महिलामाथि हुने विभेद अन्त्य गर्न कानुन आवश्यकः मन्त्री खड्का « प्रशासन
Logo ३० आश्विन २०७८, शनिबार
   

महिलामाथि हुने विभेद अन्त्य गर्न कानुन आवश्यकः मन्त्री खड्का


८ फाल्गुन २०७३, आइतबार


काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्न सक्दो कानुन बनाएर कार्यान्वयन गरिने बताए ।

महिला उद्यमीको संस्था ‘सबा नेपाल’को आठौँ साधारण सभाको आइतवार उद्घाटन गर्दै मन्त्री खड्काले सदियौँदेखि महिलाले भोग्दै आएको बोक्सी प्रथा, छाउपडी प्रथा, दाइजो प्रथा, घरेलु हिंसालगायतका विभेद अन्त्य गर्न कानुन तर्जुमा गर्ने तयारी मन्त्रालयले गरिरहेको बताए ।

“अहिले देशको राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला हुनुहुन्छ, संविधानसभामा पहिलाको उपस्थिति उत्तिकै छ, तर पनि महिलामाथि हुने हिंसा अन्त्य हुन सकेको छैन, पुरुषले मात्र भन्दा पनि महिलाले नै महिलामाथि सबैभन्दा बढी हिंसा गरेको हामी पाउँछौँ, त्यसैले हामी आफैँ पनि सचेत हुन जरूरी छ”– मन्त्री खड्काले भने ।

पछिल्लो पटक बढ्दै गएको महिलाको पाठेघर र स्तनसम्बन्धी क्यान्सरको निःशुल्क उपचारको व्यवस्था गर्न आफूले चाहेकोे मन्त्री खड्काको भनाइ थियो ।

यस अतिरिक्त ज्येष्ठ नागरिकले भोग्दै आएका समस्यालाई पनि ऐन÷कानुन बनाएर समाधान गर्ने प्रतिवद्धता उहाँले व्यक्त गरे । सबा नेपालकी अध्यक्ष सृष्टि जोशी मल्लले आफ्नो संस्थासँग आबद्ध महिलाले उत्पादन गरेका सामग्रीका लागि बजारको व्यवस्था गरिदिन आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस