निर्वाचनको मिति घोषणामा समर्थन गर्न मधेसी मोर्चालाई प्रधानमन्त्रीद्वारा आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्वाचनको मिति घोषणामा समर्थन गर्न मधेसी मोर्चालाई प्रधानमन्त्रीद्वारा आग्रह


प्रशासन संवाददाता

७ फाल्गुन २०७३, शनिबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन र संविधान संशोधन लगायतका राजनीतिक विषयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुसँग परामर्श गरेका छन् ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे मधेशी मोर्चाका नेताहरुसँग राय मागेका थिए । बैठकमा प्रधानमन्त्रीले राजनीतिक गतिरोधको अन्त्यका लागि स्थानीय तहको निर्वाचन गर्नुको बिकल्प नभएकोमा जोड दिँदै संविधान संशोधन र स्थानीय तहको निर्वाचनलाई सँगसँगै अघि बढाउने सरकारको तयारीमा सहयोग गर्न मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीले छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा नगर्ने हो भने बैशाखको अन्त्य र जेठको सुरुमा निर्वाचन गर्न कठिन हुने बताउँदै फाल्गुण १० गतेबाट सुचारु हुने संसदमा संविधान संशोधन प्रस्ताव अघि बढाउने जानकारी दिँदै सरकारले गर्ने स्थानीय तहको मिति घोषणामा समर्थन गर्न आग्रह गरेका थिए । प्रधानमन्त्रीले निर्वाचनको बिकल्प नभएकाले राजनीतिक गतिरोध अन्त्यका लागि जिम्मेवार भएर सहयोगी भूमिका खेल्न मोर्चाका नेताहरुलाई आग्रह गरेका थिए ।

बैठकमा मधेशी मोर्चाका नेताहरुले यथास्थितिमा स्थानीय तहको निर्वाचनमा जान कठिन हुने बताउँदै संविधान संशोधन प्रस्तावको टुङ्गो नलागेसम्म निर्वाचनमा जान नसकिने धारणा राखेका थिए । मोर्चाका नेताहरुले संविधानको स्वामित्व ग्रहणपछि मात्रै निर्वाचनमा जान सकिने मोर्चाको धारणा रहेको प्रधानमन्त्रीलाई अवगत गराएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस