मदनकृष्णको पुस्तक चाँडै आउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मदनकृष्णको पुस्तक चाँडै आउने


प्रशासन संवाददाता

१७ माघ २०७३, सोमबार


पोखरा । बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीको पहलमा फेवाताल किनारामा जारी छैटौँ संस्करणको साहित्य महोत्सवको सोमवार अन्तिम दिन महजोडीको सफल साझेदारीका पाठहरू विषयमा छलफल गरिएको छ ।

खचाखच भरिएका सर्वसाधारणबीच मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफ्ना साझेदारीका अनुभूति पस्कँदा उपस्थित जो कोही अत्यन्त जिज्ञासाका साथ सुन्न लालयित देखिन्थे ।

छलफलको प्रारम्भमा नै आचार्यले आफूहरूको ३७ वर्षे सहयात्रा निरन्तर रुपमा बढेको बताउँदै सफल साझेदारीका पाठहरू विषयको सो छलफललाई आफूले स्याबासी समारोहका रुपमा लिएको टिप्पणी गरे ।

साझेदारी सफल बन्नका लागि कसैको आलोचना भन्दा पनि उसका राम्रा कुराको खोजी आवश्यक हुनेमा जोड दिँदै आचार्यले भने, “मभन्दा धेरै राम्रा गुण मदन दाइमा छन्, उहाँसँग ९० प्रतिशत राम्रा कुरा छन्, मसँग त्यस्तै ५० प्रतिशत मात्र ।” आफ्नो सहयात्रालाई नेपाली दाजुभाइ दिदीबहिनीको आशीर्वादले झन्झन् गाढा बनाएको बताउँदै उनले मायासँगै प्राप्त सफलताले सामाजिक दायित्व पनि बढाएको उल्लेख गरे ।

‘चिना हराएको मान्छे’ का लेखकले भने “किताब लेख्छु भनेर लेखेको होइन, श्रीमती बितेपछि आफ्नो पीडालाई कापीमा उतारेको हुँ ।”आचार्यले सुरुका दिन बिहान ६ बजेदेखि कार्यालय पुगेर काम गरेको जस्ता धेरै अनुभव दर्शकमाझ सुनाए ।

कलाकार मदनकृष्ण श्रेष्ठले एकापसमा विश्वासका साथ सँगै हिँडेकै कारण आफूहरूको साझेदारी लामो समयसम्म सफलताका साथ बढेको धारणा व्यक्त गरे । सुरु सुरुमा हास्यव्यङ्ग्यलाई हेय भावले हेरिने गरे पनि पछिल्ला समयमा यसको गरिमा र महत्व बढ्दै गएको जिकिर गरे । उनले आध्यात्मिकता सबैमा आवश्यक हुनेमा जोड दिँदै राजनीतिज्ञमा पनि आध्यात्मिक भावना हुनुपर्ने बताए ।

उनले आफ्नो पुस्तक चाँडै आउने विश्वास दिलाए। दर्शकको उत्साहपूर्ण सहभागितामा भएको छलफलको अन्त्यमा कलाकार आचार्यले कुलमान घिसिङको प्रशंसाका साथ विद्युत् चोरी गर्ने गिरोहप्रति कटाक्ष गर्दै कवितासमेत सुनाएका थिए सिुनाउन भ्याउनुभएको थियो –“सानो मन भएका ठूलाठूला साहु, बिजुलीमा हुक हाली खानसम्म खाऊ ।” दर्शक मनोरञ्जन लिँदै निरन्तर ताली बजाइरहेका थिए ।

आचार्यले कविता पढेसँगै श्रेष्ठले पनि सुनाए, “हातमुख जोर्न काम धेरै गरियो, बाहुला है माथि सारेर, हाँसीमा हाँसी खुसी भई खाइयो पानीमा गुन्द्रुक तारेर, जतिकै दुःख हुँदामा पनि खाइएन कसैलाई मारेर ।”

प्रतिक्रिया दिनुहोस