पर्दा पछाडिका नायक मानबहादुर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पर्दा पछाडिका नायक मानबहादुर


१७ माघ २०७३, सोमबार


काठमाडौँ। पेसाप्रतिको समर्पणले नै मानिसलाई सफलताको शिखरमा डोर्याउँछ । ऊ जब सफल हुन्छ, तब उसका सत्कर्मको चर्चा सुरु हुन्छ । त्यस्तै कर्मशील व्यक्ति हुन् मानबहादुर थापा । उसले अनवरत सङ्घर्ष गरे र साँच्चिकै मान कमाए ।

नेपाली सेनाको ‘अडियो भिडियो’ शाखा रहेर डेढ दशक लामो अनुभव सम्हालेका थापाले २३ वर्ष लामो सेवापछि अवकाश लिए । सेवा निवृत्त भएका धेरैजसो मानिसहरु बाँकी जीवन पाठपूजा र सामान्य घरायसी काममा व्यतित गर्छन् । तर थापा युवा जोशका साथ थापा दिनहुँ भिडियो सुटिङ र एडिटिङमा व्यस्त रहन्छन् । एकाबिहानै अनामनगरस्थित प्रोडक्सन हाउसमा आउनु, भिडियो आर्टका नयाँ विधाबारे छलफल र बहस गर्नु उनको दैनिकी बनेको छ ।

थापाले सम्पादन गरेका कतिपय चलचित्र र वृत्तचित्र चर्चित भएका छन् । तिनका पात्र एकाएक समाजमा कहलिने भएका छन् । तर, पर्दाभित्रको ‘वास्तविक नायक मानबहादुर’लाई भने बाहिरी दुनियाँले कमै चिन्छ । ‘अडियो भिजुअल’ माध्यममा करियर बनाउन चाहने युवाका लागि उनी ‘आइडल’ नै मानिन्छन् । थापा प्रोडक्सन हाउसमा काम गरेर कमाउनमा मात्रै केन्द्रित छैनन् नयाँ पुस्ताका तन्नेरीलाई आफूले जानेको सीप पनि बाँड्छन् ।

थापा भन्छन्, “मैले सिकाएका युवायुवती टेलिभिजन दुनियाँमा जमेका छन् । त्यो देख्दा आफूलाई पनि आनन्द आउँछ । जानेको सीप अरुलाई सिकाउनुमा जति आनन्द अरु केही काममा छैन ।”

थापाले क्यामरा चलाउन सुरु गर्दा नेपालमा आजको जस्तो ‘भिजुअल मिडिया’ विकसित भइसकेको थिएन । नेपाल टेलिभिजनबाहेक निजी क्षेत्रका अरु माध्यम थिएनन् । केही प्रोडक्सन हाउस थिए । ती पनि धनीमानीका घरका बिहे र पूजाआजा खिच्ने काममा सीमित थिए । थापा सम्झिन्छन्, “नेपाल आर्मीसँग भिएचएसका सीमित क्यामरा थिए । कुनै दिनआज जस्तो हल्का र चिप्स (डिजिटल) मा आधारित क्यामरा आविष्कार होला भन्ने कल्पनासम्म थिएन । हामी बडेमानका क्यामरा बोकर सुटिङका लागि जाने गथ्र्यौं ।”

त्यसरी खिचेर ल्याएको भिजुअल पनि ठूलो खालका डेकमा सम्पादन गरिन्थ्यो । समयको बेगसँगै प्रविधिमा पनि आमूल परिवर्तन भइसक्यो । आज कम्प्युटरमा सहजै दृश्य सम्पादन गरिरहँदा उनलाई आधुनिक प्रविधि चामत्कारिक लाग्छ ।

थापाले सम्पादन गरेका पूर्व युगोस्लाभियामा नेपाली सेना, सियरालोन, लगायतका दर्जनौं वृत्तचित्र नेपाल टेलिभिजनबाट प्रसारण भएका छन् । ती त्यतिबेला निक्कै चर्चित भएका थिए ।

अवकाशपछि कसरी समय कटाउने भन्ने उनलाई चिन्ता थियो । सिङ्गो परिवार पनि उनमै आश्रित थियो । काठमाडौँको महङ्गीमा पाँचजनाको परिवारको लालनपालन त्यति सहज थिएन । उनी आफैंले थालेको पेसालाई निरन्तरता दिने योजानासहित अनामनगरमा प्रोड्क्सन स्टुडियो सुरु गरे ।

सुरुका दिन निकै चुनौतीपूर्ण थियो काम पाउनै गाह्रो । बेलाबखत बिहेका भिडियो खिच्ने, सम्पादन गर्ने काम मात्रै हुन्थे । विस्तारै फिल्म दुनियाँका हस्तीहरुसँग उनी सम्पर्कमा आउन पाए । थापा भन्छन्, “प्रोडक्सन हाउस खोलेको दोस्रो वर्षसम्म आइपुग्दा त अनिश कोइराला, आकाश अधिकारी, सविर श्रेष्ठ, रमेश कोइराला जस्ता सिने निर्देशकसँग काम गर्ने अवसर पाएँ ।”

“मैले पहिलो पटक सम्पादन गरेको राजवंशी भाषाको फिल्म देवसरी हिट नै भयो, त्यसपछि त कामको कहिल्यै अभाव भएन,” उनले भने ।

चलचित्रमा मात्र होइन थापाले नेपाली राजनीतिका ऐतिहासिक घटनाक्रममा आधारित वृत्तचित्रहरु पनि बनाए । त्यसमा ‘टिम्बुरबोट’, ‘हाइज्याय्किङ फर डेमोक्रेसी’, ‘कथा नालापानीको’ निक्कै चर्चित रहे । यसैगरी, सामाजिक सन्देश दिने मिर्चिको आङ खसेछ, अब के गर्ने ?, डकु ड्रामा, ‘द’ डुम, मध्यवर्तीका महिला, बाढीको लहर जस्ता वृत्तचित्र पनि राम्रामा पर्छन् ।

प्रतिक्रिया दिनुहोस