पाँच स्वास्थ्य चौकी भवन पुनःनिर्माण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाँच स्वास्थ्य चौकी भवन पुनःनिर्माण


१७ माघ २०७३, सोमबार


आँपपीपल (गोरखा) । भूकम्पले भत्काएको गोरखाका ५२ मध्ये पाँचवटा स्वास्थ्य चौकी भवन पोखरास्थित असल छिमेकी नेपालले पुनःनिर्माण गरिदिएको छ ।

आँपपीपल, घैरुङ, घ्याल्चोक, भुम्लिचोक र श्रीनाथकोट गाविसका स्वास्थ्य चौकी भवन पुनःनिर्माण गरिसकेको असल छिमेकीका कार्यक्रम संयोजक विजयकुमार श्रेष्ठले जानकारी दिए ।

भूकम्प प्रतिरोधी अत्याधुनिक सुविधायुक्त भवन निर्माण भएको छ भन्दै उहाँले स्वास्थ्य चौकीको भवन र बिरामी उपचारमा आवश्यक सामग्री, विभिन्न रोग निको पार्ने औषधि समेत सहयोग गरेको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयबाट अनुमति लिएर सरकारले तोकेको मापदण्ड पूरा गरी भवन निर्माण गरिएको निर्माण सम्पन्न भएका पाँचवटै स्वास्थ्य चौकी भवन हस्तान्तरण गरिसकिएको र ती भवनबाट बिरामीले सेवा लिन सुरु गरिसकेको संयोजक श्रेष्ठले उल्लेख गरे ।

भूकम्पपछि त्रिपाल र टेन्टबाट सञ्चालित स्वास्थ्य चौकी नयाँ भवनबाट सञ्चालनमा आएको छ । नौ कोठा रहेको स्वास्थ्य चौकी भवनमा प्रसूति गराउने कक्षदेखि कर्मचारी आवाससमेत बनाइएको छ ।

आँपपीपल स्वास्थ्य चौकी भवन निर्माणका लागि रु ९६ लाख ७६ हजार खर्च भएको संस्थाका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारीले बताए ।

यस्तै अन्य भवन पुनःनिर्माणमा करिब रु ८० लाखका दरले खर्च भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस