सत्यको धरातल नछाड्न पत्रकारहरुलाई सञ्चारमन्त्रीको आग्रह « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सत्यको धरातल नछाड्न पत्रकारहरुलाई सञ्चारमन्त्रीको आग्रह


प्रशासन संवाददाता

७ फाल्गुन २०७३, शनिबार


काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता क्षेत्रले आफ्नो सत्यको धरातल छाड्न नहुने बताएका छन् ।
राष्ट्रिय समाचार समितिको ५६ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा मन्त्री कार्कीले उत्तेजक समाचारले कसैलाई अमर बनाउँदैन भन्दै रासस र सरकारी स्वामित्वका अन्य माध्यमले सकारात्मक विषय निरन्तर पस्कन सक्ने भएकाले त्यस अर्थमा यी संस्थाको औचित्य र सान्दर्भिकता रहेको बताए । सहर र केन्द्रका मात्र नभई भित्री सहर र गाउँका समाचार ल्याउन पत्रकारलाई सुझाव दिँदै मन्त्री कार्कीले भने, “पार्टीहरुले आफ्नो सान्दर्भिकता जोगाइराख्न सत्यसँग तादात्म्य भइरहनुपर्छ र पत्रकारिताले पनि आफ्नो सत्यको धरातल छाड्नु हुँदैन । कुनै दल र समूहलाई खुसी पार्न सत्यलाई तोडफोड गर्ने पत्रकारको विश्वसनीयता हुँदैन ।”
उनले आलोचनात्मक समाज निर्माण एवं योग्यता र असल काममा आधारित राजनीति स्थापित गर्न सही पत्रकारिताले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस