पर्यटक भित्र्याउँदै ‘भैरव मन्दिर’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पर्यटक भित्र्याउँदै ‘भैरव मन्दिर’


१४ फाल्गुन २०७३, शनिबार


पाल्पा । ऐतिहासिक, पर्यटकीय तथा धार्मिक महत्व बोकेका पाल्पाका प्रसिद्ध भैरव मन्दिरमा आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।

सदरमुकाम तानसेन देखि झन्डै नौ किलोमिटर पश्चिममा अवस्थित यस मन्दिरमा एक वर्षमा करिब नौदेखि १० लाखसम्म आन्तरिक र छ देखि सात हजारसम्म बाह्य पर्यटक भित्रने गरेको मन्दिरका व्यवस्थापक मीनबहादुर बुढाथोकीले बताए ।

यस आर्थिक वर्षको हालसम्ममा दुई लाख ५० हजार आन्तरिक र चार हजार जति बाह्य पर्यटकले मन्दिर दर्शन तथा अवलोकन गरेका छन् ।

यहाँ देशका सबैजसो जिल्ला तथा अमेरिका, भारत, जापान, चीनलगायत मुलुकका बाह्य पर्यटक अवलोकनका निम्ति आउने गरेका छन् । मन्दिरमा बर्सेनि सरदरमा ४० देखि ५० लाखसम्म आम्दानी हुने गरेको व्यवस्थापक बुढाथोकीको भनाइ छ ।

उनका अनुसार मन्दिरको आम्दानीबाट मन्दिरका विभिन्न भौतिक संरचना निर्माण, मर्मत, सरसफाइ, पूजा व्यवस्थापनलगायत क्षेत्रमा खर्च हुने गरेको छ ।


यहाँ देशका सबैजसो जिल्ला तथा अमेरिका, भारत, जापान, चीनलगायत मुलुकका बाह्य पर्यटक अवलोकनका निम्ति आउने गरेका छन् ।


पाल्पाका तत्कालीन सेन वंशीय राजा मणिमुकुन्द सेनले १६ औँ शताब्दीमा भैरव बाबा उत्पत्ति भएको ठाउँमा यो मन्दिर निर्माण गरेका थिए । मन्दिरसँगै रहेका पौवाबाट मणिमुकुन्द सेनले नियमित भैरवको आराधना गर्ने गर्दथे । वि.सं. २०१४ सालमा तत्कालीन राजा महेन्द्र दर्शनका निम्ति यहाँ आएपछि यसको महत्व झन् बढ्दै गएको स्थानीय नवराज ज्ञवालीले बताए ।

विश्वको सबैभन्दा ठूलो त्रिशूल रहेकाले पनि पर्यटकको आकर्षण बढेको हो । पौराणिक मान्यताअनुसार पाल्पा गौँडाका प्रमुख राजा खड्क शमशेरले आफ्नी रानीको इच्छाअनुसार मन्दिरमा त्रिशूल चढाएका थिए । त्रिशूलमा सुनको लेपन लगाइएको हुँदा जतिबेला पनि नयाँ र ताजा जस्तै देखिन्छ ।

त्यस्तै मन्दिरको अर्को विशेषता भाकलस्वरुप ल्याइएका पशुको बलि दिँदा खुकुरी, खुर्पा र दाउलाई अहिलेसम्म धार नलगाइकन एकै पटकमा सजिलैसँग काटिने गरेको यहाँका समुदाय बताउँछन् । दसैँको नवरात्र, वैशाख र मङ्सिरमा बढी भीड लाग्ने गरेतापनि पछिल्लो समय बाह्रै महिना मन्दिरमा पूजाआजा र अवलोकनका निम्ति पर्यटकको सङ्ख्या बढ्दो छ । यहाँबाट विभिन्न हिमशृङ्खलाको पनि दृश्य अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण ह्वात्तै बढेको हो ।


विश्वको सबैभन्दा ठूलो त्रिशूल रहेकाले पनि पर्यटकको आकर्षण बढेको हो


मन्दिरको आडैमा रहेको सुन्दर पार्कले नयाँ पुस्तालाई लोभ्याएको छ । सुन्दर बगैँचा, लहलह झुलेका विभिन्न प्रकृतिका फूलहरुले हिजोआज बुढापाका, युवायुवती र बालबालिकाको पनि मन लोभ्याइरहेको छ । मन्दिरले ४०० वर्ष पुरानो इतिहास बोकेपनि चार वर्ष अगाडि बनेको सुन्दर उद्यानले नयाँ पुस्तालाई आकर्षित तुल्याएको छ । यस पार्कलाई ‘लभ पार्कका नामले पनि चिनिन्छ ।

दुई तलामा रहेको मन्दिरको माथिल्लो भागमा बटुक भैरवको मूर्ति र तल्लो भागमा भयङ्कर महाकाल भैरवको मूर्ति छ । महाकाल भैरव मूर्तिलाई कालो कपडाले छेकिएको छ । काल भैरवको मूिर्त विकराल भएकाले पुजारी, दर्शनार्थी कसैलाई पनि हेर्न दिइँदैन । यो मूर्ति देख्ने बित्तिकै तर्सिने, झस्किने भएको हुँदा प्राचीनकालदेखि नै मन्दिरका पुजारीले मूर्ति अगाडि छोपिएको कालो कपडा बाहिरबाट पूजा गर्ने गर्दछन् । महाकाल भैरव रहेको कोठामा सयौँ वर्षदेखि अखण्ड ज्योति बलिरहेको पूजारी रघुनाथ योगीले बताए ।

भैरव बाबासँग भाकल गरेमा मनोकामना पूरा हुने विश्वासले विभिन्न ठाउँबाट आउने दर्शनार्थीले प्रसादस्वरुप रोट चढाउँदै आएका छन् । यहाँ हाँस, कुखुरा, बोका, पाडाको पनि बलि दिने गरिन्छ । तानसेन तम्घास सडक खण्डमा अवस्थित यस मन्दिरले जिल्लाको धार्मिक तथा पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका खेलेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस