प्रहरी र तस्करबीच गोली हानाहान, तीन तस्कर घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रहरी र तस्करबीच गोली हानाहान, तीन तस्कर घाइते


प्रशासन संवाददाता

१७ माघ २०७३, सोमबार


इनरुवा । इटहरी उपमहानगरपालिका–१४ खनार चोक नजिक सोमवार दिउसो प्रहरी र लागुऔषध तस्करबीच गोली हानाहान हुँदा तीन जना तस्कर घाइते भएका छन् ।

प्रहरीको गोली लागेर घाइते हुनेहरुमा मोरङ टङ्की सिनवारी–७ नेचाका सचन पासवान, टङ्की सिनवारी–४ कै श्रवण सरदार र इटहरी १३ का करिस्मा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पासवानको घुँडा, सरदारको तिघ्रा र चौधरीको खुट्टामा गोली लागेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

भारतीय बजारबाट अवैध रुपमा लागुऔषध लिएर आइरहेको प्राप्त सूचनाका आधारमा सादा पोसाकमा खटिएका प्रहरीले तस्कारलाई पक्राउ गर्न खोज्दा दुबै पक्षबीच गोली हानाहान भएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

प्रहरी उपरीक्षक पोखरेलका अनुसार, सादा पोसाकमा रहेका प्रहरीमाथि आपराधिक समूहले गोली प्रहार गरेपछि जवाफमा प्रहरीले ११ राउन्ड गोली प्रहार गरेको थियो । घटनास्थलबाट प्रहरीले ‘मेड इन युएस’ लेखिएका स्वचालित पेस्तोल तीन थान, घरेलु नलकटुवा पेस्तोल एक थान, चक्कु एक थान (ठूलो), डाइजोल्याप, लुपिजेसिक, फेनारगन गरी कुल २२४ थान, कोरेक्स तीन बोतल र को २२ प ६३६३ नंको एउटा मोटरसाइकल बरामद गरेको छ ।

घाइते तीनै जनाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस