१
दुनियाँको, सामू आमा, हसाएर देखाउनु छ
शान्ति भूमि, बुद्धको देश, बचाएर देखाउनु छ
अब मैले, बाबुसँगै, बाख्रा पाली पैसा कमाई
युवा खाडी, जाने प्रथा, हटाएर देखाउनु छ
२
मनमा दुःख लुकाएरै हास्न सक्छौं हामी
भोकै पनि दिन रात काट्न सक्छौं हामी
पिजा बर्गर बन्द गर्ने धम्की किन साथी
ढिडो, सिस्नो, खोले बाटै बाच्न सक्छौं हामी
३
दाजु भाइमा झगडाको बिउबिजन छर्नेहरुको
सोझा जनता पुल बनाई बैतरनी तर्नेहरुको
एक दिन पक्कै बिनाशको खबर आउँछ हेर
सरकारको सम्पत्तिले आफ्नो पेट भर्नेहरुको