिए । सो अस्पताल पूर्ण सरकारी हुने भएकाले स्नातक उपाधि हासिल गरेका स्थानीय लब्ध प्रतिष्ठित व्यक्तिमध्येबाट स्वास्थ्य मन्त्रालयले अस्पतालको अध्यक्ष मनोनित गर्ने भएको छ ।

सञ्चालक समितिको सदस्यको रुपमा क्यान्सर रोगको क्षेत्रमा कार्यरत चिकित्सकहरु मध्येबाट स्वास्थ्य मन्त्रालयबाट मनोनित एक जना, जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालयका प्रमुख, उद्योग वाणिज्य सङ्घको प्रतिनिधि, अस्पताल रहेको क्षेत्रको सम्बन्धित स्थानीय निकायको प्रमुख वा निजले तोकेको प्रतिनिधि, स्थानीय समाजसेवीमध्ये कम्तीमा स्नातक तह उत्तीर्ण गरेका एक जना महिलासहित तीन जना मन्त्रालयले मनोनयन गरेका रहने व्यवस्था गरिएको छ ।

स्वास्थ्य संस्थामा पदाधिकारी नियुक्त

सरकारले रिक्त रहेका विभिन्न स्वास्थ्य संस्थामा पदाधिकारी नियुक्त गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा अञ्जनीकुमार झालाई नियुक्त गरिएको छ । परिषद्को उपाध्यक्षमा डा भोजराज अधिकारीलाई नियुक्त गरेको छ भने, डा हरि ढकाललाई सदस्यसचिवमा नियुक्त गरिएको छ । सदस्यमा डा मधु दीक्षित देवकोटा, डा वैकुण्ठ रेग्मी, डा सन्ध्या चापागाईं, डा श्याम विक र डा योगेश न्यौपानेलाई नियुक्त गरिएको छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा रामप्रसाद भण्डारी नियुक्त गरिएको छ । परिषद्को रजिस्टारमा रामचन्द्र साहलाई नियुक्त गर्ने निर्णय भएको छ । नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा केशवध्वज जोशी, सदस्यसचिवमा पानबहादुर क्षेत्री, सदस्यमा मोहन चौधरी, युरिक रन्जीत र अमितकुमार गुप्तालाई नियुक्त गरिएको छ ।

त्यस्तै सरकारले नर्सिङ काउन्सिलका पुराना पदाधिकारीलाई हटाएर नयाँ कार्यसमिति गठन गरेको छ । नर्सिङ काउन्सिलको अध्यक्षमा गोमादेवी निरौला श्रेष्ठलाई नियुक्त गरिएको छ । उपाध्यक्षमा मीनाकुमारी पुन गुरुङ र रजिस्ट्रारमा रमिला चौलागाईं नियुक्त हुनुभएको छ । सदस्यहरुमा लक्ष्मी तामाङ, सरला गिरी, रमानन्द चौधरी, तारा रम्तेल र डा टङ्क अधिकारीलाई नियुक्त गरिएको छ ।

यसैगरी सरकारले आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा प्रा डा धनिकलाल भरखेललाई नियुक्त गरेको छ । रजिस्ट्रारमा डा नारायण श्रेष्ठ नियुक्त भएका छन् । सदस्यहरुमा डा सचितकुमार शर्मा, डा विनोद साह, डा बंशब्लदाम्बा कौडिन्ययानी, डा सुरेश महर्जन, डा प्रकाश ज्ञवाली र डा छत्रपति दाहाललाई नियुक्त गरिएको छ । आयुर्वेद अनुसन्धान तथा तालिम विकास समितिको कार्यकारी निर्देशकमा डा सिद्धार्थकुमार ठाकुरलाई नियुक्त गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस