मोर्चाको आक्रमणमा पत्रकार घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मोर्चाको आक्रमणमा पत्रकार घाइते


११ फाल्गुन २०७३, बुधबार


धनुषा । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय कोषाध्यक्ष तथा रेडियो जनकपुर ९७ मेगाहर्जका अध्यक्ष शीतल साहमाथि जनकपुरमा मधेसी मोर्चाका कार्यकर्ताले आज आक्रमण गरी घाइते बनाएका छन् ।

पत्रकारलाई मोटरसाइकलमा जाँदै गर्दा पछाडि तानेर कुटपिट गरिएको प्रत्यक्षदर्शीले जनाएका छन् । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरस्थित एमालेका नेता रघुवीर महासेठको घरमा तोडफोड गरेका छन् । आन्दोलनरत मोर्चाका कार्यकर्ताले गरेको ढुङ्गामुढाबाट महासेठको घरको दुई वटा झ्यालको सिसा फुटेको छ । मोर्चाको बन्दका बेला जनकपुरमा आएका एमाले वरिष्ठ नेता वामदेव गौतम मोर्चाको घेराउमा परे ।

मङ्गलबार नै पार्टीको कार्यक्रममा सहभागी हुन मोर्चाको कडा विरोधका बाबजुद जनकपुर आइपुगेका नेता गौतमलाई बुधवार एमाले नेता रघुवीर महासेठको घरमा बसेका बेला मोर्चाका नेता कार्यकर्ताले घेराउ गरेका छन् । नेता महासेठको घरमा तोडफोड र नेता गौतमलाई घेराउ गरेपछि एमालेका कार्यकर्ताले प्रतिकार गर्दा केहीबेर झडप भएको थियो । झडपमा परी मोर्चाका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा सद्भावना पार्टीका राजु साह र कुलदीप साह रहेको र उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ ।

झडपमा एमालेका केही कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा आन्दोलित भएका मधेसी मोर्चाले आज मधेस बन्द गरेको छ । मधेस बन्दका क्रममा जनकपुरमा बिहानैदेखि मोर्चाका नेता कार्यकर्ताले मोटरसाइकलमा ¥याली प्रदर्शन गर्दै पसल, बजार, शैक्षिक संस्थान र यातायात ठप्प बनाएका छन् ।

यसैबीच मधेसी दल निकट विद्यार्थी मोर्चाले जनकपुरका क्याम्पसमा तालाबन्दी गर्दै स्ववियु चुनाव हुन नदिने घोषणा गरेका छन् ।
मोर्चाका कार्यकर्ताले नगरका विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस