छन्द यौटा कला हो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

छन्द यौटा कला हो


२९ माघ २०७३, शनिबार


मीठोपार्ने सृजन रचना–छन्द यौटा कला हो,
यो नै यौटा मधुर लयको–शिल्प गाना गला हो
सप्पै शोभा सरस कविता–शब्द श्रृङ्गार गर्ने,
यौटा पाटो सृजन पथको–सूत्र भाषा सुधार्ने

भाषा मीठो विविध लयको–शब्दहो छाँट–काँट,
स्रष्टा तिम्रा मधुर स्वरको–तान हो यो विराट
सुन्ने स्रोता प्रमुदित हुने–छन्द हो राग यौटा,
उर्ली बग्ने स्वरलहरमा–छन्द आलाप यौटा

साहित्यैका सृजन पथको–छन्द हो रंङ्ग–ढंङ्ग,
गाना–ताना गति–यति हुने–मिष्टताको तरंङ्ग
सुन्छन् मान्छे जव मृदुगला–बन्दछन् मन्त्र मुग्ध,
साहित्यैका अमृतरसको–छन्द मिठो सुगन्ध

मीठो बोली प्रियतरकुरा–गर्नुमा छन्दनै छ,
मान्छे तिम्रा हँसित मुखका–हाँस्यमा छन्दनै छ
बैसालूका नयन द्वयका–प्रीतका मौन भाषा,
छन्दै बोल्छन् विविधथरिका–बागमा फूल लाखा

सारा छन्दैमय जगत यो–छन्दमै सृष्टि चल्छ,
जो छन् जे छन् सृजित जति छन्–छन्दमै शास्त्र बोल्छ
बग्छन् खोला कलकल गरी–छन्दको धून फेर्दै,
चल्छन् हावा सरर गतिमा–छन्द मीठो सुसेल्दै

वर्णाक्षरको नियम गणना–हुन्छ यो छन्द भित्र,
मात्रालाई उचित विधिले–राख्नु पर्नेछ शुद्घ
यो हो यात्रा गति–यति तथा–गेयताको तरङ्ग,
बुझ्दै लेखौँ सरस कविता–छन्दको रंङ्गढंङ्ग

प्रतिक्रिया दिनुहोस