आन्दोलनका कारण खोप कार्यक्रम प्रभावित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आन्दोलनका कारण खोप कार्यक्रम प्रभावित


८ फाल्गुन २०७३, आइतबार


काठमाडौँ । स्वास्थ्यकर्मीको आन्दोलनका कारण राष्ट्रिय खोप कार्यक्रम र नियमित खोप कार्यक्रम प्रभावित भएको छ ।

स्वास्थ्य मन्त्रालय, बालस्वास्थ्य महाशाखाले यही फागनु ६ र ७ गते विशेष ‘पोलियो खोप कार्यक्रम’ तय गरेको थियो । तर स्वास्थ्यसंस्थाका स्वास्थ्यकर्मीको आन्दोलनका कारण उक्त कार्यक्रम अनिश्चितकालका लागि स्थगन भएको थियो । नयाँ समय निर्धारणका लागि बालस्वास्थ्यले मन्त्रालयमा फाइल पठाएको भए पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन । स्वास्थ्यसंस्थाबाट दिँदै आएको अन्य नियमित खोप कार्यक्रम पनि प्रभावित भएको बालस्वास्थ्य महाशाखा स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा ऐनको ९(ख) कार्यान्वयनको माग राख्दै पदस्थापन हुन नसकेका स्वास्थ्यकर्मीले माग पूरा नभएसम्म कुनै सहयोग नगर्ने बताउँदै आएका छन् । सरकारले मन्त्रीस्तरीय निर्णय गरी स्वास्थ्यकर्मीको नयाँ दरबन्दी सिर्जना गरी पदस्थापन गर्ने घोषणा गरेपनि त्यसको कुनै तालमेल नमिलेको भन्दै स्वास्थ्यकर्मीले विरोध गरिरहेकाले सबै खोपका कार्यक्रम प्रभावित भएका छन् । खोप शाखाले खोप कार्यक्रमलाई प्रभावित नपार्न आन्दोलनरत स्वास्थ्यकर्मीसँग अपिल गरेको छ ।

सरकारले नियमित रुपमा ११ प्रकारका खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । वार्षिक रुपमा छ लाख ५० हजार बालबालिकाले खोप पाएका छन् । ती ११ प्रकारका खोपका लागि वार्षिक रु तीन अर्ब ३० करोड लगानी हुँदै आएको छ । सरकारको ३० प्रतिशत र ७० प्रतिशत ग्लोबल एलाइन्स फर भ्याक्सिन एन्ड एमिनाइजेसन (गाभी)ले सो खर्च व्यहोर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस