युरोपमा नेपाली वायु सेवामाथि लगाएको प्रतिवन्ध हटाउन परराष्ट्रमन्त्रीको आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

युरोपमा नेपाली वायु सेवामाथि लगाएको प्रतिवन्ध हटाउन परराष्ट्रमन्त्रीको आग्रह


५ फाल्गुन २०७३, बिहिबार


काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुधबार युरोपेली आयोगका अध्यक्ष जीन–क्लड जङ्करसँग ब्रसेल्सस्थित उनकै कार्यालयमा भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा परराष्ट्रमन्त्री महतले नेपालको मानवीय तथा सामाजिक विकास, कृषि तथा व्यापार लगायतका क्षेत्रमा युरोपेली सङ्घको सहयोगको स्वागत गर्दै नेपालको पूर्वाधार निर्माण र सीप विकासमा पनि उच्चस्तरको सहयोगका लागि अनुरोध गरे ।

युरोपेली सङ्घको नेपाललाई सहयोग जारी रहने विश्वास दिलाउनु हुँदै अध्यक्ष जङ्करले अनुरोध गरिएका क्षेत्रमा सहयोग बढाउने सम्भावनाबारे विचार गरिने आश्वासन दिए ।

नेपालको हवाई उडान सुरक्षामा भएको प्रगतिको परिप्रेक्ष्यमा इयूले नेपाली वायु सेवालाई लगाएको प्रतिबन्ध हटाउन पनि परराष्ट्रमन्त्री महतले अध्यक्ष जङ्करलाई अनुरोध गरे । अध्यक्ष जङ्करले नेपाल सरकारले उपलब्ध गराएका तथ्यमा आधारित भएर सो विषयमा सकारात्मक तरिकाले हेरिने पनि महतलाई आश्वासन दिलाए ।

मन्त्री महतले अध्यक्षलाई नेपालका पछिल्ला गतिविधि, संविधान संशोधन र निर्वाचनको तयारीबारे पनि जानकारी गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस