निर्धारित समयमा निर्वाचन गर्न निर्वाचन कमिटीको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निर्धारित समयमा निर्वाचन गर्न निर्वाचन कमिटीको निर्देशन


१८ माघ २०७३, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन मूल आयोजक समितिको पहिलो बैठकले निर्धारित समयमा तोकिएको जिल्ला, क्षेत्र र स्थानको निर्वाचन सम्पन्न गर्न निर्वाचन कमिटीलाई निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले सो समितिअन्तर्गतका११ समितिका कार्यप्रगतिको समीक्षा गर्दै समयमै महाधिवेशन सम्पन्न गर्न वडा, गाउँ, नगर, क्षेत्र र जिल्लाका अधिवेशनलाई कार्यतालिअनुसार सम्पन्न गर्नुपर्ने जनाएको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।

बैठकले सबै समितिका कार्ययोजना तथा तयारी सन्तोषजनक रहेको मूल्याङ्कन गर्दै महाधिवेशनमा काठमाडौँ उपत्यकाका ५० स्थानबाट सांस्कृतिक वेशभूषा, बाजागाजा र झाँकी प्रस्तुत गर्ने निर्णय गरेको छ । आगामी फागुन ६ देखि ९ गतेसम्म स्थानीय भृकुटीमण्डपमा पार्टीको महाधिवेशन हुँदैछ ।

पार्टीले यही माघ २१ गते क्षेत्रीय तथा माघ २५ गते जिल्ला अधिवेशनको तयारी गरिरहेको छ । यसैबीच महानगरस्तरीय कमिटीमा कृष्णबहादुर वज्राचार्यको संयोजकत्वमा आज २७ सदस्य चयन भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस